सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हिरासतमा रहेका एक व्यक्तिको मृत्युको सम्बन्धमा विभिन्न सामाजिक सञ्जाल र अनलाइन मिडियामा आएका भ्रामक तथा आधारहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एक ध्यानाकर्षण पत्र जारी गर्दै प्रहरीले सुनकोशी गाउँपालिका–३ निवासी कृष्ण विकलाई अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको जनाएको थियो । उनलाई हिरासत कक्षको शौचालय भित्र भेन्टिलेसनको रडमा झुण्डिएको अवस्थामा फेला पारिएको र तत्काल उपचारका लागि अस्पताल लगिए पनि मृत्यु भएको बताइएको छ ।
घटनासँग सम्बन्धित विषयमा तथ्यहीन र अतिरञ्जित समाचार प्रकाशन तथा प्रसारण हुँदा सर्वसाधारणमा भ्रम सिर्जना हुनुका साथै शान्ति–सुरक्षामा समेत असर पर्न सक्ने भन्दै यस्ता सामग्री प्रसारण नगर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
साथै, घटनाको सत्य–तथ्य छानबिनका लागि सहायक प्रहरी उपरीक्षकको संयोजकत्वमा पीडित पक्ष, दलित संघ–संस्था तथा सरोकारवाला निकायहरूको सहभागितामा समिति गठन गरी अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी दिइएको छ । छानबिन सम्पन्न भएपछि यथार्थ विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।










