२४ कार्तिक, सिन्धुली – नेपाली वीर गोर्खालीहरुले साम्राज्यवादी ब्रिटिस अंग्रेज सेनाहरुसँग भएको युद्धमा विजय प्राप्त गरेको स्मरणमा बिहिबार २५५ औं विजयोत्सव मनाइएको छ ।
सिन्धुलीगढी किल्ला नेपाली विर गोरखालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यवादी व्रिटिस अंग्रेज फौजलाइ परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता जोगाएको ऐतिहासिक दिनको स्मरणमा बिजय उत्सव मनाउन थालिएको हो ।
२०६७ सालदेखि नेपाल पत्रकार महासंघ सिन्धुलीले मनाउन शुरु गरेको विजयोत्सव २०७४ साल देखि कमलामाई नगरपालिकाले यस दिवस मनाउनलाइ निरन्तरता दिइरहेको छ । कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले युद्ध स्तम्भमा माल्यार्पण, ठुलोगढीमा झन्डोत्तलन र नेपाली सेनाले सलामी अर्पण गर्दै आज विजयोत्सव मनाइएको हो ।
विजयोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख पोखरेलले गोरखाली फौँजले अंग्रेजलाई परास्त गरेर नेपालको अस्मिता र सार्वभौम जोखाएको ऐतिहासिक स्थल सिन्धुलीगढीमा युद्ध सङ्ग्रालय निर्माण भएपछि देश विदेशमा यसको ऐतिहासिकताको चर्चा बढेको बताए ।
नगरप्रमुख पोखरेलले निर्माणाधिन रानी दरवारको निर्माण कार्य सकिएपछि अहिलेको तुलनामा अझै सिन्धुलीगढीको महत्व बढ्दै जाने उल्लेख गरे । उनले सिन्धुलीगढीको आकर्षण बढाउन धेरै संरचना बनाउन आवश्यकता भएपनि सिमित स्रोतसाधनका कारण एकै पटक गर्न नसकिएको भनाइ छ ।
यस अघिका बर्षहरुमा सरकार उच्चपदस्थ व्यक्तिको प्रमुख आतिथ्यतामा भव्यरुपमा मनाईदै आइएको विजयोत्सव यो बर्ष भने आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको आचारसंहिताका कारण सामान्य रुपमा मनाइएको छ ।
स्थानिय तह कामय हुनु अघि भग्नावशेषमा मात्रै सिमित रहेको सिन्धुलीगढीमा अहिले देशकै पहिलो ऐतिहासिक युद्ध सङ्ग्रालय निर्माण भइ अध्ययन अवलोकनका लागि खुल्ला रहेको छ ।
त्यस्तै बागमती प्रदेश सरकार र कमलामाई नगरपालिकाको समन्वयमा रानी दरवार पुरानै स्वरुपमा निर्माण भईरहेको छ । युद्ध सङ्ग्रालय निर्माण भएपछि अहिले सिन्धुलीगढीको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।
नगरपालिकाको अनुसार युद्ध सङ्ग्रालय अवलोकनका लागि अहिले दैनिक हजारौंको संख्यामा पर्यटकहरु सिन्धुलीगढी आउने गरेका छन् । रानी दरवार लगाएतका अन्य भौतिक संरचनाहरु निर्माण भएपछि झनबढी पर्यटक भित्रीने नगरपालिकाको अपेक्षा छ ।