निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै छ वर्षपछि धुलिखेलबाट सिन्धुली हुँदै बर्दिवाससम्मको सडकमा धेरै खण्डमा मर्मतको काम अघि बढेको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरेको सो सडकमा अहिले आकस्मिक, पटके र नियमित मर्मतसँगै कालोपत्रको तह थप्ने काम (ओभरले) र ‘सिङ्गल सर्फेस ट्रेसिङ’ समेत अघि बढेको छ ।
चालु आवमा झण्डै १०० किलोमिटर लम्बाइमा मर्मत भइरहेको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले जनाएको छ । यो सडकमा पटके वा नियमित मर्मत गत वर्षहरुमा पनि आवश्यकतानुसार भइरहेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए ।
‘सडकको तह नै थप्ने गरी र ठूलो क्षेत्रफलमा मर्मतको काम यही वर्षदेखि सुरु भएको हो,’ उनले भने । मर्मतको काम भइरहेका अधिकांश स्थानमा नेपाली रकमबाट नै काम भइरहेको आयोजनाले जनाएको छ । सडक बोर्ड नेपालले बर्सेनि सडकबाट उठाएको दस्तुरबाट सडक मर्मतका लागि आवश्यक रकम छुट्ट्याउँदै आएको छ ।
त्यसबाहेक यो वर्ष विश्व बैंकको आर्थिक सहयोगमा मर्मत अघि बढाइएको भाटले बताए। बीपी राजमार्गअन्तर्गतको नेपालथोक–धुलिखेल खण्डमा पाँच किमी ‘ओभरले’ सकिएको छ । सिन्धुलीको खुर्कोट चियाबारी खण्डमा चालु आवमा ३५ किमी सडक ‘ओभरले’ गर्ने लक्ष्य लिइएको थियो । त्योमध्ये हालसम्म २५ किमी सडक मर्मत सकिएर १० किमी सडकमा काम भइरहेको भाटले जानकारी दिए । ‘त्यो १० किमी सडक पनि चैतसम्ममा सकाउने योजना छ,’ उनले भने ।
नेपालथोकदेखि धुलिखेलसम्मको सडकमा ‘सिङ्गल सर्फेस ट्रेसिङ’ १० किमी सकिएको र बाँकी १० किमी आगामी चैतमा सकाउने लक्ष्य लिइएको आयोजनाले जनाएको छ ।
नेपालथोक खुर्कोट सडकमा चालु आवमा २५ किमी ओभरले गर्ने योजना बनाइएको छ । त्यसमध्ये पाँच किमी सकिएर २० किमी सडक ‘ओभरले’ का लागि ठेक्का भइसकेको छ ।
सडकको लम्बाइ १६० किमी छ । सो सडक चार खण्ड रहेकोमा बर्दिवास–सिन्धुलीबजारको लम्बाइ ३७ किमी, सिन्धुलीबजार–खुर्कोट ३९ किमी, खुर्कोट–नेपालथोक ३२ किमी र नेपालथोक–धुलिखेल ५० किमी छ । पूर्वी तराईलाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो सडकका रूपमा यो राजमार्ग रहेको छ ।
जाइकाले सो सडकको एक लेनमा निर्माण गरेको थियो । सरकारले ठूला सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको भए पनि सो सडकमा भने चौडाइ कम भएकै कारण ठूला सवारीसाधनलाई प्रवेश गर्न दिने गरिएको छैन ।
यातायात व्यवस्था विभागले ३२ सिटभन्दा ठूला क्षमताका सवारीसाधनलाई गुड्न अनुमति दिने गरेको छैन । धुलिखेल–नेपालथोक सडक सन् २००१ मा सम्पन्न भएको थियो भने नेपालथोक–खुर्कोट सडक सन् २०११ मा सम्पन्न भएको थियो ।









