खासगरी युवा पुस्तामाझ लोकप्रिय बनेका र असहाय, निम्न आर्थिक स्थिती भएका परिवारलाइ आफू कुनै पदमा नरहदै गर्दा पनि आफुले सक्दो सहयोग गर्दै आएका समाजसेबी छेत्रबहादुर बम्जनलाई सयुक्त लोकतान्त्रिक-बाम गठबन्धन तर्फ सिन्धुली क्षेत्र नं. २ प्रदेशसभा (क) को प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेस सिन्धुलीका प्रभावशाली नेतामा पर्छन्, छेत्रबहादुर बम्जन । यसअघि सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका बम्जन निरन्तर पार्टी र सामाजिक सेवामा समर्पित भइरहेका नेतामा गनिन्छन ।
चुनावकेन्द्रित अंकपत्रको प्रस्तुति उम्मेदवार संवादमा गठबन्धनका उम्मेदवार छेत्रबहादुर बम्जनसँग पुष्कर थापाले गरेको संवादः
उम्मेदवारहरू चुनावी प्रचारमा गाउँ-गाउँ पुगिरहेका छन् । तपाईं के-कस्ता एजेन्डा बोकेर मतदातामाझ गइरहनुभएको छ ?
सिन्धुली मध्यम आय स्तर भएको जिल्ला हो । यस जिल्ला खासगरी म उम्मेदवार रहेको प्रदेश, अत्यन्त न्युन आयस्तर भएको परिवार र सम्पन्न परिवार दुबै मिश्रित बसोबास गर्ने समुदाय पनि यो प्रदेश भित्रै पर्दछ ।
यस्तो प्रदेशलाई माथि उठाउन राज्यले प्राथमिकतामा राख्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसका लागि सडक र यातायातको सुविधा विस्तार गर्नैपर्छ । केही कामहरु भइरहेका पनि छन् ।
जस्तो कि, म उम्मेदवार रहेकै प्रदेश भएर राष्ट्रिय आयोजनाहरु, राजमार्गहरु निर्माण भएका छन । बिपि राजमार्ग, मध्य पहाडी लोकमार्ग, धरान-चतरा सडक राष्ट्रिय मान्यता बोकेका सडकहरु यसै क्षेत्र हुँदै निर्माण भएका छन ।
राष्ट्रिय आयोजना अन्तरगर्त पर्ने शुनकोशी मरिण डाइभर्सन यसै क्षेत्रमा निर्माणाधिन अबस्थामा छ । भने, यस्ता बिकासका आयोजना निर्माण भइरहदा यहाँको समुदायको आर्थिक स्तरलाइ माथी उठाउने र परिबर्तनको सम्बाहकको रुपमा मैले मेरो उम्मेदवारीलाई लिएको छु ।
समुदाय केन्द्रित भएर निर्माण भएका सडकलाइ ब्यबस्थित र स्तर उन्नती गर्ने परिकल्पना गरेको छु । यस क्षेत्रको कतिपय समुदाय स्वच्छ खानेपानी उपभोग गर्नबाट अझै बन्चित छ । ती समुदायलाइ स्वच्छ खानेपानी उपलब्ध गराउने जिम्मा अब मेरो काधमा छ ।
त्यस्तै, यस क्षेत्रमा पर्यटनको सम्भावना धेरै छ । ऐतिहासिक सिन्धुलीगढी, स्वर्गीय बिपि कोईरालाको पुर्ख्यौली थलो, दुम्जाको कुशेस्वर महादेबको मन्दिर, शिद्दबाबाको मन्दिर, माइस्थानको उद्गम स्थल र मन्दिर लगाएत यहाँका चर्चित पर्यटकीय गन्तव्य हुन् । यस्ता पर्यटकिय क्षेत्र लगायत पुर्वाधार निर्माणलाई मैले मेरो पहिलो प्राथमिकतामा राखेको छु ।
यस प्रदेशका लागि सडक त भयो नै, शिक्षा र स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण छ । यसबारे के सोचिराख्नुभएको छ ?
