गुणस्तरहिन काम रहेछ भने जस्तोसुकै सजाय भोग्न तयार छु: बम्जन

सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिका १० लखिमा देखि वडा नं. १३ को ठाकुर दमारसम्म जोड्ने निर्माणाधिन कृषि सडकको चर्चा यतिबेला समाचार संस्थाहरुमा भन्दा सामाजिक संजालमा धेरै छ । गत बुधबार आएको अविरल वर्षातले क्षेती पुगेपछि उक्त सडकको बारेमा यतिबेला सामाजिक सञ्जालमा सकारात्मक भन्दा नकारात्मक चर्चा चुलिएको हो । 

केहि अनलाइनहरुले ठेगेदार कम्पनिले गुणस्तरहिन काम गरेको भन्दै ब्यक्तिगत रुपमा चरित्रहत्या गर्ने किसिमले स्टाटस र फोटोहरु हालेका छन । १७ किलोमिटरको सडकमा अविरल वर्षाका कारण ५ सय मिटर सडक भत्किएको छ । केहिले प्राकृतिक विपत्तिलाई देखाएर ठेकेदार कम्पनि उम्किन नपाउने भन्दै विरोध जनाएका छन् ।

तर ठेकेदार कम्पनिले भत्किएको सडक यथावत् राखेर भाग्ने भन्ने कुनै सम्भावना नै छैन । किनभने, सडक निर्माण भएको तीन वर्षसम्म ठेकेदार कम्पनिले मर्मत गर्नुपर्ने सम्झौतामै उल्लेख छ र ठेकेदार कम्पनिले बिग्रीएको सडक बनाउनका लागी आइतबार नै निर्माण र मर्मतको काम शुरु गरिसकेको छ ।

ठेकेदार कम्पनिका संचालक छेत्र बम्जनले भने, ‘भौतिक संरचना गुणस्तरहिन हुँदा विरोध जनाउनु ठिकै हो । तर, भत्किएको यो सडक खण्डको वास्तविकता नै नबुझि विरोध हुदैँ आएकोमा दु:ख लागेको छ ।’ सडक निर्माण भएको छोटो समयमै संचालनमा आउँदा पिच सेट नभएको र बाढीले पिच उप्किएकोे बम्जनले बताए । सडकको छेउमा पानी बग्ने तर्फ नाला बनाइएको छ ।

अर्को तर्फ भने नाला बनाइएको छैन । पानीको बहाव ठूलो भएकाले अर्कोतर्फ सडक भत्किएको हो । सडक गुणस्तरीयताको सवालमा प्राविधिकले अनुसन्धान गरेर समस्या के हो बताउनेनै छन् । तर, केहि संचारकर्मी लगायत विरोध जनाउनेहरुले एकोहोरो ठेकेदार कम्पनिको विरोध गर्दा द्वेषको भाव देखिएको छ,’संचालक बम्जनले भने ।’

आइतबार जिल्लाका पत्रकार, अख्तियारको अनुगमन टोली लगायतले सडकको निरिक्षण गरेका थिए । यता, एक अनलाईन मिडियाले भने पत्रकारहरुलाई जाँडपार्टीमा समावेश गराएको समाचार सम्प्रेषण गर्यो । अनुगमनमा गएको संचारकर्मीलाई दोष लगाउँदा उक्त अनलाईनले आचारसंहिता उल्लंघन गरेको स्पष्ट बुझ्न सकिन्छ ।

पत्रकारहरुको तस्बिर सार्वजनिक गर्दै उक्त समाचार सम्प्रेषण गरेपछि महिला संचारकर्मीहरुले चित्त दुखाएकि छिन । अनुगमनमा सहभागी एक महिला संचारकर्मिले भनिन्, “निरिक्षण गरेर आएपछि फोन आएको आएकै छ । बिहानै ह्याङओभर हट्यो भन्दै फोन गरिरहेका छन् । हुदैँ नभएको कुरालाई बंग्याएर चरित्र हत्या गरिएको छ ।”

यता, सामाजिक सञ्जालमा हल्ला फैलिए जस्तो गुणस्तरहिन काम नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सडक अबिरल वर्षा सँगै आएको बाढिले बगाएको अख्तियारको अनुगमन टोलीले जनाएको छ ।

सिन्धुलीको दुधौलि नगरपालिका वडा नं. १० लखिमादेखि वडा नं. १३ ठाकुर दमारसम्मको १७ किलोमिटर सडकको कामीटार स्थित ५ सय मिटर सडक अविरल वर्षाका कारण आएको बाढीले पूर्ण रुपमा ध्वस्त भएपछि सामाजिक सञ्जालमार्फत चौतर्फी आलोचना भएपछि अख्तियारसहितको टोली आइतबार उक्त स्थानमा अनुगमनका लागि पुगेको थियो ।

