लकडाउन: सामाजिक अपराधमा युवा जनशक्ती

बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को कारण लकडाउन भई पठनपाठन र जागिर केही समय स्थकित भएपछी गाँउ फर्किने अबसर मिलेको थियो । लगभग सात आठ बर्ष पश्चात लामो समय घर र परिबार संगै बस्ने रहर पुरा हुने भएकोले मन हर्षित थियो । सबैजना घर फर्किने भएर होला दिउसो एघार बजेको टिकट मिल्यो । बाटोभरी सुनकोशी नदीको छालहरु सहित छलबलाई रहेका मनहरु पिंजडाबाट उडेको पंक्षी सरी रमाउदै गाँउ भन्दा पर सम्म आए ।

घर नै सम्म जाने गाढीहरुको कुनै टुङ्गो नहुनाले केही समय हिड्ने निधो गरे । बाबाले लिन आउछु भन्दा पनि आफ्नै गाउँठाउ, हिडेको बाटो आइहाल्छु नि ! भन्दै जबाफ दिए । निकै भएको थियो हिड्ने बानी पनि हटेर होला धेरै लामो लाग्दै थियो बाटो पनि । घर भन्दा अलिक पर एउटा खोल्सा नजिकै आइपुग्दा त साँझ झमक्कै भइसकेको थियो । केही पर आठ दश जनाको जमात देखे यस्तो अध्यारोमा के गरेको होलान ? को को पो हुन् ? यस्तै प्रश्नहरु मनमा उब्जिरहेको थियो । जो भए पनि आफ्नै गाँउ पो हो त । सबाल पनि मनलेनै दिदै थियो ।

जति नजिक हुँदै गए गाँजा चुरोट र रक्सीको गन्धहरु आइरहेको थियो । अब चै भने मनमा डर बढ्यो, त्यँहा बाट जति सक्दो छिटो कट्न पाइलाहरु अगाडी बढाए । त्यतीकैमा भिडमा खासखुस आवाज आयो र गलल्ल हाँसे । स्वर्गको कल्पना गर्दै आएको गाउँमा राक्षसको मसान घाट पुगे जस्तो लाग्यो । पल्लो घरकी काकीलाई घर मुनी भेटे “ल काकी दर्सन गरे । लौ न नि ! कत्रो भारी लियेर आउनु भएको खेत बाट हो ? साझ परि सक्यो घरमा पनि कोही हुनुहन्न् कि के हो बत्ती पनि बलेको छैन त ?” मैले जबाफ नआउदै तिन प्रश्न एकै चोटी सोधे ।

टाउको माथीको बरियो अलि माथी सारेर म तिर फर्केर मुसुक्क हास्दै काकीले जबाफ दिनु भयो “ए नानी आइ पुग्यौ ? भाग्यमानी हुनु, हेरन छोरी खेतमा मकै रोपेको छ । माटोमा गेडो हाले देखी बादर र सुगाँले दुख दिएर, बिहान उज्यालो भए देखी साझ नपरे सम्म उही बस्न पर्छ । अझ साँझ बत्ती गर्न अलि छिटो आकी म, काका त उही हुनुहुन्छ ।” “अनी काकी भाई खोइ त ? आयो होला नी सहर बाट ? सबै तिर बन्द भाको छ अ‍ैले त !” मैले यती भन्न साथ काकीको मुहारमा एक्कासी बादल लागे जस्तै अध्यारो भयो– “नानी उस्लाई के छ र ! बित्दो न गल्दो बिहान खाना खायेर साथी सँग हिडेको आउला नि खाना खाने बेलामा” यति भन्दै काकी गोठ तिर पस्नु भयो ।

म पनि आफ्नै घर तिर लागे निकै पछिको आमाको हातको खाना साह्रै मिठो भयो । केही समय पछिको पारिवारीक भलाकुसारी पश्चात् म आफ्नो कोठा तिर सुत्न भनेर के गएको थिए । एक्कासी पल्लो घरबाट काकीको आबाज आयो “ए बाबु आइजो न एक गाँस तातो खाना खाएर सुत । आज मासु ल्याउन भ्याइएन साग बनाएको छु । तलाई नै भनेर कुरेर बसेको” काकीको शब्दमा ममताको भाब झल्कीरहेको थियो । “खान्न भनेको सुन्नु भएन ? कस्ले खान्छ त्यो साग संग मात्रै भात ? आजभोली मलाई खुब हेप्न थाल्नु भाको छ सबै देखीराको छु मैले ।

