घर डढेलोले खायो, छोराबुहारी फर्केर आएनन : मनमाया

डढेलो संगै जलेको मनमायाको खुशी

आफ्नो श्रीमान भन्दा करिब ६ महिनाले मात्रै कान्छी रहेकी मनमाया सुनुवार अहिले उमेरको हिसाबले ७४ बर्ष पुगिन । उनको श्रीमान इन्द्रबहादुर राई सुनुवार पनि अहिले ७४ बर्षकै छन ।

उनिहरुको दम्पतीबाट दुई छोरा र दुई छोरी जन्मिए । जेठो छोरो सामान्य रोगका कारण केही बर्ष अघि गुमाएका सुनुवार दम्पती दुई छोरी र एक छोराको बिहे पछि भने एक्लै छन । कान्छो छोराले आफ्नै भदैनी नाता पर्ने बिबाह गरेपनी आफुहरु छोरा-बुहारीसंग नबसेको मनमाया सुनाउछिन ।

फिक्कल गाउँपालिका – २ न्युरेखोला नजिकै मध्यपहाडी लोकमार्गको सडकछेउमा सामान्य घर बनाएर मनमाया र इन्द्रबहादुरको छोरा-बुहारी र नातीनातिना सामान्य खेती किसानी गरेर जिबिकोपार्जन गर्छन ।

लोकमार्गको दायापट्टि न्युरेखोला र नवलपुरको बिच क्षेत्रमा ठूलो क्षेत्रफलमा सुख्खा जंगलक्षेत्र पर्छ । सोही जंगल क्षेत्र भित्र मनमाया र ईन्द्रबहादुरको केहि रोपनी बारि संगै खरले छाएको बुइकल सहितको एक घर, खसीबाख्रा र सुंगुर पाल्ने स-साना दुई छाप्रो छन ।

एक सुंगुर, १/२ वटा खसी र बोका पालेर बुढेसकालको जीवन गुजारिरहेका सुनुवार दम्पतीलाई गएको बुधबार दिउँसो जिबनकै ठूलो बिपत्ति आइपर्यो । नजिकैको जंगलमा लागेको डढेलो घरको छेवैमा आइपुग्दा घर वर-पर कोहि छरछिमेक नहुदा मनमायाले हारगुहार गर्ने समेत कोहि भेटिनन । घर नजिकै आइपुगेको डढेलो र डढेलो संगै चलेको हावाहुरीका कारण आगोले खरको छानो भेट्टायो ।

भाडाकुडा, लत्ताकपडा, सिरक-डस्ना घरबाहिर फाल्दा फाल्दै सुंगुर र बाख्रा बेचेको ३३ हजार रुपैयाँ राखेको सन्दुक मनमायाले खोल्नै भ्याइनन । त्यो सन्दुक सङ्गै तीन बोरा धान, पाँच बोरा मकै सहित सबै कुरा मनमायाको आखै अघि जलेर खरानी भयो ।

डढेलो संगै छिनभरमै मनमायाको खुशी जलेर खरानी भयो ।घर जल्दै गर्दा तल बारिमा रहेका मनमायाका श्रीमान इन्द्रबहादुर हस्र्याङ्फस्याङ गर्दै जल्दै गरेको घर आए । तर, कसैगरी उनिहरुले आफ्नो बुढासकालको ओत लाग्ने घर जोगाउन सकेनन । घर वरिपरि फैलिदै गएको डढेलोले आफुलाइ पनि सक्छ भन्ने लागेर सुनुवार दम्पती जोगिएका केही सामान बोकेर बेशी झरे ।

जलेको घर फर्किदै, हेर्दै आखाभरी आशु पारेर बेशी झरेका सुनुवार दम्पतीलाई अब कता जाने आफैलाइ थाहा थिएन । नजिकै भएको छोरा बुहारी घर जलेर खरानी हुँदा समेत हेर्न आएनन । मनमाया भन्छिन, ‘आफ्नो बाउ-आमा बस्ने घर जलेर खरानी भयो, खाने अन्न, लाउने लत्ताकपडा सबै जलेर खरानी भयो त्यती हुँदा समेत एकपटक छोरा बुहारीले घर हिंड्नु बा-आमा भन्न आएनन ।’ त्यसपछी सुनुवार दम्पती नजिकैको एउटा छिमेकीको फारममा गएर बसे ।

