काङ्ग्रेसको नेतृत्व कसरी चुनिन्छ ? यस्तो छ बैधानिक प्राबधान

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको नेतृत्व चयनका लागि भदौ १६–१९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने भएको छ । महाधिवेशनमा नेतृत्वको दौडमा रहेका नेताहरूले सक्रियता देखाउन थालेका छन् ।

नेतृत्वको दौड सँगसँगै पार्टीमा क्रियाशील सदस्यता विवाद देखिएको छ । पार्टीमा क्रियाशील हुन चाहनेलाई सदस्यता दिन किन विवाद ?

images
images

क्रियाशील सदस्य संख्या नै पार्टी नेतृत्व चयनमा निर्णायक हुने भएकाले आ–आफ्नो पक्षका बढी क्रियाशील सदस्य बनाउन पार्टीमा विवाद हुने गरेको छ । पार्टी महाधिवेशनको आधारभूत तह भनेकै क्रियाशील सदस्य हुन् ।

देशभर रहेका कांग्रेसका क्रियाशील सदस्य वडा अधिवेशनमा भेला हुन्छन् । कांग्रेसले आगामी साउन १२ गते वडा अधिवेशन तोकेको छ ।

वडा अधिवेशनबाट क्रियाशील सदस्यले मतदान गरी प्रदेशसभा क्षेत्रको अधिवेशनका लागि प्रतिनिधि छान्ने व्यवस्था पार्टीको विधानमा छ । क्रियाशील सदस्यहरू मध्येबाट नै उम्मेदवार भएर क्षेत्रीय प्रतिनिधि चयन गर्दा समावेशी प्रणालीलाई अबलम्बन गर्नुपर्ने हुन्छ ।

वडाबाट प्रत्यक्ष चुनिने हरेक ९ जनामा कम्तीमा ३ जना महिला हुनुपर्ने, १५० जनाभन्दा बढी क्रियाशील सदस्य रहेको वडाबाट प्रति १०० क्रियाशील सदस्य बराबर ६ जना थप्न सकिने व्यवस्था रहेको छ । त्यसअनुसार क्रियाशील सदस्यता १५० भन्दा बढी भएको वडाबाट क्षेत्रीय प्रतिनिधिका लागि १६ जना निर्वाचित हुने गरेका छन् ।

वडा सभापति प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि पदेन प्रतिनिधि हुने भएकाले १६ जना प्रतिनिधि कायम हुने गरेका छन् । यसमध्ये जनसंख्याको बनोटको आधारमा दुईतिहाइ संख्या समानुपातिक आधारमा छनोट गर्नुपर्छ । आगामी साउन २० गते क्षेत्रीय अधिवेशन हुने तय भएको छ ।

प्रदेशसभा क्षेत्रबाट छानिएका प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनमा भाग लिनेछन् । प्रदेशसभा क्षेत्रबाट प्रतिनिधि छनोट गर्दा खुलाबाट १० जनामध्ये ३ जना महिला अनिवार्य राखिएको छ । ६ जना समानुपातिक आधारमा छनोट हुने व्यवस्था रहेको छ । प्रदेशसभा निर्वाचन क्षेत्रको सभापति पदेन प्रतिनिधि हुने व्यवस्था समेत छ । यसरी प्रदेशसभा निर्वाचन क्षेत्रबाट १७ जनाले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा भाग लिन पाउने छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मात्रै भएको जिल्लामा  साउन २३ गते र १ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते जिल्ला अधिवेशन हुनेछ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुने अधिवेशनले नै केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छान्ने छ र तिनै प्रतिनिधिले सभापति लगायत केन्द्रीय कार्यसमितिका उम्मेदवारलाई मतदानबाट चयन गर्नेछन् ।

