करोडौंको जग्गा ३५ लाखमै बैंकद्वारा बिक्री: दर्लामी परिवार घरबारबिहिन

सिन्धुली – बर्दिबास-८ की ६२ वर्षीया बालकुमारी दर्लामीका जेठा छोरा हुन मिनबहादुर दर्लामी । मीनबहादुर दर्लामी संचालक रहेको अहिले सिन्धुली कमलामाई -७ मा गढीदरबार थकाली भान्छा घर छ ।

आफू संग साथमा नगद पैसा नभएपनी होटल खोल्ने उदेश्यले उनलाई झकझक्याइरह्यो । आफ्नो नाममा जग्गा नभएपनी आफ्नो आमाको नाममा रहेको जग्गा बैंकमा धितो राखेर भएपनी ऋण निकालेर होटल खोल्ने उनको योजना रहेछ ।

सोही योजना अनुरुप उनको आमा बालकुमारीको नाममा रहेको जग्गा मुख्य ऋणी जेठा छोरा मीनबहादुर दर्लामीको नाममा एक बिगाहा ११ कठ्ठा १८ धुर जग्गा बैंकमा धितो राखेर दुई वर्ष अगाडि सिन्धुलीमा सोही होटल संचालन गर्ने उद्देश्यले ज्योति विकास बैंकसँग ओडी र टर्म कर्जा गरेर ३५ लाख ऋण उनले निकाले । २० लाख ओडी र १५ लाख टर्म कर्जा गरी मीनबहादुरले उक्त जग्गाको धितोवापत ३५ लाख पाएका थिए ।

होटल सामान्य चल्दैगर्दा पनि मिनबहादुरले समय-समयमा बैंकको ऋण तिर्दै आएका थिएँ । कोरोना माहामारी तथा विविध कारणले भनेजति किस्ता बुझाउन नसकेपछी बरु जग्गा बेचेरै भए पनि बैंकको कर्जा चुक्ता गर्नेतर्फ मिनबहादुर घरसल्लाह गर्दै थिएँ ।

यसैबिचमा बैंकले धितो लिलामका सम्बन्धमा १८ जेठ २०७९ मा सात दिने सूचना निकालेको र उक्त अवधिभित्र कर्जा भुक्तान गर्ने जानकारीसहितको चिठी गढीदरबार थकाली भान्छाघरलाई सम्बाेधन गर्दै पठायो । पुस्तौदेखि बर्दिवास-८ गिरिटोलमा बस्दै आएकी दर्लामीले छोराले बैंकको कर्जा तिर्न नसकेको र ऋणवापत राखेको घरघडेरीको धितो लिलामी भएको पत्र प्राप्त गरिन् ।

बालकुमारीकै नाममा रहेको जग्गा मुख्य ऋणी जेठा छोरा मीनबहादुर दर्लामीले निर्धारित समयमा चुक्ता गर्न नसकेपछि एक बिगाहा ११ कठ्ठा १८ धुर जग्गा लिलाम भएको चिठीमार्फत बैंकले जानकारी गराएको थियो  ।

साे निर्णयले बालकुमारीसहित उनका तीन छोरा सडकमा आइपुगेका छन् । सोही जग्गाबाट पारिवारिक भरणपोषणको आधार बन्दै आएको बेला बैंकले कौडीको मूल्यमा अर्कैको नाममा पास गरेपछि बालकुमारीको ठूलो परिवारका सदस्य घरवारविहीन बनेका छन् ।

कमसेकम बैंकले समयमै जानकारी गराएको भए हामी पनि केही गर्थ्यौ होला,’ बालकुमारीका माइला छोरा हिरालाल दर्लामीले भने । उनले आफूहरूलाई जानकारी नै नगराइकन गुपचुप जग्गा लिलामी गर्नुमा गम्भीर षडयन्त्र भएको आरोप लगाए । `

चलनचल्तीको मूल्यमा बेच्दा पनि उक्त जमिनको मूल्य दुई करोडभन्दा बढी हुन आउँछ तर बैंकले ३५ लाखमा हेटौडातिरका जग्गा व्यवसायी माधव आचार्यलाई सकारेको देखिएको छ । बैंकको प्रक्रियाअनुसार धितो लिलाम हुनुभन्दा अगाडि अंशियार तथा हकवालाहरूलाई जानकारी गराउनुपर्दछ ।

तर मीनबहादुरलाई पठाएको चिठीमा मिनमाया दर्लामी, हिरालाल दर्लामी, चोकबहादुर दर्लामी र बालकुमारी दर्लामीलाई बोधार्थ राखे पनि बैंकले कुनै माध्यमबाट जानकारी गराएको देखिएको छैन ।

सम्पत्ति लिलाम जस्तो विषयमा हकवालाहरूलाई थाहा नै नदिइकन बैंकले आफूखुसी धितोवापतको जग्गा किन लिलाम गर्‍यो भन्ने विषय रहस्यमय छ । कराेडौ मूल्य पर्ने उक्त जग्गा कौडीको मूल्यमा लिलाम गरेकोप्रति असन्तुष्टि जनाउँदै पीडित पक्षले बैंकको नियतमाथि नै प्रश्न उठाएका छन ।

जानकारी प्राप्त हुनासाथ म बैंकमा आएर जग्गा बेच्ने गृहकार्य गरिरहेको थिए, मान्छे पनि तयार थिए, मलाई केही समय दिनुस् भन्दा उहाँहरूले हुन्छ भनेर लिलाम पो गरिदिनु भएछ,’ मीनबहादुरले भने । चिठीको मितिअनुसार लिलामको प्रक्रियामा गएको जानकारी १८ जेठ २०७९ उल्लेख गरिएको छ, तर हकवालाहरूले ६ असार २०७९ मा उक्त चिठी प्राप्त गरेका छन् ।

जग्गा लिलाम भएपछि अहिले मीनबहादुरको भाइ-भाइमा पारिवारिक द्वन्द्व सुरु भएको छ । सम्पत्तिको नाममा रहेको सबै जग्गा बैंकले लिलाम गरेपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता दर्लामी परिवारमा थपिएको छ ।

बर्दिवासस्थित ज्योति विकास बैंकका व्यवस्थापक सुरज देवकोटाले भने लिलामी प्रक्रियाअनुसार नै भएको दाबी गरेका छ्न् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार ०५:२९

प्रतिक्रिया दिनुहोस्