सिन्धुली – सिन्धुलीमाढीमा मंगलबाट १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरलेले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनिने अब्बल खेलाडी बनी जिल्लाको नाम राख्न र आफ्नो प्रतिष्ठा बढाउँन सहभागी खेलाडीहरुलाई आग्रह गर्नुभयो ।
कमलामाई नगरपालिका ६ स्थित खुल्लामञ्चमा सुरु भएको प्रतियोगिता बिहिबारसम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ भलिबल, कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, उसु लगायतका खेलहरू समावेश गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिशाल थिङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि, खेलाडीहरु लगायत खेलप्रमीहरुको उपस्थिति रहेको थियो ।









