सिन्धुली, साउन १३ । सिन्धुली उद्योग वाणिज्य संघले प्रतिनिधिसभा सदस्य आशीष गजुरेलसँग बुधबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठमाथि गरिएको दुर्व्यवहारप्रति गम्भीर दुःख व्यक्त गरेको छ ।
संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यक्रम समापनका क्रममा कमलामाई–६ निवासी रोशन लामाले सार्वजनिक रूपमा संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठमाथि २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा पैसा खाएको भन्ने आरोप लगाएका थिए ।
साथै, आफू कमलामाई नगरपालिकाको मेयर बनेपछि सिन्धुली उद्योग वाणिज्य संघको भवन भत्काइदिने तथा बसपार्क क्षेत्रमा रहेका व्यवसायीलाई समेत त्यहाँ नराख्ने अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ ।
संघले यस्ता अभिव्यक्ति आधारहीन, प्रमाणविहीन तथा भ्रामक भएको जनाएको छ । विज्ञप्तिमा अध्यक्ष श्रेष्ठले बिना प्रमाण यस्ता आरोप नलगाउन र आफूले त्यस्तो गतिविधि गरेको प्रमाणित भए कानुनी सजाय भोग्न तयार रहेको अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।
उक्त घटनापछि अध्यक्षमाथि गरिएको अमर्यादित व्यवहारप्रति संघले आपत्ति जनाउँदै दुःख व्यक्त गरेको छ । साथै आगामी दिनमा संस्थाको प्रतिष्ठामा आँच पुग्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ ।
उक्त प्रेस विज्ञप्तिमा महासचिव बासु प्रसाद भेटवाल र वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठको हस्ताक्षर रहेको छ ।









