भ्रामक समाचारप्रति नेपाली कांग्रेस सिन्धुलीको आपत्ति

सिन्धुली, फागुन १८ – नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा अमर्यादित तथा आचारसंहिता विपरीत समाचार सम्प्रेषण भएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

जिल्ला कार्यसमितिका सभापति उपेन्द्र कुमार पोखरेलद्वारा हस्ताक्षरित सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सिन्धुलीबाट दैनिक प्रकाशन हुने ‘सिन्धुली सौगात’ले फागुन १८ गते आफ्नो अनलाइनमा प्रकाशित गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्ति अनुसार “खरिद बिक्री संग म्याच फिक्सिङ कार्ड प्रयोग” शीर्षकमा प्रकाशित समाचारमा कुनै सत्यता नभएको तथा भ्रामक ढंगले प्रस्तुत गरिएको उल्लेख गरिएको छ ।

उक्त समाचारले निर्वाचन आचारसंहितासमेत उल्लंघन गरेको दाबी गर्दै पार्टीले त्यसप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।
जिल्ला कार्यसमितिले पत्रकारिता तथा निर्वाचन आचारसंहिता उल्लंघन गरी कुनै आधार र प्रमाणबिना व्यक्तिगत रूपमा आरोप लगाइएको समाचारप्रति कानुनी तथा संस्थागत कारबाहीका लागि सम्बन्धित निकायमा प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

साथै, पार्टीले आफ्ना समर्थक तथा शुभेच्छुकहरूलाई भ्रामक समाचारबाट विचलित नहुन आग्रह गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा सक्रिय सहभागिता जनाउन अपिल गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार ०७:५१

प्रतिक्रिया दिनुहोस्