सिन्धुली – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आजदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज आमनेसामने हुँदैछन् । दुई बीचको खेल अपरान्ह ४ बजे हुनेछ । जनकपुर बोल्ट्स साबिक बिजेता पनि हो ।
यता कमलामाई नगरपालिकाले केही समय अघि कार्यालयको अघि सार्बजनिक स्थलबाट देखिने गरि ‘डिजिटल डिस्प्ले बोर्ड’ जडान गरेको थियो । विशेषगरि नगरपालिका भित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने, सरकारी कार्यालयहरुले प्रवाह गर्ने सेवाको बारेमा जानकारी दिने र कमलामाई नगरपालिकाले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिनका लागि बोर्ड सञ्चालनमा ल्याइएको थियो ।
उक्त बोर्डबाट नगरपालिकाले यस अघिका महत्वपुर्ण खेलहरु आइपिएल, फुटबल लगायतका खेलहरु खेलप्रेमी दर्शकको अपेक्षा अनुसार लाइभ प्रशारण समेत गर्ने गरेको थियो । तर गएको भदौ २३ र २४ गते भएको जेनजि आन्दोलनमा उक्त नगरपालिकामा राखिएको ‘डिजिटल डिस्प्ले बोर्ड’ तोडफोड गर्नुका साथै नगरपालिकामा आगजनी भएपछी आज देखी हुन लागेको एनपीएल खेल देखाउन नसकिने नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले बताउनु भएको छ ।
आफ्नो फेसबुक मार्फत एक स्टाटस पोस्ट गर्दै पोखरेलले लेख्नुभएको छ, ‘आजबाट हुन लागेको नेपाल पृमियर लिग ( NPL) कमला माइ नगर पालिकाको बोर्डमा खेल प्रेमिहरुलाइ देखाउने थिएउ । सबै गेमहरु हामीले देखाउदै थिएउ । यो पटकको खेल स्मार्ट बोर्ड जेनजी नामको आन्दोलनमा तोडफोड भएको हुनाले देकाउन सकेनौ । क्षमा चाहन्छौ खेल प्रेमिहरु सङ्ग ।’

उहाँले यो पटकको खेल स्मार्ट बोर्ड जेनजी नामको आन्दोलनमा तोडफोड भएको हुनाले देकाउन नसकेको भन्दै खेलप्रेमिहरु सङ्ग क्षमा समेत माग्नुभएको छ ।
नेपाली क्रिकेट इतिहासमै पहिलो पटक फ्लडलाइटमा हुन लागेको यो पहिलो खेलसमेत हो । यसपालीका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । लिगका ९ खेल दिउँसो र २३ वटा खेल फ्लडलाइटमा हुने क्यानले जनाएको छ । मंसिर २७ गतेसम्म चल्ने एनपीएलमा लिग चरण, प्लेअफ र फाइनलसहित जम्मा ३२ वटा खेल हुनेछन् ।
प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलैकै आठ टिम प्रतिस्पर्धामा छन् । जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स छन् । विजेताले १ करोड ११ लाख, दोस्रो हुनेलाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथो हुनेलाई १५ लाख नगद प्राप्त गर्नेछन् ।









