दुधौली । नेपाली कांग्रेस दुधौली नगर कार्यसमितिले पार्टीको १५ औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनका लागि तयारी अवस्थामा रहन १४ वटै वडा कार्यसमितिलाई निर्देशन दिएको छ ।
सोमबार पार्टी कार्यालय सिर्जनानगर दुधौलीमा नगर सभापति बलराम कार्कीको अध्यक्षतामा बसेको नगर कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पूर्वनिर्धारित कार्यतालिका अनुसार भदौ २ गतेदेखि वडा तहबाट अधिवेशन सुरु हुने भएकाले सोहीअनुसार तयारी अवस्थामा रहन वडा कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।

जारी केन्द्रीय समितिको बैठकबाट आवश्यक निर्देशन प्राप्त हुनासाथ वडा अधिवेशन सम्पन्न गर्न १४ वटै वडालाई जागरुक र तयारी अवस्थामा राख्ने निर्णय गरिएको नगर कार्यसमितिले जनाएको छ ।
त्यस्तै, विशेष महाधिवेशनपछि निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएको तथा सोही प्रक्रियाबाट २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समेत नेपाली कांग्रेस सहभागी भइसकेको अवस्थामा पार्टीका आम नेता–कार्यकर्ताबीच भ्रम र अन्योल सिर्जना गर्ने गतिविधि भइरहेको भन्दै बैठकले चिन्ता व्यक्त गरेको छ ।

पार्टीको केन्द्रीय तहदेखि तल्लो तहसम्मका नेता, कार्यकर्ता तथा मतदातालाई एकढिक्का भएर अघि बढ्न आग्रह गर्दै निर्धारित महाधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुने निर्णय बैठकले सर्वसम्मत रूपमा गरेको छ ।
बैठकमा महासमिति सदस्य गोविन्द पहाडी, कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारु, नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला, क्षेत्र र प्रदेश तहका नेताहरू, जनप्रतिनिधि, भ्रातृ संस्थाका अध्यक्ष तथा नेता तथा वडा सभापतिहरूको समेत बैठकमा उपस्थिति रहेको थियो ।









