देशको भिताहरुमा ३८ बर्षदेखी लेखिदैमेटिदै गरेको ‘खोज’

जीवनको १०३ औं वसन्त पार गरेका ‘खोज’ अभियन्ता भिमबहादुर थापा अर्थात (खोज बा) को बुधबार राती निधन भएको छ । उहाँले २०३५ सालदेखी देशको सबै जिल्लामा ‘खोज’ अभियान चलाउनु भयो ।

हरेक जिल्लाको बाटो, भित्ता, पाखोबारी र राजमार्ग जताततै ‘खोज’ लेख्दै हिँडेका भीम थापाको खोज अभियान संगै एउटा जीवन जिउने अभियानको पनि पुर्णबिराम लागेको छ । उहाँले १/२ बर्ष अघि भन्नुभएको थियो, ‘धेरै ठाउँ मैले लेखेको खोज मेटियो होला, मर्नुअघि फेरि मेटिएका ठाउँमा ‘खोज’ लेख्न चाहन्छु ।

म सय वर्ष नपुगी मर्दिनँ ।’ उहाँले लगातार ३८ वर्ष ठाउँ-ठाउँमा खोज लेख्दै हिँड्नुभयो । स्वर्गीय थापाले पञ्चायतविरुद्धको बहुदलवादी र माओवादीको नाममा केही समय जेलजिबन समेत भोग्नुभयो । तर, न उहाँ आफ्नो जिबनकालमा कुनै बहुदलवादी नै हुनुहुन्थ्यो न माओवादी नै । उहाँको उद्देश्य मात्र ‘खोज’ थियो ।

त्यसैले थुनामुक्त हुनासाथ थापा आफ्नो कर्ममा लाग्नुहुन्थ्यो। यसरी लेख्दै हिँड्दा धेरैले उहाँलाई मनस्थिति बिग्रीएको भन्थे भने कत्तिले माग्ने भनेर पैसा दिन्थे । ‘म न त पागल हुँ, न त माग्ने, म त चेतना जगाउने मान्छे हुँ ।’ उहाँसंगको कुराकानीमा उमेरदारझैं कड्किँदै भन्नुहुन्थ्यो, ‘मानिसहरूले आफू को हुँ भन्ने कुरा बिर्सिए, त्यसैले उनीहरूलाई जगाउन खोज लेख्न थालेको हुँ ।’

सिन्धुलीको सामान्य किसान परिवारमा जन्मिनुभएका भीम थापाले दुई-चार अक्षर चिनेपछि विवाह गर्नुभयो । सात सन्तानको पिता हुन उहाँ । आफ्ना सबै सन्तानलाई आफ्नो खुट्टामा उभिने बनाइदिइ सकेपछी एक रात सुतिरहेका बेला उहाँले आफैंसँग प्रश्न गर्नुभयो, ‘अब मेरो जिम्मेवारी सकियो त ? यो पृथ्वीमा म किन आएँ ? सन्तान जन्माउन र उनीहरूलाई आफ्नो खुट्टामा उभ्याउन मात्र ?

‘मनले भन्यो, खोज । तँ किन जन्मिइस्, यी सारा मानिस के गरिरहेका छन्, जीवनको उद्देश्य के हो ? सबै खोज । खोज गरेपछि सबै कुरा पत्ता लाग्छ ।’

त्यसपछि सारा सम्पत्ति र व्यवहार सन्तानको जिम्मा लगाएर उहाँ देशभर खोज्न निस्किनुभयो । यसरी निस्कँदा उहाँले झोलामा गाईको गोबर र केही रंग बोक्नुभएको थियो । अनि त्यही गोबर र रंगले खोज लेख्न थाल्नुभयो । जब उहाँ खोज्न सक्नुहुन्नथ्यो, त्यतिबेला पीडाले आफै खोज लेख्नुहुन्थ्यो ।

खोज लेख्दा-लेख्दा कति गोबर सकियो, कति मसी र चक सकियो, उहाँले त्यसको हिसाब गर्नुभएको छैन । ‘त्यो पनि खोजेपछि मात्र थाहा हुन्छ ।’ भीम थापाले भन्नुभयो, ‘जीवनका गर्‍हुँगा प्रश्न एकातिर छन्, मान्छे यस्तै स-साना कुरा खोज गर्छन्, खोजेपछि सबै थाहा हुन्छ ।’ ३८ वर्ष खोजेपछि उहाँले केही निष्कर्ष निकाल्नुभयो ।

उहाँले भन्नुभयो, ‘खोज भनेको जीवनको खोज हो । हरेक मान्छे केही न केही खोजिरहेको छ । कसैले भेटेको छैन, भेट्न पनि सक्दैन ।’ त्यसो त खोज्ने क्रममा उहाँले थाहा पाँउनुभयो— मान्छेले बसेर खानु हुँदैन, केही न केही गर्नैपर्छ । राजनीति र धर्म सबै नाटक हुन् । पृथ्वीमा कोही गरिब, कोही धनी हुँदैन । ईश्वरले सबैलाई एउटै बनाएर पठाएका हुन्, तर यी नाटक गर्नेले देहलाई मानिसहरूको शोषण गर्ने माध्यम बनाए, राजनीति गर्ने थलो बनाए । तेरो र मेरो भनेर पर्खाल खडा गरे ।

‘म यस्ता वाहियत कुराको विरोधमा छु । सबै नाटक पो रहेछ ।’ बूढो ज्यानमा जवान स्वर उराल्दै थापाले भन्नुभयो, ‘उमेर र ज्यान ठीक भएको भए यिनका अत्याचारविरुद्ध अझै आवाज उठाउँथे, तैपनि जति सक्छु, गरिरहेको छु ।’

उहाँले खोजका सम्बन्धमा लामो व्याख्या गर्नुहुन्थ्यो । जसरी देशभरका टोलटोलमा ‘खोज’ छ त्यसैगरी उहाँसंग खोज बारे पर्याप्त बुझाइ पनि थियो । उहाँको विचारमा संसारमा जति भौतिक प्रगति भएको छ, सबै खोजकै परिणाम हो ।

राम्रा मान्छेले राम्रै खोज गरेर मानिसहरूलाई सुख दिए । गलत मान्छेले नराम्रा कुरा खोजे, पाप र धर्मको व्याख्यान दिए र मानिसलाई दास बनाए । ‘न त संसारमा धर्म भन्ने कुरा छ, न त पाप नै । धर्म भनेको राजनीति गर्ने र अत्याचार गर्ने थलो हो ।’

यस्तै कुरा गर्दागर्दै झल्यास्य ब्युझिए जसरी जुरुक्क उठ्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘यहाँ कुरा गरिरहनुभन्दा कतै गएर खोज लेख्नु राम्रो । धेरैभन्दा धेरै मानिसलाई खोजका सम्बन्धमा जानकारी गराउनु छ ।’

देशको हरेक चोक, चौतारा, टोलबस्तीहरुमा पुगेको ‘खोज’, मानिसको मनस्थितीमा पुग्यो पुगेन त्यो सायदै उहाँले मुल्यांकन गर्न पाउनुभएन । तर, साच्चिकै एउटा साधारण मान्छे आफ्नो जिबनभर केही खोज्दा खोज्दै, केही पाउदापाउदै र केही गुमाउदागुमाउदै अस्ताउदो रहेछ । ‘खोज बा’ तपाइको भौतिक शरीर यो संसारमाझ नरहेपनी खोज अभियानले निरन्तरता पावस । भाबपुर्ण श्रद्धाञ्जली !

✍️ पुष्कर थापा

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार ०१:५६

प्रतिक्रिया दिनुहोस्