सिन्धुली उद्योग बाणिज्य संघको यहि फागुन २७ गते २५ औं जिल्ला अधिबेशन सम्पन्न हुँदैछ । नेतृत्व चयन प्रक्रियाको लागी निर्बाचन समितिले तालिका सार्बजनिक गरि निर्बाचनको प्रक्रियालाई अघि बढाएको छ ।
निर्वाचन तालिका अनुसार फाल्गुन १९ गते उमेदवार मनोनयन दर्ताको कार्यतालिका रहेको थियो । जसानुसार २५ पदको नयाँ नेतृत्व चयन हुने प्रक्रियामा छ । सोमबार उम्मेदवारी दर्ता प्रक्रियामा ३१ जनाले उम्मेदवारी दर्ता गराए पनि १२ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने १३ पदमा प्रतिस्पर्धा कायम छ ।
बर्तमान अध्यक्ष तथा आगामी नेतृत्व अध्यक्षका लागी उम्मेदवार रहेका अर्जुन कुमार श्रेष्ठ व्यावसायिक जगतमा एउटा परिचित नाम हो । श्रेष्ठ २०७८ फाल्गुणमा भएको २४ औं जिल्ला अधिबेशनबाट सर्बसम्मत रुपमा अध्यक्षमा निर्बाचित भएका थिए ।
निजी क्षेत्रको छाता संस्था सिन्धुली उद्योग संघको पुनः अध्यक्षमा उम्मेदवारी मनोनयन गरेका श्रेष्ठसँग उद्योग बाणिज्य संघको आगामी कार्यदिशा, सरकार र निजी क्षेत्रबिचको सहकार्य, औद्योगिक उत्पादन वृद्धिका पहलसँगै समसामयिक मुद्दामा केन्द्रित रहेर अंकपत्रका लागि पुस्कर थापाले गरेको कुराकानीको सारः
नेपाली अर्थतन्त्र इतिहासकै ठूलो संकटबाट गुज्रिरहेका बेला निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था सिन्धुली उद्योग बाणिज्य संघको पुन: नेतृत्वका लागी मनोनयन पत्र दर्ता गर्नुभएको छ । यसलाई चुनौतीका रूपमा लिनुभएको छ कि अवसरका रूपमा ?
अहिलेको समयमा पुनः नेतृत्वको जिम्मेवारी मैले पाए भने मेरा लागि अवसर र चुनौती दुवै हो । दुवै यस अर्थमा हो कि अप्ठेरो परिस्थितिमा नतिजा दिन सक्नु सक्षम नेतृत्वको सफलता पनि हो । अवसरहरू असहज परिस्थितिमै हुन्छन् भन्ने मलाई लाग्छ । जिल्लाभरका उद्योगी साथीहरूले अप्ठेरो परिस्थितिलाई पार लगाउनका लागि मेरो नेतृत्वबाट केही अपेक्षा गर्नुभएको छ । वर्तमान समयलाई चिरेर उद्योगीहरूको समस्या समाधान गर्दै काम गर्नुपर्ने भएकाले चुनौती त अवश्य छ ।
सरकार होस् या निजी क्षेत्र, सबैसँग संघ आपसी समन्वय र सहकार्य गरेरै अगाडि बढ्ने पक्षमा छ । विगतमा पनि हामीले सहकार्य गरेरै नै अगाडि बढेका छौँ ।त्यसका लागी केही आशातित कार्यहरु मैले गएको कार्यकालमा शुरु गरेको छु । त्यसलाई पुर्णता: दिनुपर्ने चुनौती एकातिर छ भने केही नया कामहरु गर्नुपर्ने छ त्यो मेरो लागी अबसर हो ।
तपाइँले एक कार्यकाल अध्यक्ष भएर बिताइसक्नुभयो । अब फेरि मतदाताले अध्यक्षमै मत किन दिने ?
