सुनकोसी–मरिण डाइभर्सन: ८५ दिनमा २२ सय मिटर सुरुङ खनियो

सिन्धुली — गत असोज २८ गतेबाट खन्न सुरु गरिएको राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग डेढ महिनाको अवधिमा २२ सय मिटर खनिएको आयोजनाले जनाएको छ ।

टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको उक्त योजना डेढ महिनाको अवधिमा २२ सय मिटर सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए ।

आयोजना प्रमुख बरालका अनुसार १३ दशमलब तीन किलोमिटर लामो सुरुङ कमलामाई नगरपालिका–२ कुसुमटारबाट खन्न सुरु गरिएको छ ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिनबाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेकोमा प्रगति बढेको उनको भनाइ छ ।

‘एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने हाम्रो लक्ष्य हो, आयोजना प्रमुख बरालले भने, ‘अहिलेसम्म भौगर्भिक समस्या नआएकाले लक्ष्यभन्दा अगाडि नै छौं । ढिलो वा चाँडो भन्ने भौगर्भिक समस्यामा निर्भर हुन्छ ।

चुरे पहाड र महाभारतको संगमस्थलमा पुगेपछि भौगर्भिक समस्या आउन सक्छ ।’ यही रफ्तारमा काम भए महिनामा ७ सय मिटरसम्म खन्न सक्ने भएकाले लक्ष्य राखिएको २२ महिनाको अवधि अघि नै निर्माण सम्पन्न हुने उनको आकलन छ ।

अहिले दैनिक सरदर १८ मिटर र कुनै दिन ३८ मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनेको छ । मेसिनले १३ दशमलब तीन किलोमिटर सुरुङ खनेपछि सुनकोसी गाउँपालिकाको कानढुंग्री नजिक सुनकोसी नदीमा पुग्नेछ ।

यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणी भन्दा सात सय मिटर तल पर्छ । पानी बग्ने ५ दशमलब ५ डायमिटर रहने गरी अहिले ६ दशमबल ६ डायमिटरको सुरुङ मेसिनले खनि रहेको छ ।

सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपयाँमा ठेक्का पाएको छ । टीबीएमले आठ/आठ घण्टाका दरले तीन सिफ्टमा गरी चौबिसै घण्टा सुरुङ खनिरहेको छ । आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ ।

त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिनेछ । आयोजनाको कुल लागत करिब ४६ अर्ब रहने अनुमान गरिएको छ । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराइका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ ।

बाह्रै महिना सिँचाइ सुविधा पुगेमा वार्षिक २६ अर्ब रुपैयाँ बराबरको कृषि उत्पादन बढ्ने र आयोजना अन्तर्गत उत्पादन हुने बिजुलीबाट वार्षिक एक अर्ब ५५ करोड आम्दानी हुनेछ ।

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार ०४:०३

प्रतिक्रिया दिनुहोस्