महोत्तरीको बर्दिवास अस्पतालमै पीसीआर परीक्षण सुरु

महोत्तरी — महोत्तरीको बर्दिवास अस्पतालमा पीसीआर परीक्षण सुरु भएको छ । बर्दिवास नगरपालिकाले सवा करोड लगानीमा मेसिन खरिद गरेपछि शुक्रबारबाट जिल्लामै पीसीआर परीक्षण हुन लागेको हो ।

गत असारमा उद्घाटन गरिएको बर्दिवास अस्पतालको नयाँ तीनतले भवनमा मेसिन राखेर काम सुरु गरिएको मेयर विदुर कार्कीले जानकारी दिए ।

शुक्रबार अस्पतालमा १० जनाको स्वाब संकलन गरी परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ । दैनिक ९ सय स्वाब नमुना परीक्षण गर्ने क्षमता भए पनि पर्याप्त जनशक्ति नभएकाले तत्काललाई दैनिक दुईदेखि तीनसय नमुनासम्मको रिपोर्ट दिन सकिने मेडिकल माइक्रो बायोलोजिस्ट अनिलकुमार साहले जानकारी दिए ।

अस्पतालको ल्याबमा अहिले दुई जना बीएमएलटी मात्रै रहेकाले तीन जना ल्याब टेक्निसियन र एक जना ल्याब असिस्टेन्ट थप गर्न लागिएको बीएमएलटी मनोज मिश्रले जानकारी दिए ।

बर्दिवास नगरपालिकाभित्र पहिलो चरणमा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको र पछि ‘एक घर एक व्यक्ति’का दरले परीक्षण बढाउँदै लगिने मेयर कार्कीले बताए । कोरोना सकिएपछि पनि पीसीआर मेसिनबाट अन्य धेरै रोग पत्ता लगाउन सकिने भन्दै उनले बर्दिवास अस्पताललाई विशेषज्ञ सेवासहित सुविधासम्पन्न अस्पताल बनाइने जनाए ।

१५ शय्याको अस्पताललाई अहिले ५० शय्याको बनाएर सञ्चालनमा ल्याइएको छ । पर्याप्त भौतिक संरचना रहेकाले तत्काललाई बर्दिवास अस्पताललाई कोभिड अस्पताल बनाएर काम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १२:५४

प्रतिक्रिया दिनुहोस्