कांग्रेस सिन्धुलीले ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो

सिन्धुली – प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ/आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।

यसै दिवसको अबसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीको आयोजनामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य शुसिला थिङको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सामाजिक तथा राजनैतिक जिवनको बारेमा चर्चा परिचर्चा गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस सिन्धुलीका निबर्तमान सभापती उज्वल प्रसाद बरालले नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका बिपि कोइरालाको जिबनको बारे सम्झिदै चर्चा गर्नुभयो ।

उहाँले विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएको स्मरण गर्नुभयो ।

नेपाली कांग्रेस सिन्धुलीका सभापती तथा कार्यक्रमका अध्यक्ष उपेन्द्र कुमार पोखरेलले महामानव बिपि कोईरालालाई स्मरण गर्दै भारत निर्वासनमा रहँदा कोइराला लगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्षअघि देशको सार्वभौमसत्ता संरक्षणका लागि आजकै दिन स्वदेश फर्किएको स्मरण गर्दै विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको चर्चा गर्नुभयो ।

उहाँले त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको बताउनुभयो ।

आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए ।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी वीपी कोइरालालाई रिहा गरिएको थियो ।

यसपछि एक पटक सुन्दरीजल बन्दीगृह फर्काई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । नेपाली कांग्रेस जिल्ला कार्यसमितीका सचिव इस्वर बस्नेतद्वारा संचालित कार्यक्रममा नेपाली कांग्रेसका संस्थापक महामानव बिपि कोईरालाको राजैनितिक तथा सामाजिक जिबनबारे उपस्थित नेता कार्यकर्ताले परिचर्चा गरेका थिए ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार ०९:३८

प्रतिक्रिया दिनुहोस्