सिन्धुली, असार १७ – सिन्धुलीकाे कमलामाई नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित रूपमा झुण्डिएका विद्युत् तथा इन्टरनेट सेवा प्रदायकका तार तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायलाई पुनः कडा चेतावनी दिएको छ।
पटक–पटक पत्राचार, समन्वय, मौखिक जानकारी तथा निर्देशन दिँदा पनि आवश्यक सुधार नभए कानुनबमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।
कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले जनताको ज्यान र सुरक्षामाथि जोखिम सिर्जना हुने गरी सडक, चोक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा झुण्डिएका तारहरू कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।
उहाँका अनुसार नगरपालिकाले सम्बन्धित निकायलाई धेरै पटक व्यवस्थापनका लागि आग्रह र निर्देशन दिइसकेको भए पनि अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।
नगर प्रमुख पोखरेलले अब पनि अटेर गरी जोखिमपूर्ण अवस्था कायम राखिए कुनै पनि बहाना स्वीकार नगरिने बताउनुभयो।
उहाँले प्रचलित कानुनबमोजिम सम्बन्धित निकायविरुद्ध तत्काल कडा कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिनुभयो।
“दुर्घटना भएपछि जिम्मेवारी खोज्ने होइन, दुर्घटना हुनुअघि नै जोखिम हटाउनुपर्छ,” नगर प्रमुख पोखरेलले भन्नुभयो।
उहाँले जनताको सुरक्षा नगरपालिकाको पहिलो प्राथमिकता भएकाले यस विषयमा कुनै सम्झौता नगरिने स्पष्ट गर्नुभयो।
नगरपालिकाका अनुसार अव्यवस्थित रूपमा झुण्डिएका तारका कारण सवारी आवागमनमा समस्या हुनुका साथै पैदलयात्री, मोटरसाइकल चालक तथा सर्वसाधारणलाई दुर्घटनाको जोखिम बढ्दै गएको छ।
विशेषगरी वर्षायाममा हावाहुरी, वर्षा तथा रुखका हाँगासँग ठोक्किने अवस्थाले यस्ता तार थप जोखिमपूर्ण बन्ने भएकाले समयमै व्यवस्थापन आवश्यक रहेको नगरपालिकाको भनाइ छ।
नगरपालिकाले सम्बन्धित सेवा प्रदायक संस्था तथा निकायलाई सुरक्षित मापदण्डअनुसार तार व्यवस्थापन गर्न पुनः आग्रह गर्दै सार्वजनिक सुरक्षासँग जोडिएको विषयमा जिम्मेवार बन्न अनुरोध गरेको छ।
नगरपालिकाले आवश्यक सुधार नगर्ने निकायमाथि कानुनी प्रक्रिया अघि बढाइने भएकाले समयमै तार व्यवस्थापन गरी सम्भावित दुर्घटना रोक्न सबै पक्षलाई सहयोग गर्न समेत आह्वान गरेको छ।
नगरपालिकाको यो चेतावनीसँगै अब सम्बन्धित निकायहरूले जोखिमयुक्त तार व्यवस्थापनमा कस्तो पहल गर्छन् भन्ने विषयलाई स्थानीयवासीले चासोका साथ हेरेका छन्।








