मङ्सिर ९ सिन्धुली – प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएपछि सुरु भएको मतदाता नामावली दर्ता प्रक्रियामा उत्साह देखिएको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीमा थप ७ हजार ३९ मतदाताले नामावली दर्ताका लागि निवेदन दिएका छन् ।
प्रतिनिधि सभाको कार्यकाल पुरा हुनुअगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा निर्वाचनको प्रयोजनका लागि अवधि तोकी मतदाता नामावली सङ्कलन, दर्ता तथा त्यसको अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको थियो ।
सुरुमा कार्तिक १८ गतेसम्म नामावली दर्ता गर्ने समयसीमा राखेको निर्वाचन आयोगले उक्त म्याद मङ्सिर ५ गतेसम्म थप गरेको थियो । सो अबधीमा वेबपोर्टलमार्फत अनलाइन प्रविधिबाट सिन्धुलीमा ५ हजार २३ जनाले नामावली दर्ता गराएका छन् भने बायोमेट्रीक अर्थात आफै उपस्थित भएर २१४० जनाले मतदाता नामावली दर्ता गरेका छन ।
जिल्ला निर्वाचन कार्यालयको असोज १० गतेसम्म अद्यावधिक विवरण अनुसार सिन्धुलीमा मतदाताको सङ्ख्या २ लाख ८ हजार ४१५ जना रहेकोमा अहिले मङ्सिर ५ गतेसम्म निर्वाचन कार्यालयमा मतदाताको निबेदन आएको आधारमा जिल्लामा मतदाताको सङ्ख्या २ लाख १५ हजार ४५४ पुगेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका निर्वाचन अधिकृत ईश्वरनाथ मिश्रले जानकारी दिए ।
अधिकृत मिश्रले यद्यपि हाल दर्ता भएका नामावलीमा दोहोरिएका नामसमेत पर्ने सम्भावना रहेकाले मतदाता नामावली अद्यावधिक भएपछि मात्रै वास्तविक तथ्याङ्क आउने बताए ।
उहाँका अनुसार कार्यालयले मङ्सिर २१ गतेदेखि २७ गतेभित्र अद्यावधिकका लागि निवेदन दिन आग्रह गरेको छ । सो अवधिभित्र परेको दाबीविरोध, दोहोरिएको नाम हटाउने, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन निवेदन परेपछि आयोगले सोमाथि छानबिन गरी पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ ।
सिन्धुलीमा हाल १५१ मतदान स्थल रहेका छन भने २६८ मतदान केन्द्र रहेका छन । मतदाता थप भएपछी मतदान स्थल र केन्द्र थप हुन सक्ने अधिकृत मिश्रले बताए ।









