सिन्धुली । गोलन्जोर गाउँपालिका–१ डुडभन्ज्याङको कालीआप जुगेपानी भन्ने स्थानमा ब्याक टु लाइफ इभी जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मार्फत समुदाय विकास पद्धति नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रममा व्यापक अनियमितता भएको आरोप लागेको छ ।
उक्त गैरसरकारी संस्था (आईएनजीओ)को सहयोगमा उक्त स्थानमा एक घर, एक धारा सम्बन्धी कार्यक्रममार्फत एक करोड ४६ लाखको कुल बजेटमा उपभोक्ता समितीमार्फत भएको काममा राजनैतिक प्रभाबको आधारमा अनियमितता भएको आरोप छ ।
कार्यक्रमअन्तर्गत सञ्चालित खानेपानी आयोजनामा निर्माणसम्बन्धी मापदण्ड पालना नगरिएको तथा पाइपलाइन विस्तारमा लापरबाही गरिएको भन्दै छानबिनको माग गरिएको हो ।
खानेपानीको पाइप जमिनमुनि कम्तीमा ९० सेन्टिमिटर गाड्नुपर्नेमा कतिपय स्थानमा १० देखि २० सेन्टिमिटर मात्रै पुरिएको दाबी गरिएको छ । यसरी पाइपलाइन विस्तार गर्दा आयोजना दिगो नहुने तथा संरचनाको सुरक्षामा समेत प्रश्न उठ्ने जनाइएको छ ।
उक्त आयोजनाको काम गोलन्जोर गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति सरोज माझीले राजनीतिक प्रभाव र शक्तिको दुरुपयोग गरी गराइएको आरोपसमेत लगाइएको छ ।
आयोजनामा प्रयोग भएका निर्माण सामग्री, पाइपलाइन विस्तारको गहिराइ तथा समग्र कार्यसम्पादनको प्राविधिक परीक्षण गर्न माग गरिएको छ । साथै, आयोजनामा भएको भनिएको अनियमितताबारे निष्पक्ष छानबिन गरी दोषी देखिएमा आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।










