कांग्रेस राहत कोषमा सिन्धुली–काठमाडौं समितिको ६७ हजार सहयोग

काठमाडौं । नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयले स्थापना गरेको राहत कोषमा रु. ६७ हजार ८८३ रुपैया नगद सहयोग गरेको छ ।

सम्पर्क समितिका सभापति युबराज गुरुङको नेतृत्वमा समितिका पदाधिकारी, सदस्य, शुभेच्छुक तथा सहयोगीहरूबाट संकलन गरिएको उक्त रकम नेपाली कांग्रेसका केन्द्रीय सदस्य उज्ज्वलप्रसाद बरालको उपस्थितिमा पार्टीका सहमहामन्त्री उदयशमशेर राणा र डा. डिला संग्रौलालाई हस्तान्तरण गरिएको हो ।

मानवीय सेवाका लागि संकलित उक्त रकम नेपाली कांग्रेसको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले सरकारी राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणासमेत गरेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले विपद्को घडीमा पीडित नागरिकलाई सहयोग गर्न नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिले गरेको योगदानप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले सिन्धुली–काठमाडौं सम्पर्क समितिका साथीहरूले “छाती चौडा बनाएर” सहयोगका लागि अगाडि आएको भन्दै अन्य सम्पर्क समितिहरूले पनि यसबाट पाठ सिक्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले सिन्धुली–काठमाडौं सम्पर्क समितिका साथीहरूले मानवीय सेवामा ठूलो छाती देखाएको बताउँदै उनीहरूको सहयोगले बाढीपीडित नागरिकको घाउमा मल्हम लगाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उज्ज्वलप्रसाद बरालले सिन्धुली–काठमाडौं सम्पर्क समितिका नेता तथा कार्यकर्ताले गरेको यस पुण्य कार्यको खुलेर प्रशंसा गर्नुभयो । उहाँले यस्तो मानवीय सहयोगले पार्टीका अन्य नेता तथा कार्यकर्तालाई समेत सामाजिक सेवामा प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो ।

सिन्धुली–काठमाडौं सम्पर्क समितिले प्राकृतिक विपद्को यस कठिन समयमा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य, शुभेच्छुक तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १३:३६

प्रतिक्रिया दिनुहोस्