प्रदेश २ : चालीस महिनामा ६२ दलितको हत्या

रौतहटको गढीमाई नगरपालिका–३ मुसहरी टोलकी ३५ वर्षीया मिन्त्रादेवी बैठाको १४ भदौ २०७७ मा हत्या भयो। ब्याङ्कले लिलाम गरेको सोही ठाउँका जमसेद मियाँको जग्गा किनेका कारण रिसईवी साध्न उनको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ बताउँछन्। श्रेष्ठ भन्छन्, “हत्याको १५ दिनअघि पनि ‘पख् तँलाई देखाइदिन्छु, तेरो परिवारको हत्या गर्छु’ भनेर धम्की दिइएको रहेछ।”

प्रहरीले हत्या आरोपमा सोही ठाउँका जमसेद मियाँ (४०), दाउद मियाँ (३५),  जहरुद्दीन मियाँ (३२) र मोहम्मद इसराफुल मियाँ (४०) लाई पक्राउ गरेको छ। डीएसपी श्रेष्ठका अनुसार चारै जनालाई रौतहट जिल्ला अदालतको १९ कात्तिक २०७७ को आदेशले पुर्पक्षका लागि गौर कारागार पठाइएको छ। 

प्रदेश प्रहरी कार्यालयको आँकडा अनुसार पछिल्लो ४० महीनामा प्रदेश–२ का आठ जिल्लामा ६२ जना दलितको हत्या भएको छ भने १६८ जना दलित महिला बलात्कृत भएका छन्। (हे. तालिका)

प्रदेशका आठ जिल्लामध्ये दलितका लागि सबैभन्दा असुरक्षित चाहिं प्रदेश राजधानी रहेको धनुषा नै देखिएको छ। धनुषामा गएको ४० महीनामा दलित समुदायका १६ जना मारिएका छन् भने त्यसपछि सर्लाहीमा १२ जना दलित मारिएको प्रदेश प्रहरीको तथ्यांक छ। त्यस्तै बलात्कार बढी हुने जिल्लामा पनि धनुषा नै परेको छ। त्यहाँ ४१ जना दलित समुदाका महिला तथा बालिका बलात्कृत भएका छन्। 

हत्या, बलात्कार, कुटपिट अनि जातीय विभेदका घटनाको अनुसन्धान तथा अभियुक्तलाई पक्राउ गर्ने कुरामा राज्यसंयन्त्रको हेलचेक्र्याईंले दलितका लागि प्रदेश–२ असुरक्षित हुँदै गएको छ।

दलित लक्षित हिंसाका घटना हुन नदिनका लागि प्रहरीले आवश्यक रणनीति पनि बनाएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंह बताउँछन्। उनी भन्छन्, “दलितमाथिका आपराधिक घटनाको वस्तुनिष्ठ तरिकाले छानबिन गरेर दोषीलाई कानूनको दायरामा ल्याउन प्रयत्न गरिएको छ।”

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १२:०८

प्रतिक्रिया दिनुहोस्