सङ्घर्षको भुमरीबाट सफलताको शिखरमा श्रेष्ठ दम्पती

हातमा सीप, मनमा दृढ सङ्कल्प र परिवारको बलियो साथ हुने हो भने मानिसले शून्यबाट पनि सफलताको एउटा बलियो साम्राज्य खडा गर्न सक्छ भन्ने जीवन्त उदाहरण हुन्, सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा सञ्चालित ‘श्रेष्ठ ब्याग उद्योग’ का प्रोप्राइटर गोपाल श्रेष्ठ र उनकी जीवनसङ्गिनी सुनिता श्रेष्ठ ।

कलिलो उमेरमा फरक विचारधारा र राजनीतिक आन्दोलनको रापमा होमिएका गोपालको विगत जति चुनौतीपूर्ण र कहालीलाग्दो थियो, वर्तमानमा उनको व्यावसायिक यात्रा र दम्पतीको आपसी समझदारी उत्तिकै लोभलाग्दो र अनुकरणीय बनेको छ । आज यो दम्पती जिल्लामै एक सफल र स्थापित उद्यमीको रूपमा मात्र चिनिएको छैन, बरु अनेकौँ सङ्घर्षहरूलाई अवसरमा बदल्ने एउटा बलियो नमुनासमेत बनेको छ ।
हरेक मानिसको सफलता पछाडि एउटा लुकेको इतिहास हुन्छ । गोपाल श्रेष्ठको इतिहास पनि सजिलो थिएन ।

देशमा चलेको सशस्त्र जनयुद्धको समयमा उनी मात्र १४ वर्षका थिए, जब उनी घरपरिवार छाडेर एउटा फरक वैचारिक यात्रामा हिँडेका थिए । बन्दुकको नाल र क्रान्तिको नाराबीच उनको बाल्यकाल र बैँस बित्यो । तर, देश शान्ति प्रक्रियामा आइसकेपछि उनको अगाडि समाजमा पुनर्मिलन हुने अर्को एउटा ठुलो पहाड उभियो । लामो समय युद्धको परिवेशमा बिताएर आएका कारण शान्तिपूर्ण नागरिक समाजमा घुलमिल हुन उनलाई निकै कठिन भयो ।

समाजको हेर्ने दृष्टिकोण, आफ्नै मनोभावना र जीवनयापनको नयाँ बाटो पहिल्याउने चुनौतीका बीच गोपालले आफूलाई अकाट्य राख्दै आर्थिक रूपमा सबल बन्ने बाटो रोज्नुपर्ने भयो । व्यावसायिक क्षेत्रमा प्रवेश गर्नुअघि उनले थुप्रै कामहरूमा हात हाले । सिन्धुलीमै ‘नम्बर वान’ बनेर मुढा बुन्ने काम गरे, फर्निचर उद्योगमा पसिना बगाए, विभिन्न सीपमूलक तालिमहरू पनि लिए । यी तमाम अनुभवहरूले उनलाई एउटै कुरा सिकायो— सीप नै जीवनको वास्तविक पुँजी हो । अन्ततः परिवारसँगै बसेर गर्न मिल्ने र घरपरिवारको पूर्ण सहयोग प्राप्त हुने भएपछि उनले ब्याग उद्योग स्थापना गर्ने निर्णय गरे । यही निर्णय नै उनको जीवनको एउटा ऐतिहासिक मोड बन्न पुग्यो ।

वि.सं. २०७० सालमा ‘श्रेष्ठ ब्याग उद्योग’ औपचारिक रूपमा दर्ता गरी सञ्चालनमा ल्याए । तत्कालीन समयमा स्वैच्छिक अवकाश हुँदा उनले जम्मा ५ लाख रुपैयाँ पाएका थिए । त्यसमध्ये ३ लाख रुपैयाँ उद्योगका लागि मेसिन र कच्चा पदार्थ किन्नमा लगानी गरे भने बाँकी २ लाख रुपैयाँले एउटा मोटरसाइकल किने । लगानी त सुरु भयो, तर व्यावसायिक यात्राको प्रारम्भिक दिनहरू सोचेभन्दा निकै कष्टकर थिए । आर्थिक अभाव यतिसम्म चुलियो कि गोपाललाई कतिपय अवस्थामा व्यवसाय नै बन्द गरेर पलायन हुने सोचसमेत आयो ।

