गत बर्ष सिन्धुलीमा ३७ साना सिँचाइ योजना निर्माण सम्पन्न

सिन्धुली – सिन्धुली जिल्लामा गत आर्थिक वर्षमा ३७ वटा साना सिँचाइ योजना निर्माण सम्पन्न भएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार गत आव २०७८/७९ को वार्षिक कार्यक्रमअन्तर्गत २८ लाख ८० हजार रुपियाँको लागतमा किसानको फर्म, सहकारी र समूहमार्फत ती योजना सम्पन्न भएका हुन् ।

ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा सम्पन्न योजनाबाट तीन सय रोपनी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको ज्ञान केन्द्रका प्रमुख सुजन अमगाईले जानकारी दिनुभयो । एउटा योजनालाई कम्तीमा ६० हजार रुपियाँदेखि बढीमा एक लाख ५० हजार रुपियाँसम्म अनुदान दिइएको जनाइएको छ ।

कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर, मरिण, हरिहरपुरगढी, सुनकोसी, फिक्कल र तीनपाटन गाउँपालिकामा साना सिँचाइ योजना सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

साना सिँचाइ योजनाअन्तर्गत आवश्यक प्लास्टिक पाइप खरिद, पोखरी निर्माण, मोटर खरिद तथा इनार निर्माणलगायतका काम भएको कार्यालय प्रमुख अमगाईले जानकारी दिनुभयो ।

गोलन्जोर गाउँपालिका–५ स्थित निरज अर्गानिक तरकारी खेती फर्मका सञ्चालक किसान कपिल भुजेल साना सिँचाइ कार्यक्रमअन्तर्गत आफूले पाइप खरिद, इन्टेक र पानी सङ्कलनका लागि पोखरी निर्माण गरेको बताउनुहुन्छ ।

उहाँले २१ रोपनी जमिनमा मौसमअनुसारको तरकारी खेती र जुनार खेती गर्दै आउनु्भएको छ । ठूला सिँचाइ आयोजनाले समेट्न नसकेको स्थानमा बर्सेनि साना सिँचाइ आयोजना निर्माण गरी जमिनलाई सिँचाइ सुविधा उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ ।   

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार ०६:५१

प्रतिक्रिया दिनुहोस्