मलाई बाइक ल्याइदिनु भनेको कती भयो ?” भित्रबाट भाई बोलेको आबाज सुनियो । यती नभन्दै काकाले पनि बोल्नु भयो “किन भात खान प¥यो यस्ले गाँजा चुरोट र रक्सीले टन्न भाको हुदै होला । तिमीलाई मैले अघिनै खाउ त भनेकै थिए नि ! खुब बाइक किन्ने भाको, तेरो बाउको लाखौ लाखको कमाई छ याहा ? गर्नु केही होइन अनेक केटाहरु जम्मा भयो खोल्सीमा बस्यो” काकाको यती कुरा नसकिदै मलाई अघि बाटोमा बसेको ग्याङ्गको याद आयो र झनै ढुकढुकी बढ्यो ।

त्यतीकैमा फेरी भाईले जबाफ फर्काइहाल्यो “किन दुख गर्नु त ! भनेकै छु नी खेत बेचिदिउ अनि बाइक किन्न नि पुग्छ, चामल किनेर खान नि” आज आफैले दुख गर्दा त यस्तो छ तेरो हबिगत, भोली लगेर फुटपातमा मागेर खाने बनाउने सोच्या होला” काकाले नि जबाफ फर्काउनु भयो । छोरा जन्माए पछि रहर पुरा गरिदिन नसक्ने ले के बाउ आमा बन्नु । जन्माए पछी खान लाउन र रहर पु¥याउनु पर्छ भन्ने थाहा थिएन यस्तै यस्तै शब्दहरु निकै बेर सम्म गुञ्जिरह्यो । काका भने मुर्ख संग के बोल्नु भनेर हो या शब्दको बाणले हो निशब्द नै रहनु भयो ।

मेरो मनमा भने अघीको सबाल जबाफ काकी संगको भेट र बाटोमा अपरिचित ग्याङ्गको तस्बिरहरु घुमिरहेको थियो । बिहे गरेको दश बर्षमा सप्ताह लगाएर जन्मिएको छोरो सधैभरी काखमा राखेर, के गर्दा खुसी हुन्छ भन्दै हुर्काएका दिनहरु झलझलि मानसपटलमा आउन थाले । काकाले सानोमा धेरै दुख भएर पढ्न नपाएको र त्यही छोरोलाई पढाई बिद्धान बनाउने सपना देख्नुहुन्थ्यो । आफैँ खेती किसानी भएपनि कहिल्यै काममा लगाउनु भएन, आफू पिठो आटो खाएको दिन उस्को लागि छुट्टै भान्सा हुन्थ्यो ।

अहिले कति सजिलै दिन्छ अब्यबहारिक उत्तरहरु, कति सजिलै भत्काइदिन्छ बर्षौ देखीको सपनाहरु । आज घर बाट निस्कीएको छोरो फर्केर नआए सम्म कसैले मारिदिने हुन या पुलिसले समातेर लैजाने हो डर र भयले घर गरिरहन्छ केही नभए पनि बेलुका आएर झगडा गर्ने त रुटिङ्ग नै बनेको छ । बुढेसकालको सहारा र मृल्यु पश्चात कर्म गरिदिन्छ भन्ने छोरोले स्वयम् दुख पिडा र अशान्ती गराई मृत्यु निम्त्याउने कारण बनि रहेको छ ।

यो त एउटा प्रतिनिधी पात्र मात्र हो । आजभोली यो लकडाउनले गर्दा फुर्सद भएका युवा जनशक्तीहरु धेरै बिग्रीरहेको देखिन्छ । गाँउमा लकडाउनको खासै कडाइ नभएकोले चोक चोकमा जमात भई क्यारिम्बोर्ड, तास र जुवा खल्ने, लागु पर्दाथ सेवन गर्ने र नकारात्मक क्रियाकलापहरुले गाँउ समाजमा बिकृती बढी हत्या, हिंसा बलत्कार, चोरी डकैती र कलह जस्तो सामाजिक अपराधहरु बढीरहेको छ । आम नागरिकहरुलाई स्वतन्त्र भई हिड्ने बातावरण नै छैन भने राज्यले ठुलो शक्ती गुमाउनु परेको छ ।

  • लेखिका सरिता कार्की सामाजिक गैह्रसरकारि संस्था मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीमा लेखा अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मिति : ६ असार २०७८, आईतवार १३:१८

प्रतिक्रिया दिनुहोस्