सोही सडकको विषयमा सामाजिक सञ्जालमा ठेकेदारको लापरबाहिको कारण सडक भत्किएको र बाढीले बगाएको आरोप लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह–न्यायाधिवक्ता रामकुमार थापाले उक्त सडक सामाजिक संजालमा हल्ला फैलाएझै गुणस्तरहिन काम नभएको उल्लेख गरे ।

सडक सम्झौता र मापदण्ड अनुसार नै निर्माण भएको रहेछ तर प्राकृतिक विपत्तिले ध्वस्त पारेकाले कानूनी र प्राबिधिक प्रक्रिया अनुरुप पुष्टि गरिने सह-न्यायाधीबक्ता थापाले बताए ।

यता स्थानीयहरु भने वर्षौँपछि गाउँमा सवारी पुग्दा खुसी भएको जनाउदै प्राकृतिक विपत्तिले सडक अबरुद्ध हुदा अत्यन्त दुखलागेको बताउछन । स्थानीय वर्ण बल भन्छन, ‘१६ गते बेलुकाको जस्तो अबिरल वर्षा २०४१ सालमा मात्रै परेको थियो त्यो यता परेको थिएन । “१६ गते राति एक्कासी अत्यधिक अबिरल वर्षा भयो ।

एक्कासी पाखाहरु सुसाएर आयो । सडकको एउटा मात्रै नाला भएकाले पानि थाम्न नसकेर पानि सडकमा बग्न लाग्यो । तीनवटा खहरे यति बलवान भएर आयो कि सडकमा लाएको जालि धरि च्यातियो । हेर्दाहेदै सडक भत्कियो । सडकको छेउछेउमा खोलिन थाले अनि सडक धुजाधुजा भयो” स्थानीय बलले भने ।

धन्न उक्त खहरे बीचबाट बाटो खोलेर अरुण खोलामा गएर मिसियो नभए आधि घण्टासम्म त्यै स्तरमै पानि परेको भए पाखै बगाएर लग्ने थियो उहाँले थप्नुभयो । यता पूर्वाधार विकास विभागका मातहत सडकको नियमन गरेका इन्जिनियर राजेन्द्र भण्डारीले तोकिएको मापदण्ड अनुसार नै सडक बनेको दाबी गरेका छन ।

निर्माण सम्पन्न भएको तीन वर्षसम्म कुनै समस्या आए मर्मतसम्भार गर्नुपर्ने सम्झौता भएकाले अहिलेको क्षति निर्माण कम्पनीले नै बेहोर्ने उहाँले बताए । “३० एमएमको पिच गरेको भए पनि खोलामा आएको बाढीले त्यहाँ हालिएको ह्युम पाइप टालिएर पानी सडकमा आयो र त्यसले बाटो बिगारेको हो,” भण्डारीले भने ।

उक्त कृषि सडक करिब २ वर्ष अघि स्थानीय पूर्वाधार विकास तथा कृषि सकड विभाग डोलिडार अन्तरगतको ग्रामीण सञ्जाल सुधार आयोजना र पिसिआई कन्काई जेभि काडमाडौंबीच २६ करोड ३१ लाखमा ठेक्का सम्झौता भएको थियो । सडकको लम्बाई ५ मिटर २५ सेन्टिमिटर, एकतर्फ मात्र नाला रहको छ । १० वर्षअघि कृषि सडकको डिपिआर गरिएको थियो ।

यता उक्त सडक ठेक्का पाएको सब कन्ट्याक्टर इमानुयल कन्ट्रक्सनका डाइरेक्टर डिबि बम्जनले स्थलगत भ्रमण नगरी सामाजिक सञ्जालमा नकरात्मक सन्देश फैलाएको भन्दै दुःख व्यक्त गरेका छन । सत्यतथ्य नबुझी सडक निर्माणमा पनि राजनीति मिसाएको उनले बताए ।

उनले भने यदि “प्राबिधिक रुपमा सडक निर्माणको क्रममा गुणस्तरहिन पुष्टि भए कानूनी रुपमा सजाय भोग्न तयार रहेका छौँ । तर सामाजिक सञ्जालमा भेटिएको फोटोको भरमा जथाभाबि लेख्नु कानून विपरित रहेको छ ।”

दुधौली नगरपालिका वडा नं. १३ का अध्यक्ष मिलन कुमार सुनुवारले सडक निर्माणमा कुनै त्रुटी नभएको तर अविरल वर्षाका कारण सडक बगाएको बताए । उनले सडक निर्माणका लागि मापदण्ड अनुसारकै सामग्री प्रयोग भएको र समय समयमा गरिएको अनुगमनका क्रममा पनि त्रुटी नपाईएको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०७:१५

प्रतिक्रिया दिनुहोस्