सिन्धुली – कृषि क्षेत्रको ब्यबस्थापन, उत्पादन र त्यसको बजारिकरणलाई पहिलो प्राथमिकतामा राख्दै सिन्धुलीको कमलामाइ नगरपालिकाले आर्थिक वर्ष २०७९–८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
“नगर उपप्रमुख संग कृषक भेटघाट” कार्यक्रम संचालन तथा बाली एम्बुलेन्स संचालन कार्यक्रमलाई सुरु गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
शुक्रबार भएको ११ औं नगरसभामा प्रस्तुत गरिएको कार्यक्रममा नगरक्षेत्रमा उत्पादन हुने भूइकठहर, रुखकटहर, केरा, कागती, लिची अदुवा जस्ता कृषी उत्पादन गर्ने किसानलाइ अनुदान दिनेगरी यसको बजारिकरणमा नगरपालिकाले सहयोग गर्ने योजना समावेश गरिएको छ ।
बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्राथमिकतासाथ कार्यान्वयन गरिने, सुकुम्बासी प्रमाणिकरण भैसकेकाका लागी जग्गा धनी पुर्जा बितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।नगरभित्रका सम्पुर्ण किसानलाई व्यावसायिक बनाउँदै कृषि उत्पादनलाई निर्यात गर्नेगरी योजना तर्जुमा गरिएको मेयर उपेन्द्रकुमार पिखरेलले नगरसभामा जानकारी दिनुभयो ।
कृषिलाई व्यवसायिकरण, बजारीकरण र विस्तारिकरणका लागि आवश्यक पर्ने सिंचाइ, शीतगृह, संकलन केन्द्र, सामुदायिक खेती तथा कृषि सञ्जालीकरण विकास गर्ने नीति लिइएको मेयर पोखरेलले जानकारी दिनुभयो ।
पशुपालनतर्फ नगरपालिकाले पशु बिमा र पशु सुत्केरी खर्चलाई कायम राख्ने, नगर क्षेत्रमा भैरहेको पशु जन्य उत्पादनलाइ प्रोत्साहन गर्ने जनाइएको छ । नगरभित्रका किसानहरुले लाभ लिनेगरी उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरिएको छ ।
स्वास्थ्यतर्फ सो नगरपालिकाले नगरभित्र बसोबास गर्ने विपन्न बर्गको निशुल्क स्वास्थ्य बिमा गर्ने गरि नगरप्रमुख बिपन्न स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने कार्यक्रम अघि सारिएको छ ।
नगरक्षेत्रमा एक ट्रमा सेन्टर स्थापना गरिने र नगरक्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुबाट प्रदान हुँदै आइरहेको ९८ प्रकारका औषधि निशुल्क उपलब्ध गराउने आगामी पाँच बर्षभित्र नगरपालिकालाई पोषणमैत्री नगर बनाउन बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
शिक्षातर्फ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार निर्माण र शिक्षक दरबन्दी मिलानलाई प्राथमिकता दिएको छ । नगरक्षेत्रभित्र संचालित औपचारिक तथा अनौपचारिक शिक्षण तथा सिकाइलाई थप प्रभाबकारि बनाउन स्वयंसेबि बिज्ञहरुको समूह गठन गर्ने र नगरक्षेत्रमा परिचालन गरिने नगरपालिकाले नीति लिएको छ ।
विद्यालयको पहुँचमा नभएकाबीचमै विद्यालय छाडेका बालबालिकालाई शिक्षा प्रदान गर्न विशेष प्रोत्सहान कार्यक्रम सञ्चालन, सामुदायिक विद्यालयमा बालमैत्री शिक्षण सिकाइ, शिक्षाको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गरी हरेक विद्यालयमा रहेका बालविकास केन्द्रलाई नमुनाको रुपमा सञ्चालन गरिने मेयर उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
पूर्वाधार विकासतर्फ नगरभित्रका साना सडकलाई मुख्य सडकसँग जोडेर चक्रपथ निर्माण तथा स्तरउन्नति, कमलामाइ नगरपालिका स्थित बसपार्कलाई बहुतले बनाउने सबै सडक कालोपत्रे तथा पहाडी सडकलाई स्तरोन्नति, भवन निर्माण सम्पन्न तथा बाँकी रहेका वडा कार्यालय तथा स्वास्थ्यचौकीको भवन निर्माण गरिने नगरक्षेत्रभित्रका नागरिकहरुको खानेपानीसम्मको पहुँचलाई औसत १० मिनेटसम्म पुर्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाको आगामी नीति तथा कार्यक्रममा उद्दोग तथा बाणिज्य,पर्यटन, सहकारी, नदिजन्य पदार्थ तथा खनिज, रोजगार प्रबर्द्धन तथा गरिबी न्युनिकरण, सुकुम्बासी तथा जग्गा ब्यबस्थापन, सामाजिक आचरण, संस्कृतिको जगेर्ना र उत्तरदायित्व, खेलकुद, सडक, यातायात खानेपानी सिचाइ र आवास, संचार बन बाताबरण र बिपद ब्यबस्थापन, सुशासन तथा संस्थागत बिकास, बित्तीय ब्यबस्थापन लगायतका बिषयबस्तु समाबेश गरिएका छन ।












