सिन्धुली, साउन १८ – कमलामाई नगरपालिकाले जिल्लामै पहिलो पटक जलन भएका नगरबासीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ ।
नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलको पहल तथा कीर्तिपुर अस्पतालसँगको समन्वयमा उक्त निर्णय गरिएको हो । यस निर्णयसँगै कमलामाई नगरपालिकाभित्रका जलन भएका नागरिकले कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार सेवा पाउनेछन् ।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले यो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख पोखरेलले नागरिकको स्वास्थ्यलाई सर्वोच्च प्राथमिकतामा राख्दै जलनजस्ता जटिल अवस्थाका बिरामीलाई सहज र गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले कीर्तिपुर अस्पतालसँग सहकार्य गरिएको बताए ।
उनका अनुसार यो निर्णयले विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।
नगरपालिकाले यो कार्यक्रमलाई केवल स्वास्थ्य सेवा विस्तारको रूपमा नभई नागरिकको जीवनप्रतिको सम्मान, संवेदनशीलता र उत्तरदायी स्थानीय सरकारको प्रतिबद्धताको रूपमा लिएको जनाएको छ ।
आगामी दिनमा पनि नागरिकको स्वास्थ्य, सुरक्षा र जीवनस्तर सुधारका लागि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।








