हामिले चिताए जस्तै वडा-अध्यक्ष पाएकोमा धन्य छौँ: ज्ञाननारायण

सिन्धुली – गोलन्जोर गाउँपालिका – ६ नाकाजोलीका त्रियानब्बे बर्षिय ज्ञाननारायण श्रेष्ठलाई उमेरको हिसाबले बार्षिक मालपोत रसिद (तिरो) तिर्न वडा कार्यालयको सिफारिस लिन जान समस्या छ । आफू वृद्ध भएको कारण सिफारिस लिन जान र तिरो तिर्न जान उनलाई समस्या भएको हो । ज्ञाननारायण श्रेष्ठ मात्रै होइन सोही ठाउका ८० बर्षिया झलकबहादुर अस्तानी मगरको पनि समस्या उहीँ छ । उनी पनि सामाजिक सुरक्षा भत्ताको लागि उमेरको कारण वडाको सिफारिस लिन जान सक्दैनन ।

केही दिन अघि ज्ञाननारायण श्रेष्ठको घरमा बिहानै सोही वडाका वडाध्यक्ष रबिनकुमार श्रेष्ठ टुप्लुक्क पुगे । पुग्नासाथ बा ! दर्शन भन्दै मालपोत रसिद मागे । ज्ञाननारायण किन मालपोत रसिद मागेको होला भनेर एकछिन झस्किए । वडाध्यक्ष श्रेष्ठले भने बा ! म वडाध्यक्ष पैसा कमाउन, पदमा पुगेसी हैकम जमाउन बनेको होइन । म सम्पुर्ण वडाबासीको सेवक बन्न र सेवा गर्न बनेको हु ।

अब तपाइहरु कोहि वडाबासीले बार्षिक मालपोत रसिद बुझाउन काहीं जानुपर्दैन । सबै घरधुरिको मालपोत रसिद म आफै सङ्कलन गरेर बुझाइदिन्छु । यत्ती भनेपछी ज्ञाननारायण श्रेष्ठले भने, ‘स्याबास बाबू हामिलाइ यस्तै अध्यक्ष चाहिएको थियो । तिमी घरमै आयौं भगवान आए जस्तो भयो ।’

त्यसदिन देखि ज्ञाननारायण श्रेष्ठको सामाजिक सुरक्षा भत्ताको सिफारिस, मालपोत रसिद बुझाउन जानू पर्छ भन्ने चिन्ता हटेको छ । बरु, मालपोत रसिद बुझाउने बेला भएपछी उनी वडा-अध्यक्ष आउने बेला भयो भनेर बाटो हेर्न थालेका छन । ज्ञाननारायण श्रेष्ठ मात्रै होइन सोही वडाका मानबहादुर मगर, सोमबहादुर भुजेल लाई पनि वडा-अध्यक्ष घरमै आएर मालपोत रसिद सङ्कलन गर्न थालेपछी ठूलो राहत मिलेको छ ।

मानबहादुर मगर भन्छन, ‘४/५ सय बार्षिक तिरो बुझाउनुपर्छ त्यसका लागी वडाको सिफारिस लिन जान, तिरो बुझाउन जान झन्झट थियो घरमै अध्यक्ष आएर रसिद संकलन गर्न थालेपछी एउटा झन्झट हटेको छ ।’ असाध्यै खुशी लागेको छ उनले थपे । गोलन्जोर गाउँपालिका – ६ का ८०० घरधुरीले बार्षिक मालपोत रसिद (तिरो) बुझाउने गरेका छन । अब सम्पुर्ण घरधुरिले बार्षिक बुझाउने तिरोका लागी सम्बन्धीत कार्यालय धाउनु पर्दैन ।

गोलन्जोर गाउँपालिका -६ का वडाध्यक्ष रबिनकुमार श्रेष्ठ जिल्लाकै उदाहरणिय अध्यक्ष हुन । उनले आफुले पाउने सेवा सुबिधा बाट खर्च हुनेगरी वडाका सबै बिद्यालयका कम्तिमा दुई शिक्षकको प्रतिनिधित्व रहनेगरी कम्प्युटर तालिम शुरु गरेका छन । वडाका नौ बिद्यालयमा एकथान कम्प्युटर र एकथान प्रीन्टर बितरण गरेका अध्यक्ष श्रेष्ठले सबै बिद्यालयको दुई शिक्षकको प्रतिनिधित्व रहनेगरी तालिम संचालन गरेका हुन ।

कम्प्युटर बितरण गरेर मात्रै केही हुन्न बिद्यार्थीलाई राम्रो संग सिकाउन सक्ने, सम्बन्धित बिषयमा आफुले ज्ञान लिएको, बुझेको पनि हुनुपर्छ भन्ने मनसायले नि:शुल्क तीन महिनाको तालिम आयोजना गरेको उनले बताए । उनले शिक्षकलाइ नि:शुल्क तालिम मात्रै होइन, वडामा सिफारिस लिन आउदा फोटो अनिबार्य कार्य जस्तै: सामाजिक सुरक्षा भत्ताको लागी, नागरिकताको लागी, नाताप्रमाणित लगायत यावत कार्य जहाँ फोटो प्रयोजन हुन्छ त्यसको लागी वडामै नि:शुल्क फोटो खिच्न सकिने ब्यबस्था मिलाएका छन ।

आफ्नै ब्यक्तिगत खर्च बाट वडामा एउटा क्यामेरा, फोटो प्रीन्टर र पेपर अध्यक्ष श्रेष्ठले खरिद गरेका छन । अध्यक्ष श्रेष्ठका अनुसार वडामा सिफारिस लिन आउदा जहाँ फोटो प्रयोजन हुन्छ अब कोहि वडाबासीले फोटो खिचेर लिएर आउनु पर्दैन यहि वडामै उपलब्ध हुन्छ त्यो पनि नि:शुल्क । गएको फाल्गुन २९ गतेबाट शुरु गरेको यो सेवामा ३५/४० जनाले वडामै फोटो खिचाएर सेवा लिएको अध्यक्ष श्रेष्ठले जनाए ।

घरघरमा तिरो रसिद संकलन गरेर सेवा दिइरहेका श्रेष्ठले सामाजिक सुरक्षा भत्ताको लागी सेवाग्राहीलाई बैंकमै गएर सिफारिस दिने गरेका छन । उनी भन्छन्, ‘कोहि वडाबासीले वडा-अध्यक्षको कारण मैले थोरैपनी सास्ती खेप्नुपर्यो भन्ने महसुस गर्न नदिने मेरो उदेश्य छ ।’ म वडाबासीकै सेवा गर्छु, सेवा गर्नै म वडा-अध्यक्ष बनेको हु ।’

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार ०४:३२

प्रतिक्रिया दिनुहोस्