सिन्धुली – धेरै पहिलेदेखि राहदानी फारम भरेर पनि कोटा नपाएकोमा चिन्तित बनेकी कमलामाइ नगरपालिका -१२ मोरङ्गेकी सबिना श्रेष्ठले मंगलबार फारम भर्ने बित्तिक्कै आफ्नो पालो आएकोमा खुशी ब्यक्त गरिन ।
श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको द्रुत सेवा दिने ब्यबस्थाले खुशी बनाएको हो । उनले खुशी हुँदै भनिन, ‘मैले यस अघि धेरै पटक राहदानिको लागी अनलाइन फारम भरे तर निश्चित कोटा छुट्याइएकोले आफुले कोटा नपाएको तर अहिले तुरुन्त कोटा पाए ।’
उनले प्रशासनको काममा सधै कार्यालय समय कुर्नुपर्ने र दिउँसो ५ बजे नै बन्द हुने हुँदा धेरै कामहरु अधुरै रहने र घर आउन जान समस्या हुनेगरेकोमा अहिले बिहानै देखि साझ सम्म कार्यालयबाट सेवा पाउने ब्यबस्थाले सेवाग्राहिमा थप खुशी प्रदान गरेको उल्लेख गरिन ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आफ्नो सेवा अहिले विहान ७ वजे देखि वेलुकी ७ वजे सम्म प्रदान गर्न शुरु गरेको छ । कार्यालय समयको बैकल्पिक ब्यबस्था अनुरुप यस अबधिमा दिइने सेवाहरुमा विद्युतिय राहदानीको इनरोलमेण्ट र राष्ट्रिय परिचयपत्रको फारम भर्ने सेवाहरु रहेका छन् ।
साविकमा हप्तामा ८० जनाको राहदानी फारम लिने गरिएकोमा अव दैनिक ४० जनाको दरले हप्ताको २४० जनाको फारम लिने गरी कोटा खोलिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो ।
विगत केही समयदेखि कार्यालयमा कर्मचारीको न्यून सँख्या तथा सेवामा परेको चापका कारण धेरै सेवाग्राहीले राहदानी वनाउन नपाएको गुनासो वढदै गएपछि कार्यालयको सेवालाइ तीन सिफ्टमा विस्तार गरिएको उहाँको भनाइ छ ।
तीन सिफ्टमा कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको प्रस्तावमा कमलामाइ नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलको विशेष पहलबाट यस कार्यको सुरुवात भएको हो ।
सेवा व्यवस्थापनका लागि कार्यालयले जिल्लास्थित नगरपालिका र गाँउपालिकासँगको सहकार्यमा ३ जना कर्मचारीहरु व्यवस्था गरेको छ । कर्मचारीहरुलाई पाँच दिनको आबस्यक सहजिकरण पछि सोमबारवाट सेवा सुरु गरिएको हो ।
राजश्व जम्मा गर्ने वैङ्क काउन्टर, राहदानीको इन्रोल्मेन्ट, राष्ट्रिय परिचयपत्रको हेल्प डेस्कका साथै सुरक्षित वैदेशिक रोजगार परामर्श केन्द्र विहान ७ वजेवाट संचालनमा आएको छ । कर्मचारीहरुको कामको गति वढेसँगै सेवाका कोटा थप गर्दै जाने प्रशासनको योजना रहेको छ ।
राहदानी आवश्यक परिनसकेका सेवाग्राहीले समेत अनलाइन फारम भर्दिने र तोकेको समयमा कार्यालयमा नआउने प्रवृत्ति देखिँदै आएको छ । यसबाट राहदानी अत्यावश्यक परिसकेकाले फारम भर्न नपाउने अवस्था आउन नदिनु पर्ने तर्फ सम्बन्धित सवैले ध्यान दिन जरुरी छ ।