सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका -२ की राधिका कार्कीको हत्या प्रयास मुद्दामा आइतबार जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा राधिकाकी आमा अम्बिका कार्कीले जाहेरी दर्ता गराएकी हुन् ।
राधिकामाथि हत्या प्रयास भएकोबारे अनुसन्धान गरेर दोषीलाई कारबाहीको माग गरेर उनकी आमाले जाहेरी दिएको धनुषाका प्रहरी नायव उपरीक्ष (डीएसपी) प्रदीप क्षेत्रीले जानकारी दिए ।
तर, जाहेरीमा आरोपितको नाम भने किटान गरिएको छैन । पिडित राधिकाले आफूमाथि क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका अरूण साहले करेन्ट लगाएर ज्यान लिने प्रयास गरेको बताएकी थिइन् ।
प्रहरीकाअनुसार अब घटनाबारे अनुसन्धान सुरु हुने छ । प्रविधि, स्थानीय, आफन्त र साथीभाइको सहयोगमा अनुसन्धान गरेर वास्तविक दोषी पत्ता लगाइने प्रहरीले जनाएको छ । त्यसपछि पुनः किटानी जाहेरी दर्ता हुन सक्ने अथवा अनुसन्धानबाट दोषी देखिएको प्रतिवेदनको अधारमा पनि अदालतमा दोषीलाई बुझाउन सकिने छ ।
राधिकाले प्रेमी अरूण साहले ज्यान लिने प्रयास गरेको बताएकी थिइन् । अहिले उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ । आक्रमणबाट उनको पेट, हात र खुट्टामा असर पुगेको छ । शरीरको ३० प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।
हात र खुट्टाको औला काम गरेको छैन् । औँलाहरू काट्नुपर्ने चिकित्सकको सल्लाह छ । जलेको भागमा प्लास्टर गरिएको छ । दुवैजना जनकपुर थापा चोकस्थित कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरू आठ महिनादेखि सँगै रहेको पीडितको भनाइ छ । पीडित किशोरीकाअनुसार विवाह गरेर लैजान आफूले आग्रह गर्दा अरूणले नमानेपछि विवाद भएको हो ।
गोलन्जोर -२ स्थित राधिका कार्कीको यो दु:खद घटनाको खबर बाहिरिए पछि उक्त वडाका अध्यक्ष दौलत कार्कीले अस्पताल नै पुगेर बिस्तृत जानकारी लिएका छन । वडाको रोहबरमा घाइतेको उपचार हुने र दोशिलाइ कारबाहिको प्रक्रिया अघि बढाइने अध्यक्ष कार्कीले बताए ।
हामिले घाइतेलाई अन्य अस्पताल रिफर गरेर उपचार गराउन प्रेसर गर्यौ । जनकपुर गर्मी पनि भएकोले घाउ पाक्ने सम्भावनालाई हेरेर हामिले त्यो अनुरोध गरेका थियौं अध्यक्ष कार्किले भने तर पिडित राधिकाले अन्य अस्पताल नजाने बताइन । पिडितको न्यायको लागी वडा कार्यालयले सबै किसिमको संयोजन र भुमिका निर्वाह गर्ने अध्यक्ष कार्कीको भनाइ छ ।