म हेर्नुस् ब्यक्तिगत रुपमा भन्नुपर्दा सदैव रचनात्मक कार्य गर्न रुचाउने ब्यक्ती हु । र मलाई आफू कुनै जिम्मेवारीमा हुँदै गर्दा केही नया गरौं भन्ने हुटहुटी हुने गर्दछ । त्यसै अनुसार मैले २०७८ सालमा अध्यक्षमा निर्बाचित हुँदै गर्दा केही नबिनतम कार्यहरुको शुरुवात गरेको छु ।
त्यसलाई पुर्णता: दिनपनी मैले आउने कार्यकालका लागि उम्मेदवारी दिएको हु । जस्तो कि नेपाल सरकार उद्योग मन्त्रालय बागमती प्रदेशबाट व्यावसायि उद्धमी प्रबर्द्धनका निमित्त २० लाख रुपैया बजेट बिनियोजन भएको छ । तर त्यसको सम्झौता लगायत कार्यान्वयनको काम बाकी छ त्यसलाई पुर्णता दिनुपर्ने छ ।
सिन्धुली उद्योग बणिज्य संघ र कमलामाइ नगरपालिका लगायत अन्य सामाजिक संघ संस्थासंग सामाजिक कार्यका लागी समन्वय भएको र त्यसका लागी निश्चित मापदण्ड तयार गरि सम्झौता गर्ने कार्य अघि बढेकोले त्यसलाई सम्झौता गरि कार्यान्वयनको प्रक्रियामा लैजानुपर्ने छ ।
म अध्यक्षमा निर्वाचित भएपछी उद्योग बाणिज्य संघले आयोजना गर्ने गरेको मेला महोत्सवबाट भएको नाफाबाट कमलामाइ नगरपालिकालाई दमकल खरिद गरि हस्तान्तरण गर्नेछु भन्ने मैले कार्ययोजना बनाएको थिए ।
सोही अनुरुप हामिले नगरपालिकालाई अत्याधुनिक दमकल खरिद गरि हस्तान्तरण गरिसकेको छौ । नगरपालिकासंगको समन्वयमा अन्य उपकरण र सहयोग गर्ने कार्यलाई थप पुर्णता दिनुपर्ने छ ।
अबको नेतृत्वमा निर्वाचित हुँदै गर्दा भाबी लक्ष के छन ?
मैले अबको नेतृत्वको जिम्मेवारी पाउदै गर्दा सिन्धुली उद्योग बाणिज्य संघको रोहबरमा रु. एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष लिएको छु । उक्त कोषमा जम्मा भएको रकमको बार्षिक ब्याजदरबाट कुनै पनि हेलि कम्पनीसंग निश्चित सम्झौता गरि सिन्धुली उद्योग बाणिज्य संघमा आबद्ध जो-कोही पदाधिकारी, आजिबन सदस्य, कार्यसमिती, उद्धोगी तथा व्यापारीलाई तत्काल उपचार गर्न जिल्ला बाहिर लानुपर्ने स्थिती आएमा उक्त कोषको रकम प्रयोग गर्न सकिने ब्यबस्था गर्छु यो मेरो अबको लक्ष हो ।
निजी क्षेत्रले सरकारसँग समन्वय गरेर जाने हो । सरकारले बजेटमार्फत सबैंको माग अक्षरशः सम्बोधन गर्न सक्दैन पनि । हालसम्मको अभ्यास हेर्दा बजेटमा केही माग सम्बोधन भएका छन् भने केही सम्बोधन भएका छैनन् । यो पटकको बजेटमा भन्दा पनि प्रत्येक वर्षको बजेटमा हुने गरेको अभ्यास यस्तै नै हो । संघले जेजति विषय सम्बोधन भएका छन्, ती विषयलाई कार्यान्वयनका लागि जोड दिने गर्छ ।
सम्बोधन नभएका विषयलाई आगामी दिनमा सम्बोधनका लागि लबिङ गर्ने हो । सरकारसँग मिलेर समन्वय गरेर नेपाली उद्योगको उत्पादकत्व वृद्धिका लागि हामीले काम गर्नुपर्नेछ ।









