पुर्व-प्राथमिक तह उत्तीर्ण गरेका ५२ बिद्यार्थी दिक्षित

सिन्धुली – जिल्लाकै उत्कृष्ट र आधुनिक तरिकाबाट पूर्व प्राथमिक तह सञ्चालन गरिरहेको सिद्धस्थली इङलिस बोर्डिङ स्कुलले २०७३ साल देखी आफ्ना बिधार्थीहरूलाई उत्साहित बनाउन दिक्षित गर्ने प्रचलनको सुरुवात गरेको थियो ।

सोही संस्कारलाइ निरन्तरता दिन शनिबार उक्त स्कुलले पूर्व प्राथमिक तह उत्तीर्ण गरी प्राथमिक तहमा प्रवेश गरेका विद्यार्थीलाई एक समारोहका बिच दीक्षित गरेको छ । 

बिद्यालयले कक्षा १ मा प्रवेश गरेका ५२ जना विद्यार्थीहरूलाई दीक्षित गर्दै प्रमाणपत्र प्रदान गरेको हो । कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले उक्त समारोहमा भविष्यका कर्णधार बालबालिकाहरू नै भएकोले बाल मस्तिष्क देखी नै सामाजिक संस्कार र संस्कृति सिकाउँदै लानुपर्नेमा जोड दिए ।

उनले आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाएर मात्र होइन अभिभावकहरूले घरमा पनि शिक्षा र संस्कार सिकाउन जरुरी रहेको बताए । कोभिड-१९ का कारण बालबालिकाहरूले पढ्न नपाएको बताउँदै सुरक्षा सावधानी अपनाएर विद्यालयहरू निरन्तर सञ्चालन गरिनु पर्ने उनको भनाई थियो ।

उनले विद्यालयले सुरू गरेको दीक्षान्त समारोहले बालबालिका तथा अभिभावकहरू लाई अझ हाैसला मिल्ने बताउँदै विद्यालयलाई धन्यवाद समेत व्यक्त गरे । 

कार्यक्रममा आफ्नो भनाई राख्दै प्याब्सनका केन्द्रीय सदस्य तथा विद्यालयका प्रिन्सिपल ओम प्रधानले आफ्नो विद्यालय सधैँ बिधार्थीहरूकाे भविष्य प्रति चिन्तित भएर अगाडि बढिरहेको बताउँदै आगामी दिनहरूमा प्रविधिको विकास सँगै अझ विद्यालयलाई बिकास गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे ।  कार्यक्रम विद्यालयकी निर्देशक लक्ष्मी प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार ०३:३६

प्रतिक्रिया दिनुहोस्