जुनारको राजधानी तिनकन्यामा ‘जुनार मेला’ आयोजना गरिने

सिन्धुली – ‘जुनारको राजधानी’ भनेर चिनिने सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ तिनकन्यामा तीनदिने जुनार प्रवर्धन मेलाको आयोजना गरिने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थानीय उत्पादन फल जुनारलाई थप पहिचान दिलाउने उद्देश्यसहित यहि मंसिर २३, २४ र २५ गते मेलाको आयोजना गर्ने तयारी थालिएको हो । 

जुनार उत्पादनमात्र नभई यसको व्यवसायीकरण, किसानको सीप अभिवृद्धि र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष टेवा पुर्‍यउने उदेश्यले मेला आयोजना गर्न लागिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले बताउनुभयो ।उहाँका अनुसार तिनकन्याको माझकुभिण्डे क्षेत्रलाई मेलास्थलको रूपमा छानिएको छ ।

सिन्धुलीको पहिचान नै बनेको जुनारलाई अझ गुणस्तरीय र व्यवसायिक उत्पादनतर्फ उन्मुख बनाउन मेला महत्वपूर्ण हुने अध्यक्ष बरालको बिश्वास छ । तीन दिने जुनार प्रवर्धन मेलाले जुनारको प्रचार–प्रसार, रोग तथा किरा नियन्त्रण, प्रविधिगत सीप, जुनारको गुणस्तरमा सुधार र अनुकूल नीतिगत समन्वयमा पनि सहयोग पुर्‍यउने अपेक्षा गरिएको छ ।

जुनार प्रर्वद्धन मेलाले व्यापारी, सरकार र किसानबीचको आत्मियता बढ्ने, सहकार्य र समन्वयमा सुदृष्ढ हुने विश्वास पालिकाले गरेको छ । “जुनार पाक्ने समयसँगै बजारमा पहुँच पाउन हामी किसानले निकै मिहेनत गर्नुपर्छ । रोग–किरा नियन्त्रण आजको मुख्य चुनौती बनेको छ । यस्तो मेलाले हाम्रा समस्या निवारणमा सहयोग पुग्ने विश्वास छ, ‘जुनार किसान निर्मला पुर्वछाने मगरले भन्नुभयो ।’

जनजीवन, कृषि संस्कृति र भौगोलिक विशेषता नजिकबाट देख्न चाहने आन्तरिक पर्यटकका लागि यो मेला आकर्षणको केन्द्र बन्न सक्ने आयोजकको विश्वास छ । अध्यक्ष बरालले भन्नुभयो, “जुनार उत्पादन, बजार विस्तार र नीतिगत सहयोगका विषयमा किसान, स्थानीय तह र नीजि क्षेत्रबीच त्रिपक्षीय सहकार्य मेलाबाट अझ प्रभावकारी हुनेछ ।”

प्रकाशित मिति : ६ मंसिर २०८२, शुक्रबार ०६:०९

प्रतिक्रिया दिनुहोस्