बिपि राजमार्ग निर्माणसंगै बिपन्न कृषकको जिबनस्तरमा सुधार

सिन्धुली – बीपी राजमार्गका निर्माणका कारण यहाँका विपन्न कृषकको जीवनस्तरमा सुधार आउन थालेको छ । राजमार्ग आसपासका कृषकहरुद्वारा उत्पादित कृषि तथा फलफुलले सजिलै बजारको पाएपछि उनीहरुको जीवनस्तरमा सुधार आउन थालेको हो ।

जिल्लाको पिछडीएकोे क्षेत्रको रुपमा रहेका भद्रकाली, जलकन्या, रतनचुरा, भिमेश्वर, भुवनेश्वरी, तिनकन्या, शीत्तलपाटी, पुरानो झागाझोली, झागाझोली रातमाटा, दुम्जा लगायत दर्जन बढि ठाँउका विपन्न कृषक राजमार्ग निर्माणले उत्पादित तरकारी तथा फलफुलले सजिलै बजार पाएपछि आयआर्जन तर्फ थप आकर्षित भएका छन् ।

राजमार्ग बन्नुअघि आयआर्जनको कुनै पनि स्रोत नभएका राजमार्ग आसपासका विपन्न कृषकहरु यतिखेर व्यवसायिक रुपमा गाई, भैसी पालन गरि दुध, दही, तथा घ्यु, मौषमी तथा बेमौषमी तरकारी खेती, फलफुल तथा बास निगालोका हाते सामाग्रीहरु उत्पादनमा सक्रिय भएको रतनचुराका कृषक बिरबहादुर रम्तेल बताउनुहुन्छ ।

ढाडमा डोको र थाप्लोमा नाम्लो बोकेर दुई देखि तीन दिनसम्मको बाटो हिडेर सिन्धुलीको सदरमुकाम, रामेछापको मन्थली तथा काभ्रेको धुलीखेल बजारमा तरकारी, फलफुल तथा दुग्धजन्य पदार्थको विक्री गर्न पुग्ने गरेको स्मरण गर्दै कृषक रम्तेलले भन्नुभयो, “आफ्नो उत्पादन विक्रीका लागि दुई दिन पैदल हिड्नु पर्नेमा अहिले मोटरमा दुई घण्टामात्र लाग्छ ।”

साग सब्जी, जुनार सुन्तला लगाएतका ताजा फलफुल, दही, दुध, घ्यु केही क्षणमा नै बजारमा पुग्ने भएपछि मुल्यपनि राम्रो पाउने गरेको उहाँले सुनाउनुभयो । कुल १६० किलोमिटर लामो बीपी राजमार्गमा अहिले पुर्वी तराईका जिल्लादेखि सिन्धुली हुदै रामेछापको मन्थली तथा राजधानीसम्म जाने आउने सवारी साधनहरु दैनिक संचालन भईरहेका छन् ।

यस मार्गकै कारण जिल्लाका जलकन्या, भद्रकाली, रतनचुरा, तिनकन्या लगायतका ठाँउमा जाने शाखा सडक निर्माणका लागि ट्रयाक खोलिएको र त्यस क्षेत्रहरुमा पनि यातायात संचालन हुदा राजमार्गसँगै स्थानिय कृषकहरुको राम्रो पहुँच पुगेको तीनकन्याका कृषक कर्णबहादुर ठाडाले बताउनुभयो ।

पहिला—पहिला गाउँघरमा उत्पादन हुने हजारौं मेक्ट्रीक टन जुनार, सुन्तला, दुध तथा ताजा तरकारी र फलफुलहरु विक्री गर्न नसकिने हदा कृषकको लाखौं कुुुहिएर माटोमा मिल्ने गरेको तितो अनुभव तिनै कृषक ठाडाले सुनाउनुभयो छ । भरियालाइ बोकाएर लैजादा ज्याला दिंदा नै ठिक्क हुन्थ्यो, उहाँले भन्नुभयो, “आफ्नो श्रम पसिना नआउने भएपछि कृषकहरुले मलको भकारामा मिल्काउनको विकल्प थिएन् । त्यहि उत्पादन खरिद गर्न अहिले घरदैलामा नै व्यापारी आइपुग्छन् ।”

जलकन्याकै अर्का कृषक सुर्य धिताल अहिले गाउमै बाटो बनेपछि सयबढी कृषकहरुले दुध संकलन गरि रतनचुरामा स्थापना गरिएको महाभारत दुग्ध सहकारी संस्थामा विक्री गरी लाभ उठाएको बताउनुहुन्छ ।

‘अहिले राजमार्गको निर्माणपछि गाउ“को दुध, घ्यु तथा दही सदरमुकाम माढीबजारसम्म पुर्‍याएर विक्री गर्ने गरेका छौं, ‘धितालले भन्नुभयो, ‘गाउमै दुग्ध संकलन समुहको गठन गरि दैनिक दुध संकलन गछौं, तरकारी र जुनार, सुन्तला, नास्पाती, आलु, टमाटर लगायतका उत्पादनलाई पनि सहज रुपमा नै सदरमुकाम लगाएत राजधानी र तराईका जिल्लाहरुमा पुराएर विक्री गर्ने गरेकाछौं ।’

गाउँ घरमा माग्दै पाईने दुध तथा दही बजारमा पुर्‍याउदा लिटरकै ६० रुपैंयासम्म विक्री हुने गरेको छ भने गाउको तुलनामा झण्डै २ सय बढी प्रतिकिलो ६ सय रुपैयाँले घ्यु विक्री हुने गरेको उहाँको भनाई छ ।

दैनिक उपभोग्य नुन, तेल तथा मरमसला खरिद गर्नका लागि पनि एक दुई दिन लगाएर सदरमुकाम सिन्धुलीमाढी धाउनु पर्ने बाध्यता थियो । “तर, अहिले घरछेउमा नै सबै किसिमका सामाग्रीहरु खरिद गर्न पाईन्छ,” रतनचुराका कृषक तथा जुनार कृषक सहकारी संस्थाका अध्यक्ष निर्मलकुमार रम्तेलले भन्नुभयो, “पहिला—पहिला बजारको अभावमा त्यतिकै खेर जाने जुनार, सुन्तला, नास्पाती, फर्सी, स्कुस, आलु, दही, दुध लगाएतका कृषकहरुले उत्पादन गर्ने कृषि उत्पादनले राम्रो मुल्य र बजार पाएको छ ।”

अहिले त्यस क्षेत्रका दुईहजार बढी कृषकहरु व्यवसायिक रुपमा जुनार, आलु, अदुवा, टमाटर, मौषमी तथा बेमौषमी तरकारी खेतीका साथै गाई, भैंसी पालनका माध्यमबाट दुध तथा घ्यु उत्पादनमा लगोका छन् । रागमार्गको निर्माणसंगै विपन्न परिवारका कृषकहरुले वार्षिक कम्तीमा ५० हजार रुपैयाँदेखी ४ लाखसम्म फलफुल, तरकारी तथा दुग्धजन्य पदार्थको विक्रीबाट आम्दानी लिने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार ०३:४६

प्रतिक्रिया दिनुहोस्