कमलामाई नगरपालिकाद्वारा विद्यालयलाई स्कुल भ्यान हस्तान्तरण

सिन्धुली, जेठ २७ – कमलामाई नगरपालिकाले दुर्गम क्षेत्रमा रहेका विद्यार्थीहरूको विद्यालय पहुँचलाई सहज बनाउन कमला मा.बि करकरेलाई नयाँ स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको उक्त भ्यान एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा नगर प्रमुख, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । दुर्गम बस्तीका विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा हुने कठिनाइ कम गर्न भ्यान सहयोग गरिएको उहाँको भनाइ छ ।

विद्यालयले नगरपालिकाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भ्यान सञ्चालनपछि विद्यार्थीहरूको नियमित उपस्थितिमा वृद्धि हुने विश्वास व्यक्त गरेको छ । नगरपालिकाका अनुसार उक्त भ्यान विशेषगरी टाढा तथा यातायात सुविधा कम भएका क्षेत्रका विद्यार्थीहरूलाई विद्यालयसम्म सुरक्षित रूपमा ल्याउन–पुर्‍याउन प्रयोग गरिनेछ ।

कार्यक्रममा भ्यानको साँचो हस्तान्तरण गरी औपचारिक रूपमा सेवाको शुभारम्भ गरिएको थियो । स्थानीय अभिभावकहरूले यस कदमले विद्यार्थीहरूको शिक्षा पहुँच थप सहज र प्रभावकारी बन्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार ०६:१३

प्रतिक्रिया दिनुहोस्