सडक सञ्जाल सहज भयो र बाह्रै महीना गाडी चल्ने बाटो भयो भने त्यसले अरू विकासको ढोका खोल्छ । हाम्रोमा कुनै पनि विकास निर्माणका काम गर्न ढुवानी महँगो पर्छ । किनकि, गाउँ-गाउँ पुग्ने सडकहरु अप्ठ्यारो छ । त्यस कारण बाह्रै महीना चल्ने उच्च गुणस्तरको सडक विस्तार र निर्माण मेरो प्राथमिकता हो ।
शिक्षा र स्वास्थ्य त आधारभूत कुरा भइहाले । भौगोलिक विकटताका कारण विद्यार्थीले स्कूलसम्म पुग्न घण्टौं धाउनुपर्छ । त्यस्तो खासगरी महाभारत क्षेत्रको समुदायमा छ । आवासीय विद्यालय बनाउने अवधारणा कार्यान्वयन गर्नुपर्नेछ । एउटा पालिका भरि एक हजार विद्यार्थी छैनन् भने ती विद्यार्थी राख्न सकिने आवासीय विद्यालय बनाउँदा शिक्षाको गुणस्तर उकास्न सकिन्छ ।
मानवीय दृष्टिकोणले शिक्षा र स्वास्थ्य दुवै संवेदनशील विषय हुन् । यी दुईमध्ये पनि स्वास्थ्य झन् संवेदनशील हो । किनकि, स्वास्थ्यको आवश्यकता मानिसका लागि आकस्मिक रूपमा आइपर्छ । आकस्मिक दुर्घटना वा बिरामी पर्दा अस्पताल पुर्याउने र उपचार गर्ने चुनौती हुने भएकाले यो अत्यन्तै संवेदनशील विषय हो ।
त्यस कारण मैले यस क्षेत्रको भौगोलीक अबस्थालाइ अध्यन गरेर त्यहाको समुदायलाई समेटिने गरि अत्याधुनिक अस्पताल बनाउने योजना अघि सारेको छु । त्यससँगै अहिले भएका स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण थपेर स्तरवृद्धि गर्ने योजना पनि बनाएको छु ।
बिगतमा खासगरी बिपदको समयमा भनौ या अफ्टेरो परिस्थितिमा भनौ, जनताको काम त तपाइले सकेको गर्दै नै आइरहनु भएको छ नि, पद नहुदा पनि काम गर्न त सकिन्छ नि चाह्यो भने होइन ?
तपाइँले सहि प्रष्न उठान गर्नुभयो । हो मैले भुकम्पले घर टहरा क्षतबिक्षत हुँदा घरबार बिहिन बनेका कतिपय ब्यक्तीको घर म आफैले मेरो ब्यक्तीगत रुपमा निर्माण गरिदिएको छु । कतिपय सडक, खोला नियन्त्रण, खेलकुद मैदान, निर्माण तथा ब्यबस्थापन मेरो ब्यक्तिगत लगानीमा गरेको छु ।
तर त्यो चाहेको जस्तो प्रयाप्त भएन । मैले मेरो ब्यक्तीगत रुपमा के गर्न सक्छु ? राज्यबाट योजनागत ढंगले जाने हो भने धेरै गर्न सकिन्छ । त्यसको लागी योजना आबस्यक छ । यहाँ मुलतः के छ भने सांसदलाई मात्रै जिल्लाको विकासको मूल वाहक हो भनेर हेरिंदो रहेछ । त्यो अनुभवबाट मैले राज्यको ध्यानाकर्षण गराउन निर्वाचित जनप्रतिनिधि चाहिंदो रहेछ भन्ने बुझें । किनकि, जिल्लाका लागि योजना माग्न जाँदा मन्त्रीले त्यहाँको सांसद को हो भनेर सोध्छन् । योजना आयोगमा जाँदा पनि त्यही प्रश्न दोहोरिने रहेछ ।
आफू कुनै सांसद नहुदा पनि सामाजिक सेवा गरिरहे । तर, सोचे जस्तो गर्न सकिनँ । यो पटक आफैं निर्वाचित भएर यस क्षेत्रमा विकास निर्माणका योजना र बजेट लैजान पहल गर्छु ।
सदरमुकाम समेत रहेको यस क्षेत्रमा पनि भौगोलिक बिकटताको कारण आधारभूत स्वास्थ्य सेवा नपाएर नागरिककाे ज्यान गएको, बाटोमै सुत्केरी गराउनुपरेको जस्ता घटना बाहिर आइरहन्छन् । यस्तो आधारभूत अधिकार पनि यस क्षेत्रका नागरिकले किन पाउन सकेनन् ?
मुख्यत: राज्यको नजर नै अलिकति भेदभावपूर्ण भए जस्तो लाग्छ । किनभने, जन-प्रतिनिधिले केन्द्र या प्रदेशमा त्यो खालको पहुँच शायद राख्न सकेनौं त्यो भएर हो कि । फेरि हाम्रो गलत सोचाइ के छ भने जुन दलबाट प्रतीनिधि भएपनी काम गर्ने त जनताको हो नि । योजना जनतामुखी हुनुपर्ने हो नि । तर योजना लैजाने क्रममै हामी राजनैतिक संलग्नता हेरेर लैजान्छौ । त्यो कुराले राज्यबाट अधिकार लिन व्यावहारिक हिसाबले कठिनाइ पर्दो रहेछ ।
त्यसैले म जनप्रतिनिधि हुनासाथ सबै समस्या छुमन्तर हुन्छ जस्तो त लाग्दैन । मैले बिस्तारै त्यो ‘ब्याकग्राउन्ड’ बनाउनुपर्छ । यहाँका जनताले आधारभूत अधिकार प्राप्त गर्न नसक्नुको कारण आवश्यक बजेट तथा योजना नगएर पनि हो । त्यस्तै, राज्यका नीतिगत निकाय र निर्णय गर्ने तहमा हाम्रो क्षेत्रको प्रभाव कम छ । यसअघिका जनप्रतिनिधिले पनि भने जस्तो ‘एड्भोकेसी’ गर्न नसकेका हुन् ।
यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले काम गर्न नसक्दा यहाँ विकास नभएको भन्न खोज्नुभएको हो ?