“सुरुका दिनहरूमा बजार पाउन समेत निकै गाह्रो हुन्थ्यो । कतिपय समयमा त हिम्मत हारेर व्यवसाय नै छोडिदिऊँ जस्तो लाग्थ्यो । तर, मेरी जीवनसङ्गिनीको पूर्ण साथ, हौसला र धैर्यताका कारण मैले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । आज म जहाँ छु, त्यसमा मेरो परिवारको त्याग र धैर्यताको ठुलो जग छ,” उहाँले भन्नुभयो ।

आर्थिक अभाव मात्र होइन, बजारमा स्थापित अन्य व्यवसायीहरूबाट उनले चरम अस्वस्थ प्रतिस्पर्धा र सामाजिक चुनौतीको सामना गर्नुपर्यो । गोपालले ग्राहकलाई सस्तो र गुणस्तरीय ब्याग उपलब्ध गराउन थालेपछि बजारका कतिपय पुराना व्यवसायीहरूले ’सस्तोमा सामान बेचेर बजार बिगारेको’ भन्दै गम्भीर आरोप लगाए । उनलाई व्यवसाय बन्द गर्न र मूल्य बढाउन दबाब दिँदै धम्की समेत दिने काम भयो । तर, युद्धको मैदानबाट खारिएर आएका गोपाल यस्ता धम्की र अवरोधहरूबाट डगमगाएनन् । उनले आफ्नो गुणस्तर र इमानदारितालाई नै आफ्नो हतियार बनाए र निरन्तर अगाडि बढिरहे ।

दश वर्षअघि देखि उद्यम क्षेत्रमा निरन्तर क्रियाशील गोपालको उद्योगमा आज लगानी बढेर ३० लाख रुपैयाँभन्दा बढी भइसकेको छ । ३ लाखबाट सुरु भएको व्यवसायले आज जिल्लाभरि आफ्नो बलियो सञ्जाल बनाएको छ । हाल उनको उद्योगमा ठुलो परिमाणमा ब्यागहरू बनाउने अर्डर आउने गर्दछ । यस व्यवसायबाट मासिक आम्दानी सिजनअनुसार फरक र अनिश्चित हुने भए तापनि औसतमा महिनाको ५०–६० हजार रुपैयाँदेखि १ देखि डेढ लाख रुपैयाँसम्म कारोबार हुने गरेको उनी बताउँछन् । गोपालले आफूलाई जिल्लाको एक सफल र प्रेरणादायी उद्यमीको रूपमा स्थापित गराइसकेका छन् ।

उनको यो व्यावसायिक विकासमा स्थानीय सरकारको पनि सहयोग रहेको छ । व्यवसायको बीचको अवधिमा उनलाई कमलामाई नगरपालिकाको कार्यालयबाट उद्योगका लागि आवश्यक मेसिनहरू अनुदान स्वरूप उपलब्ध गराइएको थियो । यस कार्यका लागि उनी कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलको विशेष पहल र सहयोगप्रति हृदयदेखि नै आभार प्रकट गर्छन् ।

सफलताको वास्तविक मेरुदण्डः सुनिता श्रेष्ठ र उनको ‘नमुना’ जीवन
गोपाल श्रेष्ठको यो लोभलाग्दो व्यावसायिक साम्राज्यको पर्दा पछाडिको वास्तविक मेरुदण्ड उनकी श्रीमती सुनिता श्रेष्ठ हुन् । सुनिताको कडा परिश्रम, व्यवस्थापकीय सीप र सक्रियताकै कारण यो व्यवसाय र घर दुवै चम्किएको छ । त्यसैले त गोपालले आफ्नी श्रीमतीलाई आदरपूर्वक ‘नमुना’ उपनाम दिएका छन् । सुनिताजीको दैनिकी बिहानैदेखि बेलुकासम्म निकै व्यस्त रहन्छ । उनी ब्याग पसल र उद्योगको काममा मात्र सहयोग गर्दिनन्, घरको कृषि र खेतीपातीको काम पनि उत्तिकै कुशलताका साथ भ्याउँछिन् ।

