विद्यार्थीको सहजताका लागि विद्यालयमै पुग्यो कमलामाईको सेवा

सिन्धुली: कमलामाई नगरपालिकाले अपाङ्गता भएका विद्यार्थीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्दै विद्यालयमै पुगेर सेवा प्रदान गरेको छ ।

कमलामाई नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाले वडा नं. ६, जसेदमारस्थित नवज्योति बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरणसम्बन्धी सेवा विद्यालयमै पुगेर उपलब्ध गराएको हो ।

नगरपालिकाको यस पहलबाट विभिन्न जिल्ला तथा स्थानबाट आएर विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी तथा उनीहरूका अभिभावकलाई नवीकरणका लागि घर फर्किनुपर्ने वा नगरपालिकाको कार्यालयसम्म धाउनुपर्ने झन्झट हटेको छ ।

विशेषगरी अपाङ्गता भएका विद्यार्थीलाई सेवा लिन कार्यालयसम्म आउजाउ गर्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले सेवा नै नागरिकको नजिक पुर्‍याएको जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विद्यार्थी तथा अभिभावकले कार्यालयसम्म पुग्नुपर्ने अवस्थाले समय, श्रम र आर्थिक खर्चसमेत हुने भएकाले विद्यालयमै पुगेर सेवा प्रदान गरिएको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार विभिन्न जिल्लाबाट आएर अध्ययन गरिरहेका विद्यार्थीलाई केवल नवीकरणकै लागि घर जानुपर्ने बाध्यता नहोस् र अभिभावकले अनावश्यक सास्ती व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले विद्यालयमै सेवा सञ्चालन गरिएको हो । नगर प्रमुख पोखरेलले स्थानीय सरकारको सेवा प्रवाहको मुख्य उद्देश्य नागरिकलाई कार्यालयमा बोलाउनेभन्दा पनि आवश्यकताअनुसार सेवा नागरिककै घरदैलोमा पुर्‍याउनु रहेको बताउनुभयो ।

“हाम्रो प्राथमिकता केवल सेवा दिनु मात्र होइन, सेवालाई नागरिकसम्म सहज, सरल र झन्झटरहित रूपमा पुर्‍याउनु हो,” उहाँले भन्नुभयो, “विशेष आवश्यकता भएका नागरिकले सेवा लिन थप कठिनाइ व्यहोर्न नपरोस् भन्ने कुरामा नगरपालिका संवेदनशील छ।”

विद्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको सेवा उपलब्ध गराइएपछि विद्यार्थी तथा अभिभावकलाई प्रत्यक्ष राहत पुगेको नगरपालिकाले जनाएको छ । यसले सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनसँगै अपाङ्गता भएका विद्यार्थीप्रति स्थानीय सरकारको उत्तरदायित्व र पहुँचमुखी सेवा प्रवाहलाई समेत थप बलियो बनाएको छ ।

नगरपालिकाले आगामी दिनमा पनि सेवाग्राहीको अवस्था, आवश्यकता र सहजतालाई प्राथमिकतामा राख्दै सम्भव भएसम्म सेवा प्रवाहलाई नागरिककै नजिक पुर्‍याउने जनाएको छ । कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित वर्गलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता घरदैलो तथा सेवाग्राही केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख पोखरेलको भनाइ छ ।

“जनताको समय, श्रम र सहजताको सम्मान गर्दै ‘नागरिक जहाँ, सेवा त्यहीँ’ भन्ने भावनाका साथ कमलामाई नगरपालिकाको सेवा प्रवाहको अभियान निरन्तर अघि बढिरहेको छ,” नगर प्रमुख पोखरेलले भन्नुभयो ।

नगरपालिकाको यो पहलले सामाजिक सुरक्षा भत्ताजस्तो नियमित र आवश्यक सेवाका लागि सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्थालाई कम गर्दै स्थानीय सरकार नागरिकको घरदैलोमै पुग्नुपर्छ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने प्रयासका रूपमा लिइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार ०६:१७

प्रतिक्रिया दिनुहोस्