सिट्रस ग्रिनिङ रोग विरुद्धको अभियानमा सिन्धुली

सिन्धुली – सुन्तला जातका फलफूलमा सिट्रस ग्रिनिङ रोगको प्रकोप बढेर जुनार, सुन्तलाका बगैंचा नै नासिँदै गएपछी सिन्धुलीका कृषि मातहत तथा सरोकार निकायहरु उक्त रोग बिरुद्धको अभियानमा जुटेका छन ।

जुनार र सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको सिन्धुलीमा सिट्रस ग्रिनिङ (बोट सुकेर मर्ने) रोगको कारण बगैंचा सखाप हुँदै गएपछि उक्त अभियान शुरु गरिएको हो ।

यस अभियानको सन्दर्भमा जिल्लाको गोलन्जोर गाउँपालिकाले गएको २६ गते एक बिज्ञप्ति मार्फत गोलन्जोर क्षेत्रमा जुनार लगायत सुन्तलाजात फलफुलका बिरुवा तथा फल बाहिरबाट ल्याउन पुर्णरुपमा निषेध गरिएको जनाएको छ ।

साथै पालिकाले कोहि कसैले ल्याएको पाएमा सामान जफत गरि नियम कानुन बमोजिम कारबाही हुनेमा समेत स्थानियलाई सचेत गराएको छ ।

यस्तै सिट्रस ग्रिनिङ (बोट सुकेर मर्ने) रोगको बिरुद्धको अभियानमा कृषि ज्ञान केन्द्र सिन्धुली र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ सिन्धुलीले मंगलबार सरोकारवालाहरु संग बिषादी न्यूनीकरण जिल्ला स्तरिय गोष्ठी संचालन गरेको छ ।

उक्त गोष्ठीमा सिन्धुली र रामेछापका जुनार कृषक तथा सरिकार निकायका पदाधिकारी संग सिट्रस ग्रीनिङ रोगका बिज्ञ भैरबराज कैनीले सहजिकरण गरेका थिए । बिज्ञ कैनिका अनुसार यो रोग लागेपछि बिरुवा नबढ्ने पातको नसा बाहेक सबै भागहरु पहेलो हुने, फल सानो हुने तथा पाक्नु अगावै झर्ने लक्षणहरु देखिन्छन ।

फलको बोक्रा बाक्लो हुने, रोगि बोटका हाँगाहरु टुप्पाबाट तलतिर मर्दे जाने गरेमा यो रोगको नियन्त्रणमा लाग्नुपर्ने सरोकारवालाहरुलाइ विज्ञले सचेत गराए । उनको अनुसार यो रोग लागेको पुष्ठि भएको अवस्थामा रोगि बोटहरु हटाउने तथा रोग लाग्नबाट बचाउन सिट्रस सिल्ला नामक किरालाइ नियन्त्रण गर्नु पर्ने उनको भनाइ छ ।

किराको प्रकोप देखिनसाथ दैहिक विषादी रोगर १ – २ एम.एल. प्रति लिटर पानीका दरले फागुन देखि जेठसम्म १५ दिनको फरकमा छरी सिट्रस सिल्लालाई नियन्त्रण गर्नु पर्ने र रोग लाग्नै नदिन कलमी बिरुवा उत्पादन गर्दा रोगमुक्त बोटबाट मात्र सायन निकाली कलमी गर्नु उपयुक्त हुने उनले बताए ।

सिट्रस ग्रिनिङ रोगका कारण बगैंचा सखाप हुँदै गए पछि खासगरी जिल्लाको गोलन्जोर, सुनकोसी, फिक्कल गाउँपालिकाका जुनार किसान चिन्तित छन । ‘यो रोगलाई बेलैमा नियन्त्रण गर्न नसके जुनार, सुन्तला देख्नै नपाइने अवस्था पनि आउन सक्छ,’केन्द्रीय जुनार संघका अध्यक्ष दीपक कोइरालाले बताए ।’

बगैंचामा पुराना र नयाँ बोट दुवैमा रोग लागेको छ । संघले गोलन्जोरको चिसापानी, नाकाजोली, माख्लो आलेगाउँ, तल्लो आलेगाउँ, माझकुबिन्डे, ओख्ले, खोक्लिङ, नयाँखर्कका १ सय १० किसानका जुनार, सुन्तलाका बगैंचाबाट रोगको लक्षणका आधारमा ६ सय २५ नमुना परीक्षण गर्दा ६ सय २० वटामा यो रोग पुष्टि भएको उनले जानकारी दिए ।

झन्डै शतप्रतिशत नै जुनार, सुन्तलाको बोटमा सिट्रस ग्रिनिङ रोग फेला परेकाले अवस्था भयावह रहेको पुष्टि हुने जुनार विकास संघका अध्यक्ष कर्णबहादुर आले बताउँछन् ।

‘फल दिन लागेको एक वर्षमै रोगले बोटहरू सुकेर खंग्रङ्ग हुने गरेको बताउदै जुनार बिकास संघ सिन्धुलीका निबर्तमान अध्यक्ष तिलकबहादुर थापाले भने, ‘पछिल्लो २ वर्षमा गोलन्जोर–५ नयाँखर्कका किसान रामबहादुर बरालको बगैंचामा भएका जुनारका ५ सय बोटमध्ये अब एक सयको हाराहारीमा मात्र बाँकी छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनबाट अनुदानमा वितरण गरिएको संक्रमित बिरुवाका कारण रोग छिटो फैलिएको किसानको आरोप छ । नर्सरीबाट नै रोगले ग्रसित बिरुवा अनुदानमा वितरण भएकाले बगैंचाहरूमा रोग चाँडो फैलिएको अध्यक्ष कोइरालाले दाबी छ ।

सुपर जोनका प्रमुख देवराज अधिकारी सिट्रस ग्रिनिङ रोग तीव्र फैलिएको बताउँछन् । ‘यसको व्यवस्थापनका लागि विश्वमै विभिन्न परीक्षण भइरहेका छन् । अझै सही विधि पत्ता लागेको छैन,’ उनले भने, ‘हाललाई रोग अन्यत्र फैलन नदिन संक्रमित सुन्तला जातका फलफूलको बोट नष्ट गर्नु नै बुद्धिमानी हुन्छ ।’

सुपर जोनका प्राविधिकको सल्लाहमा रोग लागेका बोटहरू धमाधम नष्ट गरिरहेको किसानहरूले बताए । तर कति मात्रामा क्षति पुगेको भन्नेबारे भने यकिन तथ्यांक आइनसकेको अधिकारीले बताए ।

उनका अनुसार सिन्धुलीमा १ हजार ३ सय ८५ हेक्टर क्षेत्रफलमा जुनार खेती हुन्छ । यो वर्ष विस्तार भएको ४५ हेक्टरसहित ७ सय ५० हेक्टरमा गरिएको जुनार खेतीबाट किसानले प्रत्यक्ष आम्दानी लिने अनुमान थियो । तर करिब ४ सय हेक्टरमा लगाइएको जुनार, सुन्तलाका बोट नै सुकेको आकलन छ । जुनार खेतीमा ५ हजार किसान आबद्ध छन् ।

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार ०१:५६

प्रतिक्रिया दिनुहोस्