हरेक मतदानस्थल अपांगमैत्री हुन जरुरी छ

लोकतन्त्रको सुन्दरता भनेकै आवधिक निर्वाचन हो । निर्वाचनबाट नै नागरिकले आफ्नो लागी असल जनप्रतिनिधि चुन्ने अवसर प्राप्त गर्दछन । तेसैले यो निर्वाचन प्रणालीलाई अपाङ्गमैत्री बनाउन सबै क्षेत्र, तह-तप्का र निकायहरुबाट प्रभावकारी पहल गरौं ।

चुनाव दिनप्रतिदिन नजिकिदै छ । अबको केहि दिनमै हामिले हाम्रो स्वबिबेकले मत खसाल्ने दिन आउदैछ । यसरी चुनाव नजिकिदै गर्दा म अत्यन्तै खुशी छु । आफुले रोजेको जनप्रतिनिधिलाई चुन्ने दिन म हर्षले गदगद छु । अबको पाँच बर्ष सम्म त्यो जनप्रतिनिधि आउदैछन् जसलाई हामीले नै चुनेर ल्याउदैछौ ।

हामीले खसालेको मतबाट बिजयी हुनेछन् । आशा गर्द्छु जो-जो जन-प्रतिनिधिहरु आउनु हुनेछ सबै जनमानसको मन मुटुमा बसेर सबैका लागी हित हुने काम गरि समाजमा यौटा नयाँ प्रस्तुति देखाई समाजलाई राम्रो दिशातर्फ लैजानु हुनेछ भन्ने बिश्वास गर्दछु ।

यसरी चुनाव हाम्रो घर दैलोमा आईरहदा मत खसाल्ने दिन नजिकिदै गर्दा म, मतदान स्थल सम्म सहजै गएर आफ्नो मत खसाल्न पाउछु कि पाउदिन होला ? भन्ने कुरामा चाहिँ म अन्योलमा छु । के मैले मत खसाल्ने मतदान स्थल अपाङ्गता मैत्री स्थल निर्माण भएको होला त ?

सम्बन्धित निकायलाई म सजिलै संग मतदानस्थल सम्म गएर भोट हाल्न पाउने ब्यवस्था गर्न अनुरोध गर्दछु । कुनैपनी ब्यक्ति राज्यको एक नागरिक भएको हैसियतले उसले पनि आफ्नो राजनैतिक अधिकार प्राप्त गरेको हुन्छ । उसले पनि अरुले सरह राजनितिक रुपमा हरेक प्रक्रियामा समाबेश हुन पाउनुपर्दछ ।

तर, अपाङ्गता भएका ब्यक्तिहरु अपाङ्गता भएकै कारण राजनैतिक अवसर र सहभागीताबाट बन्चित भईरहेको अवस्था छ । यहि २०७९ मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा मतदान स्थलहरु अपाङ्गता मैत्री हुन आवस्यक छ ।

किनकी, अपाङ्गता भएका ब्यक्तिहरुले पनि आफ्नो मताधिकारको प्रयोग आफैले गर्न पाउनु पर्दछ । हरेक नागरिकको अधिकार हो आफ्नो मताधिकारको प्रयोग आफैले गर्न पाउने, तसर्थ मतदान स्थलहरु अपाङ्गता मैत्री हुन आवस्यक छ ।

अन्य ब्यक्तिहरु जस्तै अपाङ्गता भएका ब्यक्तिहरु पनी आफ्नो बालिग मताधिकारको प्रयोग गर्न सक्षम छन । तेसैले उनिहरुलाई आफ्नो बालिग मताधिकारबाट कोहि कसैले बन्चित नगरौं ।

घरपरिवारको सदस्य वा निर्वाचन अधिकृतले मैले भने अनुसार भोट हालिदिन सहयोग गर्छन् भन्ने कुरामा मैले बिश्वास राखेको छैन । त्यसैले पनि मेरो भोटको सहि सदुपयोग गर्नको लागि मतदानस्थल अपाङ्गता मैत्री हुन आवस्यक छ ।

अपाङ्गता मैत्री मतदान स्थल बनाउदा अपाङ्गता भएका व्यक्तीहरूले मात्र नभई, सुत्केरी, गर्भवती महिला, जेष्ठ नागरिक, दीर्घरोगी तथा हालसालै दूर्घटनामा परेका तथा बिरामी व्यक्तीहरूलाई पनि जान सजिलो हुनेछ ।

त्यसैले यस्ता क्रियाकलापहरुमा राज्य नै जिम्मेवार भएर यस्ता संबेदनशिल पक्षहरूमा ध्यानाकर्षण गरि नीति नियम नै बनाएर कार्यान्वयनमा ल्याउने हो भने परिवर्तन पक्कै पनि संभव छ । राज्यले चाहेको खण्डमा मतदान स्थललाई अपाङ्गतामैत्री बनाउनु कुनै ठुलो योजना हैन मात्रै मतदान स्थलको भौतिक डिजाइनलाई सहज गरिदिए पुग्ने कुरा हो ।

तर, किन हामी हाम्रो दिमागले गर्न सक्ने कुरालाई पनि परिवर्तन गर्न सक्दैनौं ? आखिर अवस्था र संरचना नै त परिवर्तन गर्नुपर्ने हो । तसर्थ, सबैले आ-आफ्नो ठाउँबाट मतदान स्थल लाई अपाङ्गता मैत्री बनाउन सहयोग गरौं ।

यहि मिति २०७९ मंसिर ४ गतेको लागि घोषणा भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको दिन अपाङ्गता भएका ब्यक्तिहरुलाई घरबाट मतदानस्थल तथा मतदानस्थल बाट घर सम्म ल्याउन र लैजान तथा मतदानको समयमा आवश्यक सहयोग गर्न सबै राजनीति दलहरु, स्थानीय सरकार र सरोकारवाला निकायहरुले आफ्नो तर्फबाट पहल गरौं ।

धन्यवाद !

✍️ लेखिका: दिपा देबकोटा, अपाङ्ग महिला संघ सिन्धुलीको अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १५:०७

प्रतिक्रिया दिनुहोस्