प्रत्येक प्रतिनिधिसभा क्षेत्र बराबर केन्द्रीय महाधिवेशनमा २५ जना प्रतिनिधि छानिने व्यवस्था रहेको छ । तीमध्ये १४ जना खुला प्रतिस्पर्धीबाट आउने छन्, जसमध्ये ४ जना महिला अनिवार्य गरिएको छ । १० जना समानुपातिक प्रतिनिधित्वको आधारमा छनोट हुनेछन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सभापति केन्द्रीय महाधिवेशनका लागि पदेन सदस्य रहने व्यवस्था विधानमा रहेको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेको व्यक्ति प्रादेशिक अधिवेशनको पनि प्रतिनिधि हुने प्रावधान रहेको छ । प्रादेशिक अधिवेशनका लागि चयन भएको प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधिको पदमा उम्मेदवार बने प्रदेश प्रतिनिधि स्वतः रद्द हुने व्यवस्था समेत छ । संघीयता पश्चात् प्रादेशिक संरचनाको अभ्यास कांग्रेसमा पहिलोपटक सुरू हुँदैछ । प्रदेश अधिवेशन भदौ १ र २ गते हुने गरी निर्धारण गरिएको छ । 

केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनका लागि क्रियाशील सदस्यता प्राप्त गरेको ४ वर्ष हुनुपर्ने प्रावधान छ । प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । 

प्रदेशभित्रका जिल्ला सभापति प्रादेशिक अधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउने हुन्छन् । भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू प्रादेशिक अधिवेशनमा प्रतिनिधि बने पनि उम्मेदवार हुन नपाउने व्यवस्था रहेको छ ।

विधान अनुसार केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन हुनुभन्दा १ वर्षअघि नै स्थानीय तहका अधिवेशन सकिसक्नुपर्ने प्रावधान छ । प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन हुनुभन्दा ३ महिना पहिले गरिसक्नुपर्ने हुन्छ । तर क्रियाशील सदस्यतामै विवाद हुँदा विधानको व्यवस्था कागजमै सीमित रहेको छ ।

यसपालि केन्द्रीय महाधिवेशन हुनु १ महिनाअघि मात्रै स्थानीय तहको अधिवेशन सुरू गरिने भएको छ । विदेशस्थित जनसम्पर्क समितिबाट क्रियाशील सदस्यताको संख्याका आधारमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेको छ ।

१०० क्रियाशील सदस्यता रहेको देशबाट जनसम्पर्क समितिको अध्यक्ष मात्रै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ । ५०० भन्दा बढी क्रियाशील सदस्यता भएका देशबाट अध्यक्षसहित ७ जनाले प्रतिनिधित्व गर्ने पाउने छन् । २ हजारभन्दा बढी क्रियाशील सदस्य भएको देशबाट १४ जनाले केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने छन् ।

क्रियाशील सदस्यता २ हजारभन्दा बढी भएको अवस्थामा १४ जनाभन्दा बढी प्रतिनिधि छान्न पाइने छैन । क्रियाशील सदस्यबाट पार्टी सभापतिले बढीमा ४० जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधि मनोनित गर्न पाउने प्रावधान समेत छ । मनोनित संख्या समावेशी आधारमा हुनुपर्ने व्यवस्था छ ।

भातृ तथा शुभेच्छुक संस्थाले आफ्नो संगठनबाट पनि प्रतिनिधि चयन गर्ने व्यवस्था रहेको छ । महिला संघ, तरुण दल, नेविसंघ, प्रजातान्त्रिक सेनानी संघ, किसान संघ, दलित संघ, नेपाल तामाङ संघ, नेपाल मगर संघबाट अध्यक्षसहित ५ जनाले महाधिवेशनमा प्रतिनिधि बन्न पाउने छन् । नेपाल शिक्षक संघबाट ७ जना प्रतिनिधि हुने व्यवस्था रहेको छ । प्रेस युनियनबाट ५ जना र ट्रेड युनियन कांग्रेसबाट ११ जना प्रतिनिधि हुने व्यवस्था रहेको छ ।

पेशागत शुभेच्छुक संस्था प्रत्येकबाट ५ जना प्रतिनिधि केन्द्रीय महाधिवेशनमा सहभागी हुन पाउने छन् । आदिवासी जनजातिसँग सम्बन्धित संगठनले ११/११ जना प्रतिनिधि पठाउन पाउने छन् । यसरी कांग्रेसको आगामी महाधिवेशन प्रतिनिधि ४ हजार ५०० हाराहारीमा पुग्ने अनुमान रहेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार ०८:००

प्रतिक्रिया दिनुहोस्