सिन्धुली – कमलामाई नगरपालिका–१ डाँडीगुराँसेमा खानेपानी मोटर बिग्रिएपछि उत्पन्न भएको खानेपानी संकटलाई मध्यनजर गर्दै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको तत्काल पहलमा ३९ घरधुरीलाई ५०० लिटर क्षमताका पानी भण्डारण ड्रम वितरण गरिएको छ ।

वितरण कार्यक्रममा स्थानीयवासी, वडा नं. १ का अध्यक्ष नरेश कुमार गोले, वडा सदस्य मनिषा पोखरेल लगायतको सहभागिता रहेको थियो । नगरपालिकाले खानेपानी समस्या समाधानका लागि आवश्यक दीर्घकालीन पहलसँगै नागरिकलाई तत्काल राहत उपलब्ध गराएको जनाएको छ ।

यस अवसरमा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले भन्नुभयो, “खानेपानी नागरिकको आधारभूत अधिकार हो । मोटर बिग्रिएर समस्या उत्पन्न भएको अवस्थामा नागरिकलाई कष्ट हुन नदिन तत्काल राहतस्वरूप पानी भण्डारण ड्रम उपलब्ध गराएका हौँ । स्थायी रूपमा खानेपानी सेवा सुचारु गराउन पनि आवश्यक पहल भइरहेको छ ।

नगर प्रमुख पोखरेलले नागरिकको आधारभूत आवश्यकतामा नगरपालिका सधैं जिम्मेवार र प्रतिबद्ध रहने बताउदै जनताको हरेक सुख–दुःखमा नगरपालिका सधैं साथमा रहने बताउनुभयो ।









