तीजको दरका लागि छुट्याएको ५० हजार बाढीपीडितलाई

सिन्धुली । तीजको दर खाने कार्यक्रमका लागि छुट्याइएको रकम बाढीपहिरो पीडितको राहतका लागि प्रदान गरेर सिन्धुलीको तीनपाटन गाउँपालिका–५ लङ्गुरखोला सिसाबोटका महिला दिदीबहिनीहरूले मानवीय सेवाको सराहनीय उदाहरण प्रस्तुत गरेका छन् ।

श्री हरियाली सामुदायिक वन उपभोक्ता समितिले आफ्नो सेवा क्षेत्रभित्रका महिला समूहका लागि तीजको दर कार्यक्रम सञ्चालन गर्न उपलब्ध गराएको ५० हजार रुपैयाँ देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी यहाँका महिलाहरुले सहयोग गरेका हुन ।

भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै कतिपय मानिस बेपत्ता भएका छन् । विपद्को यस्तो पीडादायी अवस्थामा उत्सवका लागि छुट्याइएको रकमसमेत पीडितको राहतमा उपयोग गर्ने महिला समूहको निर्णयले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ ।

आफूहरूको खुसी र उत्सवभन्दा विपद्मा परेका नागरिकको पीडालाई प्राथमिकता दिँदै गरिएको यो सहयोगले ‘संकटमा सबैको साथ’ भन्ने भावना अझ बलियो बनाएको छ । तीजका लागि सहयोग उपलब्ध गराएकोमा श्री हरियाली सामुदायिक वन उपभोक्ता समिति तथा प्राप्त रकम राहत कोषमा प्रदान गर्ने महिला समूहप्रति स्थानीयस्तरमा प्रशंसा व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्