आफ्नै खेतबारिमा उब्जनी गर्न र भकारीमा अन्न राख्न पनि डरमर्दो भयो

सिन्धुली — कमलामाइ नगरपालिका – १४ तल्लो रानिबासका स्थानिय ज्ञानेन्द्रराज खड्काले जंगलीहात्तीको त्रासले सिंगो समुदाय त्रसित बनेको गुनासो ब्यक्त गर्नुभयो । पछिल्लो दुई दिनमा जंगली हात्तिले कमलामाइ नगरपालिकाका – १४ तल्लो रानिबासको चार स्थानियको घरमा क्षति पुर्‍याएको छ भने घरमा राखेको अन्नबाली नष्ट गरेको छ ।

स्थानियको घरमा क्षती पुर्‍याएको खबर पछि अनुगमनको लागी कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेल बिहिबार घटनास्थल पुग्नुभएको थियो । मेयर संगको भेटमा स्थानियले गुनासो गर्दै भने, ‘हात्तीको त्रासले गर्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । हात्तिले आफुले भण्डारण गरेको अन्न सखाप पारेको र घरको भित्ता भत्काइदिएको गुनासो गर्दै स्थानिय गोविन्द खड्काले हात्तीको त्रासले बिगौ जग्गामा अन्नबाली लगाउन छाडिएको गुनासो पोखे ।

गहु मकै उत्पादनको उर्भर भुमी रहेको तल्लो रानिबासको जग्गा क्षेत्रफलमा जंगली हात्तीको त्रासले कुनै बाली नलगाईएको स्थानियको गुनासो छ । धान, गहुँ, मकै लगाएतको अन्नबाली लगाउदा झनै जंगली हात्ती बस्तिमा आउने हुँदा र त्यसले मानबिय तथा भौतिक क्षती झनै हुने डरले खेतबारिमा अन्नबाली लगाउन छाडिएको स्थानिय सन्तबहादुर माझिले बताए ।

‘अहिले हाम्रो यता गहुँको बीउ समेत पाउन छोडिसक्यो । सबै खेतबारी बाझै जस्ता भएका छन’ उनले भने । पछिल्लो दुई दिनको अबधीमा कनपा -१४ तल्लो रानिबासका चार घरमा जंगली हात्तिले क्षति पुर्‍याएको छ । हात्तीले स्थानीय आइते माझी, सन्तबहादुर माझी, सन्तोष न्यौपाने र गोविन्द खड्काको घरमा क्षति पुर्‍याएको हो ।

अनुगमन पश्चात् नगरप्रमुख पोखरेलले केही वर्ष बिराएर आउने हात्ती अहिले वर्षकै दुई/तीन पटक ओहोर दोहोर गरेर किसानलाई दुःख दिएको र समुदायमा त्रासको अबस्था सृजना भएको बताए । ‘हात्तीखर्क, हात्तीसार जस्ता ठाउँहरु हात्तीको पुर्खौली थलो भएकाले उनीहरुले आफ्नो रुट प्रयोग गरेको जस्तो देखिन्छ,’ उनले भने, ‘जंगलमा फलफुलको भण्डार रित्तिएकाले हात्तीहरू मानव बस्तीमा खाना खोज्दै पसेका हुन् ।

दीर्घकालीन समाधानका लागि जंगलमा फलफुल नरोपी सुखै छैन ।’हात्तीले पुर्‍याएको क्षतिको वडा कार्यालय मार्फत् विवरण संकलन गरेर पीडितलाई राहत वितरण गरिने उनको भनाइ छ । त्यसको लागी हाती निस्किने गरेका प्राय रुटमा सडक बत्तिको मात्रा तत्काल थप गरिने समेत पोखरेलले बताए ।

राष्ट्रिय निकुञ्ज संग समन्वय भइरहेको र हातीलाई कसरी यहाँबाट लैजान सकिन्छ त्यो बारे पनि सम्बन्धित निकाय संग परामर्श भइरहेको नगरप्रमुख पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ०७:१४

प्रतिक्रिया दिनुहोस्