सिन्धुली – राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको विशाल सामुदायिक वनमा वर र पिपलको बिरुवा रोपेर विहिवार चुरे दिवसको शुभारम्भ गर्नुभएको छ । सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित रानीबासमा राष्ट्रपति चुरे–तराई संरक्षण विकास समिति र नेपाली सेनाको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले संयुक्तरुपमा आयोजना गरेको आठौं चुरे दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ राष्ट्रपति भण्डारीले गर्नुभएको हो ।
चुरे दिवसको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले, ‘विभिन्न जातीका वन्यजन्तु, जडिबुटीजन्य वनस्पतिको खानी र तराई मधेस क्षेत्रमा सिचाईंका लागि आवश्यक पर्ने पानीको मुख्य स्रोत समेत चुरेमै भएकोले यसको समयमा उचित संरक्षण गर्न नसके तराई र भित्री मधेशकै भविष्य खतरामा पर्न सक्ने वताउनुृभयो।’
उहाँले चुरेको संरक्षणका लागि वातावरणीय प्रभाव अध्ययनविना प्राकृतिक स्रोतको उत्खनन् तथा सङकलन नगर्न आग्रह समेत गर्नुभयो । चुरे क्षेत्रमा जनसंख्या वृद्धि, बसाइ सराइ, भौतिक पूर्वाधार विकासका कारण सहरीकरण दिन प्रतिदिन बढिरहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले यस प्रकारको बृहत्तर वृक्षा रोपण कार्यक्रमले वन क्षेत्रको वृद्धि, जैविक विधिताको संरक्षण, कार्बन संचिति, भूसंरक्षण तथा पानीको स्रोतको वृद्धि गर्न तथा स्थानीय समुदायको जीविको पार्जनको अवसर सिर्जना गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो ।
राष्ट्रपति भण्डारीले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको चर्चा गर्दै चुरे क्षेत्रमा नवनिर्वाचित जनप्रतिनिधिलाई भावी पुस्ताको लागि बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित विकास गर्न आवश्यक रहेको औंल्याउनुभयो । सोहि समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चुरे विनासका अरबौं रुपैयाँ लगाएर बनाएका सडक र पुलमा जोखिममा परेको बताउनुभयो ।
चुरे विनासलाई रोक्न नसक्ने हो भने मधेस प्रदेशकै भविष्य खतरामा पर्ने भएकाले डोजर लगाएर सडक बनाउनेलाई मात्र विकास ठान्न नहुने बताउदै पाण्डेले तीनै तहको सरकारको संयुक्त प्रयासबाट मात्रै चुरे संरक्षण हुने धारणा राख्नुभयो । कार्यक्रममा वन तथा वातावरणमन्त्री रामसाय प्रसाद यादवले चुरे संरक्षण गर्न आउने दिनमा वृक्षा रोपण कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने बताकाछन् ।
उहाँले आउने वर्षसम्म मन्त्रालयको तीन करोड वृक्षा रोपण गर्ने योजना रहेको सुनाउँदै देशभरि नै यतिधेरै वृक्षा रोपण एकै दिन शुभारम्भ भएको इतिहासमा नै पहिलो पटक भएको स्पष्ट पार्नुभयो । चुरे एक कान्छो पर्वत हो । बालुवा, गिट्टी, माटो, ढुंगा र पत्रे चट्टान छिट्टै क्षयिकरण हुने कमलो भौगर्भिक बनावट हो । नेपालमा पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ वटा जिल्लामा झण्डै ८ सय किलोमिटर क्षेत्रमा फैलिएको र कुल भू–भागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ ।
चुरे श्रृंखला भित्र नदीले बनाएका केही खोंचहरु जस्तै सिन्धुलीको मरिण र कमला खोच, डडेलधुराको रङगुन उपत्यकाका साथै भित्री मधेसको दाङ, देउखुरी, सुर्खेत, चितवनको उपत्यकासमेत पर्दछन । करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो ।
नेपाल सरकारले आर्थिक वर्ष २०६६÷६७ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यन्वयनको सुरूवात गरेकोमा त्यसलाई अझ सशक्त ढङ्गले अघि बढाउनको लागि २०७१ असार २ गते राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन गरी नेपाल सरकारको मिति २०७४ को निर्णयानुसार गुरूयोजना स्वीकृत भइ सो अनुरूप कार्यक्रम कार्यान्वयन भइरहेको छ ।
विशाल उपभोक्त वन समूहमा १० हेक्टर जमिनमा मुख्यमन्त्री पाण्डे, वन तथा वातावरणमन्त्री यादव, बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथी सरोज प्रताप राणालगायतले वर, पिपल, आँप, कटहरलगायत १६ हजार बिरुवा रोपेका छन् ।