यसअघिका जनप्रतिनिधिको भूमिकामा यस क्षेत्रका जनता सन्तुष्ट छैनन् । अन्य जिल्लाका जनप्रतिनिधि आफ्नो जिल्लाको जनताका लागि राज्यबाट खोसेर लिने तागत राख्छन् । यसको अर्थ हुलहुज्जत गर्ने र उद्दण्ड गर्ने होइन, सिर्जनशील ढङ्गले, कहीं कूटनीतिक ढङ्गले प्रस्तुत हुनुपर्ला, कहीं आफैंले पनि समस्याको समाधान गर्ने उपाय र योजना लिएर जानुपर्ला ।
त्यस्तै, विकासका योजना बन्ने ठाउँ र बजेट विनियोजन हुने ठाउँमा सम्बन्ध स्थापित गरेर जिल्लाको हक लिन सक्ने क्षमता राख्नुपर्छ । विगतका जनप्रतिनिधिले त्यो हिम्मत देखाउन सकेको भए अघि तपाइले भनेजस्तो हविगत हामिले भोग्नु पर्दैनथ्यो ।
चुनाव जितेर यस क्षेत्रको विकास गर्छु भनेर भनिरहनु भएको छ । जित्नुहुन्छ त ? के-कस्ता जित्ने आधार देख्नुभएको छ ?
मसँग जो प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, उहाँ यसअघि प्रदेशको सांसद भएर काम गरिसक्नु भएको छ । उहाँले गर्ने काम जनताले अनुभव गरिसकेका छन । म आफैले भन्दा त्यो लान्छना जस्तो पनि होला तर, हामी संग जोडिएका कयौं नागरिकको गुनासो छ उहाँले योजना नल्याएको होइन तर हरेक योजना संग उहाँले कमिसन मागेको उदाहरणहरु धेरै छन । नागरिकको सेवा गर्छु, भ्रष्टाचार गर्दिन, जनताको सेवक भएर काम गर्छु भनेर चुनाब जित्ने अनि साना-साना योजनाहरु समेतबाट मैले ल्याइदिएको योजना भनेर कमिशन माग्ने ? त्यो समुदाय संग उहाँले कुन मुखले भोट माग्नुहुन्छ ?
त्यस कारण यस पटक मतदाताले नयाँ र ऊर्जाशील व्यक्ति खोजिरहेका छन् । म जनताले खोजे जस्तो ऊर्जाशील मान्छे हुँ । सबै जाती समुदाय संग केन्द्रित भएर मैले गर्ने सेवालाइ आधार बनाइ यहाँका जनताले यस पटक मलाई अवसर दिनुहुन्छ भन्ने अपेक्षा छ ।
चुनाव अत्यन्तै खर्चिलो हुँदै गएको छ । चुनाव खर्च कसरी जुटाइरहनुभएको छ ?
चुनावमा खर्च हुने र नहुने उम्मेदवारको छविमा भर पर्छ । चुनावमा हुने न्यूनतम खर्चका लागि पार्टी, केही शुभचिन्तक र साथीहरूले सहयोग गर्नुहुन्छ । त्यही न्यूनतम खर्चले निर्वाचनमा प्रतिस्पर्धा गर्छु । मैले ठूलो आर्थिक हिसाबले चलखेल गर्ने गरी र ठूलो खर्चको खोलो बगाउने गरी चुनाव लड्ने सोचेको छैन । त्यसरी चुनाव लडियो भने राजनीतिलाई भ्रष्टाचारको दुष्चक्रमा लगिन्छ ।
आफ्नो क्षमताभन्दा बाहिर गएर मैले गर्ने खर्चका कारणले पछि गएर मलाई नै भ्रष्टाचार र दुराचारको बाटोमा लैजान्छ । त्यसैले मैले निर्वाचनमा धेरै खर्च गर्ने कल्पना गरेको छैन । किनकि, चुनाव जितेपछि काम गर्न निर्वाचनमा गरेको खर्च अवरोध नहोस् भन्ने मेरो प्रष्ट बुझाइ छ ।
अन्तिममा आफ्नो क्षेत्रका मतदातालाई केही भन्नु छ ?
म यस क्षेत्रमा प्रदेश सांसदको उम्मेदवार बनेकाे छु । म यस क्षेत्रका स्थानीयबासीको भावनालाई सम्मान गर्छु । उदाहरणीय जनप्रतिनिधिका रूपमा आफ्नो कार्यकाल व्यतीत गर्न चाहन्छु । त्यो कार्यकालमा जिल्ला र यस क्षेत्रका सबै नागरिकको अनुहारमा परिवर्तन ल्याउन सक्छु भन्ने विश्वास छ । त्यो विश्वासलाई सफलीभूत पार्न सहयोग गर्न आह्वान गर्दछु ।