बिद्यार्थीलाई बिषय छनौट गर्न दिउँ

जंगलबाट ४ महिला घाँस लिएर घर फर्किदै थिए । त्यहीबेला विधालय छुटेर विद्यार्थी पनि घर फर्किदैं थिए । लामो बाटोमा घाँसको भारी बोकेर आएका ती चार महिला चौतारामा भारी बिसाएर थकाइ मार्दै थिए त्यहीबाटो स्कुल छुटेर विद्यार्थी फर्किए ।

निजि विधालयबाट फर्किएका विद्यार्थीको एक हुल आयो जसको आङमा सफा बिधालय पोसाक, टलक्क जुत्ता, राम्रो झोला थियो । चौतारीमा बसिरहेकी एक महिलाले हर्षविभोर भावमा त्यो हुलको बिच्चमा चोर औंला देखाएर ‘त्यो मेरो छोरा अंग्रेजी खरर बोल्छ’ भन्दै गर्विलो आडम्बर व्यक्त गरिन् । लगत्तै सरकारी विधालयबाट आएका विद्यार्थीको हुलबाट एक विद्यार्थी दौडदै चौतरीमा आयो ।

हेर्दा काम गरेर खाँदिएको शरीर, लुगा, झोला पुराना र कतै टालिएका थिए, खुट्टामा पाएल चप्पल थियो । आएर अघि औंला देखाएकी महिलाको साथमा रहेकी अर्की महिलाको सामुन्ने उभिएर भन्यो ‘आमै, जाउँ हिंड घर अब घाँसको भारी म बोक्छु, तिमी मेरो झोला बोकिदेउ’। त्यो विद्यार्थीको आमाले अघिको महिला तर्फ फर्किदैं भनिन ‘यो भारी बोक्न आउने गधा चै मेरो छोरो हो ।’

हामीले हिजो पास भएका विद्यार्थीलाई स्कुल ज्ञान कस्तो दिएका छौं ? दिनुपर्ने कस्तो थियो ? नैतिक, व्यवहारिक र व्यवसायिक शिक्षाका पाठ्यक्रम हटाएर स्कुलमै पाइलट, वैज्ञानिक, इन्जिनियर बनाउन लागिपरेको किन हो ? हाम्रो शैक्षिक प्रणालीले बनाउन लागेको समाजमा मान्छे हुन्छन तर तिनीहरुमा संवेदना हुन्छ कि हुँदैन ? रोबर्ट सोफिया र हाम्रा बच्चामा के फरक हुन्छ ? आधुनिकताको नाममा सामाजिक अभ्यास गराउन सिकाएका छौं कि छैनौं ? सामसुङ र एप्पलको आइप्याडको किबोर्ड चलाउन सिकाउँदै गर्दा समाजप्रतिको दायित्य सिकाएका छौं कि छैनौ ?

भोलि पाइलट भनेर तपाइँको बच्चाले अमेरिकाको टुइन टावर ध्वस्त बनाउन लाग्यो भने, वैज्ञानिक बनाएर जापानको हिरोसिमा र नागासाकीमा बम खसाल्न जान्यो भने, डाक्टर बनेर कुनै अस्पतालमा मृगौलाको व्यापार गर्न थाल्यो भने के गर्ने ? जाबो कागजी सर्टिफिकेट हातमा थमाइदिएर यही तेरो योग्यता हो भनेर उसको मापन नगरौं किनकी उसलाई मान्छे बनाउने हो संवेदनहीन यन्त्रमानव होइन ।

समाजबाट टाढा र प्रविधिको मात्र नजिक बनाएर राखेको तपाइँको बच्चा भोलि संवेदनहीन भएर रोबर्ट फिल्ममा हिरो रजनिकान्तले बनाएको चिट्टी जस्तो नहोस, जसले आदेश बुझोस तर संवेदना नबुझोस र कुनै आगोमा जलिरहेकी महिलालाई उसको उद्दारले नै आत्महत्या गर्न प्रेरित नगरोस् । यतिबेला SEE पास गरेका करिब पाँच लाख विद्यार्थीलाई आफ्नो भविष्य बनाउने निर्णय पहिला उनिहरुलाई नै छनोट गर्न दिउँ, हस्तक्षेप गरेर वा आफ्नो निर्णय लादेर कुनै अभिभावकले ठेक्का नलिउँ, उनिहरुको जे इच्छा छ त्यो पढ्न र पढाउन प्रेरित गरौं ।

कसैले रविन भण्डारी भाइले जसरी प्रश्न गर्ने वातावरण सिर्जना नहोस् । हिजो सफल भएका सबै भाइबहिनीलाई बधाई र बाँकी उज्ज्वल भविष्यको शुभकामना ! तपाइँहरु पास गराइएको होइन, आफ्नो क्षमताले पास भएको हो । जाबो एउटा कागजले तपाइँको क्षमता नाप्न सक्दैन ।

  • मुकेश घिमिरे
प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १३:५१

प्रतिक्रिया दिनुहोस्