आज उनीहरूको घरमा प्रयोग हुने दैनिक उपभोग्य तरकारी, फलफूल तथा केही अन्नहरू बजारबाट किन्नु पर्दैन् । अरूका कुरा काटेर वा समय खेर फालेर बस्नुभन्दा आफ्नो काममा केन्द्रित हुने उनको सकारात्मक बानीको सबैले मुक्तकण्ठले तारिफ गर्छन् । सुनिताको बुझाइमा एउटा सफल वैवाहिक जीवन र उदाहरणीय परिवार निर्माण गर्न महिलाको भूमिका ८० प्रतिशत र पुरुषको भूमिका २० प्रतिशत हुन्छ । उनकाअनुसार एक असल श्रीमती र सफल परिवारका मुख्य तीन खम्बाहरू यस प्रकार छन् ।

धैर्यता र नम्रताः जीवनमा जस्तोसुकै उतारचढाव आए पनि धैर्यता गुमाउनु हुँदैन । नम्र स्वभाव र सन्तुलित व्यवहारले नै ठुला–ठुला पारिवारिक सङ्कटहरूलाई सहजै समाधान गर्न सकिन्छ । कुशल व्यवस्थापन श्रीमानको व्यवसाय, छोराछोरीको शिक्षा, घरायसी काम र समाजसँगको सम्बन्धलाई एकैसाथ सन्तुलित रूपमा व्यवस्थापन गर्न सक्नु नै महिलाको वास्तविक सामथ्र्य हो ।


आपसी समझदारीः सुखमा मात्र होइन, दुःखको समयमा दुवै जनाले एकअर्काको भावना र परिस्थितिलाई बुझेर काँधमा काँध मिलाउनु नै दाम्पत्य जीवनको सफलता हो । गोपाल र सुनिताको भविष्य योजना पनि उत्तिकै स्पष्ट र दूरगामी छ । गोपालकाअनुसार अबको करिब १२ वर्ष यस उद्योगलाई अझै विस्तार गरेर सञ्चालन गर्नेछन् र त्यसपछि यो चलिरहेको स्थापित व्यवसाय आफ्ना छोराछोरीलाई सुम्पनेछन् । व्यवसाय पूर्ण रूपमा नयाँ पुस्तामा हस्तान्तरण गरिसकेपछि गोपालले आफ्नो बाँकी जीवन सामाजिक तथा राजनीतिक क्षेत्रमा स्वतन्त्र र निष्पक्ष रूपमा सेवा गर्नका लागि समर्पण गर्ने सोच बनाएका छन् ।

उद्यमी श्रेष्ठले आफ्नो व्यवसायका साथसाथै समाजका अन्य युवा र महिलाहरूलाई आत्मनिर्भर बनाउन हालसम्म १३ वटाभन्दा बढी विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिसकेका छन् र प्रशिक्षणसमेत दिएका छन् । उनी भन्छन्, “तालिम केवल तालिमका लागि मात्र वा सरकारी बजेट सक्ने माध्यम मात्र हुनु हुँदैन; यो त वास्तविक बिजनेस र उज्ज्वल भविष्य निर्माणका लागि हुनुपर्छ ।”

राज्यको बजेट र नागरिकको करबाट प्राप्त हुने यस्ता सीपमूलक तालिमहरूलाई सही ढङ्गले सदुपयोग गर्दै आफ्नो व्यवसायमा निरन्तरता दिन उनी सबैलाई आग्रह गर्छन् । साथै, नयाँ उद्यमीहरूलाई आवश्यक परेको खण्डमा आफूले प्राविधिक र व्यावहारिक रूपमा जुनसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता उनी व्यक्त गर्छन् । सङ्घर्षको जगमा उभिएको श्रेष्ठ दम्पतीको यो व्यावसायिक र पारिवारिक यात्रा युवा र नव–उद्यमीहरूका लागि एउटा उत्कृष्ट र जीवन्त पाठ हो । दृढ इच्छाशक्ति र आपसी विश्वास हुने हो भने आफ्नै ठाउँमा बसेर पसिना बगाउँदा सुन फलाउन सकिन्छ भन्ने उदाहरण श्रेष्ठ ब्याग उद्योगको यो गौरवमय कथाले प्रमाणित गरिदिएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलवार १५:४५

प्रतिक्रिया दिनुहोस्