सिन्धुली — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा नेपाल राष्ट्रिय मगर संघ बागमती प्रदेशका सभापती सुजन थापा मगरले नगद २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि चन्दा संकलन अभियान आरम्भ गरेको जानकारी गराउदै उक्त अभियान कार्यलाई सफल बनाउन आफुले उक्त रकम सहयोग स्वरुप प्रदान गरेको नेपाली कांग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर -१ का महाधिवेशन प्रतिनिधि समेत रहेका थापा मगरले अंकपत्रलाई जानकारी दिए ।
नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिको चैत १५ र १६ गते बसेको बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो । सो निर्णय बमोजिम दलका सदस्य थापामगर लगायत केही केन्द्रीय सदस्यहरूले अध्यक्ष विद्वान गुरुङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।
सोही बैठकको निर्णयबमोजिम भवन निर्माणका लागि सहयोग संकलन प्रारम्भ भएको केन्द्रिय सदस्य थापा मगरले जानकारी दिए । उनका अनुसार बुधबारसम्म २० लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ ।
‘भवन निर्माणका लागि रविभवनमा यसअघि नै स्थानीय मैयादेवी श्रेष्ठबाट जग्गा उपलब्ध भइसकेको छ, ‘केन्द्रीय सदस्य थापा मगरले भने, ‘हामीले केन्द्रीय कार्यसमिति र पार्टीका नेताहरु समेतको सहयोगमा यही एक वर्षभित्र केन्द्रीय कार्यालय भवन निर्माण गरिसक्ने लक्ष्य लिएका छौँ ।’
केन्द्रिय सदस्य सुजन थापा मगरबाट रु. २ लाख, अशोक कुमार झाबाट रु २ लाख, दिनेश लामाबाट रु. २ लाख, कुमार अधिकारीबाट रु २ लाख २० हजार, जित क्षेत्री बाट रु २ लाख, पुस्प ब. बस्नेतबाट रु. २ लाख, ऋतु ज्ञम्दान तामाङबाट रु १ लाख ८ हजार ८८८ रुपैयाँ आर्थिक सहयोग भएको छ ।
त्यस्तै अम्बिका देवि बास्कोटाबाट रु १ लाख ११ हजार ५५५ र कृष्ण प्रसाद खरेलबाट रु. ५५ हजार ५५५ रुपैयाँ गरि एकैदिन १४ लाख ९५ हजार ९९८ आर्थिक सहयोग संकलन भएको केन्द्रिय अध्यक्ष विद्वान गुरुङद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत जानकारी गराइएको छ ।