सामाजिक सेवा नै समाज रुपान्तरणको आधार हो: बिज्ञान ढकाल

मानिसले आफ्नो रुचि, क्षमता, अवस्था र परिस्थिति अनुसार जीवन सफल बनाउन लक्ष्य निर्धारण गर्दछ । लक्ष्य बिनाको मानिस निरर्थक हुन्छ । लक्ष्य जति ठूलो राखिन्छ त्यति नै त्यसको परिणाम ठूलो हुन्छ । लक्ष्य राखेर मात्रै पनि हुँदैन त्यसलाई प्राप्त गर्नका लागि ठुलो प्रयत्न गर्नुपर्छ ।

हरेक व्यक्तिका लक्ष्य फरक फरक हुन सक्छन् । त्यस्तै मेरो जीवनको लक्ष्य राजनैतिक समाज सेवा हो । परम्पराबाट विकसित बनेको आजको वैज्ञानिक समाजमा आफ्नो व्यक्तिगत काम बाहेक सामाजिक सहयोगमा नजुट्ने अवस्था छ । समाजमा रहेका हरेक पक्षलाई समन्वयमा ल्याई व्यक्तिले आफ्नो कर्तव्यप्रति लगाब लगाउनका लागि मैले मेरो जीवनलाई राजनिती मार्फत समाज सेवामा लगाउने उदेश्य राखेको छु ।

समाजभित्र सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, शारीरिक, मानसिक, नैतिक, शैक्षिक आदि समस्या हुन्छन् । समाजका यस्ता समस्याहरूलाई पूरा गर्नका लागि विविध पेशामा आवद्ध व्यक्तिलाई सक्रिय बनाएर समाज सेवामा लाग्न प्रेरितः गरी त्यसबाट अगाडि वढ्ने मेरो लक्ष छ ।

कुनै पनि देशको शासन व्यवस्थालाई सुव्यवस्थीतरूपमा संचालन गर्नकालागी राजनीतिक पक्ष राज्यको महत्वपुर्ण अंग हो । खासगरी व्यवस्थापीका, कार्यपालिकाको संरचना र नेतृत्व राजनैतिक पक्षको प्रतिनिधीत्व हुन्छ । राज्य संचालनको नियम, कानुन बनाउने देखि त्यसको सफल कार्यान्वयन गराउन राजनैतिक नेतृत्वको महत्वपूर्ण भुमिका हुन्छ ।

देशको कर्मचारीतन्त्रलाई चुस्त, दुरुस्त राख्न, शुसासन कायम गर्न समेत सक्षम राजनैतिक नेतृत्व दिने नेताहरूको जरुरत पर्दछ । त्यसैले राजनीती वास्तवमा समाज र राष्ट्रलाई सही मार्गमा हिडाउने वा डोराउने साधन हो भन्न सकिन्छ ।

अहिलेको युग जटिल सामाजिक संरचना भएको युग हो । यसलाई व्यवस्थितरूपमा समयसापेक्ष अगाडी बढाउन, समाजमा रहेका तमाम वर्गहरूको जीवन निर्वाहलाई सरल एवं सहज बनाउन राज्य संयन्त्र चुस्त, जनउत्तरदायी, क्रियासिल, जनमुखी, विकाशप्रेमी, विकेन्द्रिकृत, न्यायिक, सहभागितामुलक, प्रजातान्त्रिक, पारदर्शी, भष्ट्राचारमुक्त, सेवामुखी हुनु आवस्यक छ ।

कुनै पनि देशको विकास र सम्पन्नता त्यो देशमा विद्यमान राजनैतिक प्रणाली र राजनीतिक गतिविधिमा निर्भर गर्दछ । राजनीतिनै देश निर्माण गर्ने महत्वपुर्ण औजार वा साधन हो ।

यसलाई राज्यको हरेक पक्षको विकास गर्ने माध्यमको रूपमा लिईने हुनाले यसलाई देशको मेरुदण्ड, जीवनरक्तको रूपमा लिन सकिन्छ । वास्तवमा राजनीतिलाई जनताको सेवा गर्ने शुद्ध सामाजिक सेवाको रूपमा जव सम्म हेरिदैँन, यसलाई केवल व्यक्तिगत आय आर्जनको माध्यमको रूपमा लिन खोजिन्छ तव सम्म देशमा जुनसुकै राजनैतिक व्यवस्था, राजनैतिकवादहरू आए पनि यसले खासै समाज र जनताको जीवनस्तर र जीवनचर्यामा खासै ठुलो महत्व राख्न सक्दैन ।

यदी नेता भएर जनताको सेवा गर्ने हो भने काठमाडौ र विदेशमा महंगो महल ठड्याउने सपना हैन जनताको झुपडी सजाउने सपना देख्नु पर्दछ । राजनीतिलाई व्यापार, व्यवसाय वा पेशा हैन सामाजिक सेवाको रूपमा हेरिनु पर्छ र परिभाषित गरिनु पर्छ अनि सोही किसिमको व्यवहार लागु गरेर जनतालाई देखाउनु पर्छ ।

तव मात्र राजनीतिले देश निर्माण र विकास हुन सक्छ अन्यथा यो क्षेत्र अहिलेकै अवस्थामै रहेमा जतिसुकै राम्रो संविधान र कानुन बने पनि जस्तोसुकै राजनीतिक परिवर्तन भएपनि हुनेवाला केही छैन । साँच्चिकै देशमा विकासको गतिलाई द्रुतरूपमा अगाडी बढाउने हो भने राजनैतिक नेताहरूले राजनीतिलाई समाजसेवाको रूपमा काम गर्ने र जसले भ्रष्टाचार गर्दछ त्यसलाई हदै सम्मको कानुनी कार्वाही गर्ने व्यवस्था हुनु पर्दछ ।

यदी सरकारी वा सार्वजनिक संस्थाका कर्मचारी र कुटनीतिक नियोगमा काम गर्ने व्यक्ती भए सधैको लागी सरकारी वा सार्वजनिक सेवामा कार्य गर्न वंचित गर्दै जेल सजाय र आर्थिक दण्डसजाय गर्ने, सांसद, मन्त्रीहरू वा अन्य राजनैतिक पदहरूमा कार्यरतले भ्रष्टाचार गरेमा जेल सजाय, आर्थिक दण्ड सजाय एवं पुन राजनितिक पदमा चुनिन पाउने अवसरबाट सधैका लागी बन्देज गर्ने कानुनी व्यवस्था हुनु पर्दछ ।

यसो हुनसकेमा कर्मचारीहरू तथा राजनीतिक नेताहरूको आचरण र व्यवहारमा सुधार आउन सक्ने र कुनै पनि व्यक्ती राजनीतिलाई व्यवसाय वा पेशाको रूपमा अंगिकार गरि उक्त क्षेत्रमा पाईला नराख्ने केवल यसलाई सामाजिक सेवाको रूपमा आत्मसात गरेर मात्र यो क्षेत्रमा पाईला राख्ने वा क्रियासिल रहने अवस्था बन्न सक्दछ ।

  • बिज्ञान ढकाल, सामाजिक अभियन्ता
प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलवार ०१:५४

प्रतिक्रिया दिनुहोस्