भुकम्पको ६ बर्ष: सिन्धुलीमा ७४.३ प्रतिशत भौतिक संरचना निर्माण

सिन्धुली – भूकम्पको ६ वर्ष अवधिमा सिन्धुलीमा ७४.३ प्रतिशत भौतिक संरचना पुनर्निर्माण भएको छ । भूकम्पका कारण ढलेका अधिकांश बस्ती, विद्यालय, सरकारी भवन, गुम्बा पुनर्निर्माण भएका छन । भूकम्पको त्रास स्थानीयमा हट्दै गएको छ ।

सिन्धुलीमा ५३ हजारभन्दा बढी निजी आवासमा क्षति पुगेको थियो । ४ सय ४८ बढी विद्यालय र सरकारी भवन भत्किएका थिए । तीमध्ये २८ हजार ४ सय १२ निजी आवास, ५ वटा एकीकृत सरकारी भवन, १६ वटा गुम्बा पुनर्निर्माण तथा मर्मत गरिएको छ ।

भूकम्पले क्षति पुगेका पुल तथा सडकको पनि पुनर्निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित्त प्रमुख सूर्यप्रकाश विष्टले बताए ।

विष्टका अनुसार विद्यालय बाहेकका पुनर्निर्माणमा ११ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । ‘यही वैशाख मसान्तसम्ममा जिल्लामा निजी आवास निर्माणको प्रगति बढेर झन्डै ९० प्रतिशत पुग्नेछ’, विष्टले भने । जिल्लामा पुनर्निर्माणतर्फ ३८ हजार २ सय २३ जनाले पहिलो किस्ता र ३५ हजार ३ सय १९ जनाले दोस्रो किस्ता लिएका छन् ।

१४ हजार ४ सय १२ जनाको निजी आवास १ लाख रुपैयाँ पाउने गरी प्रवलीकरणतर्फ परेका छन् । उनीहरू सबैले पहिलो किस्ता बुझे पनि १६ जनाले मात्र घर प्रवलीकरण सम्पन्न गराएका छन् ।

२ हजार ३ सय ८० भूमिहीन लाभग्राहीले पनि निजी आवास पाउने भएका छन् । जिल्लामा ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्ष माथिका एकल महिला, अपांगता भएका लाभग्राही, १६ वर्षमुनिका बालबालिका गरी ६ सय ७५ जना लाभग्राही छन् ।

गोलन्जोर गाउँपालिका– ७ भीमेश्वर बाराका जोखिमयुक्त बस्तीका ८ परिवारमध्ये ६ जनाले जग्गा खरिदका लागि थप २ लाख अनुदान लिएर निजी आवास निर्माण गराएका छन् ।

भूकम्पपछि पहिरोको जोखिममा परेका बेला थप अनुदानले सुरक्षित स्थानमा जग्गा खरिद गरी घर निर्माण गरिएको भूकम्पपीडित डुण्डीराज नेपालीले बताए । ‘घर निर्माणपछि भूकम्पको त्रास कम भएको छ । सुरक्षित घर बनाएपछि भूकम्पको कुनै चिन्ता छैन’, उनले भने ।

भूकम्पका कारण ढलेका सामुदायिक विद्यालयहरू समेत धमाधम ठडिदै गएका छन् । भूकम्पले ढलेका ८० प्रतिशतभन्दा बढी विद्यालय पक्की र सुविधा सम्पन्न पुनर्निर्माण भएपछि शिक्षक, विद्यार्थी र अभिभावक ढुक्क भएका छन् ।

सुनकोसी गाउँपालिका–७ को गणेश माविमा झण्डै पाँच वर्षसम्म अस्थायी भवनमा पठनपाठन हुँदै आएकोमा  प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत ८ करोड २० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएपछि समुदाय नै ढुक्क भएका छन् । भूकम्पको पाँच वर्षपछि विद्यालयले नयाँ र सुरक्षित भवन पाएको  प्रधानाध्यापक माधव भण्डारीले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आईतवार ०२:५४

प्रतिक्रिया दिनुहोस्