बिपत्तिको बोझमा रहेका बोझबहादुर

गोलन्जोर गाउँपालिका – १ ज्यामिरे डुडभन्ज्याङ्गका बोझबहादुर थापा गाउँमा बसोबास गर्छन तर उनको बेशिमा गाइगोठ छ । उनी दैनिक गाइगोठ खेती पाती गर्न बिहान बेशि झर्छन र बसोबास गर्न दैनिक साझ गाउँ उक्लिन्छन । खेतबारीको उब्जनी सबै उनी गाउँकै घरमा भण्डारण गर्ने गर्दछन । बोझबहादुरको परिवारमा चार सदस्य छन । उनी सामान्य खेती किसानी गरेर आफ्नो जिबिका चलाउछन ।

सधै झै उनी र उनको दम्पती गएको ६ गते गाइगोठ खेतीपातीको लागी बेशी झरेका थिए । साझमा बस्नको लागी घर जाँदै गर्दा उनी बसोबास गर्ने घर खरानी भैसकेको थियो । घर नजिकै जंगलबाट घरमा सल्कीएको आगोले छिनभरमै उनको घर खरानी बनाइदियो । बस्ने घर जलेर खरानी भएपछी उनको दम्पती अहिले त्यही गाइगोठमा बसोबास गर्छन ।

घरमा भएको सबै अन्नपात, लत्ताकपडा, भाडाकुडा सम्पुर्ण सामाग्री जलेर घर पुर्ण रुपमा नष्ट भएको र आफु घरबार बिहिन बनेको थापाले दुखेसो पोखे । आफुलाइ खाने बस्ने ब्यबस्था गरिदिन भन्दै आठ गते वडा-अध्यक्ष मार्फत सिफारिस माग गर्दै जिल्ला प्रशासन कार्यालयमा राहत उपलब्ध गराइदिनु हुन भनेर बोझबहादुरले निबेदन दिए ।

डढेलो निभाउन खोज्दा मृत्युु

सिन्धुलीको फिक्कल गाउँपालिका – २ तिनघरेका बर्ष ८२ का बलबहादुर मगरको केही दिन अघि आगलागीमा परेर निधन भयो ।

बलबहादुर मगरले आफ्नै घर नजिकै बारि वरपर घाँस पलाउछ भनेर आफैले डढेलो लगाएका थिए । सुख्खा क्षेत्र भएकोले डढेलो आफ्नो वारि भन्दा बाहिर जान थाल्यो । बलबहादुरको बारिको साधैमा उनको आफ्नै छोरिको घर र बारी छ । अब डढेलो छोरिको घरबारी तिर जान्छ भन्ने लागेपछि हरियो स्याउला भाचेर बलबहादुर डढेलो निभाउन तिर लागे ।

सोही क्रममा डढेलोको रापमा परेर उनको घटना स्थलमै मृत्यु भयो । ‘जंगलमा लागेको डढेलो बस्ती तथा छोरिको बारिमा छिर्न खोजेपछि निभाउने क्रममा बलबहादुरको मृत्यु भएको हो, ‘फिक्कल गाउँपालिका -२ का वडा-अध्यक्ष शंकरबहादुर भण्डारीले पुष्टि गरे । जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा भने आइसकेको छैन ।

डढेलो पिडितलाई बिपत्त ब्यबस्थापनको सहयोग

फिक्कल गाउँपालिकाको बिभिन्न वडा स्थित जंगल क्षेत्रमा डढेलो नियन्त्रण बाहिर रहेको र डढेलोमा परेर दुई घर जलेर पुर्ण रुपमा नष्ट भएको र एकजनाको मृत्युु भएको जिल्ला बिपत्त ब्यबस्थापन समितीमा जानकारी आएपछी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा शुक्रवार तत्कालका लागी केही रकम राहत स्वरुप सहयोग गर्न डढेलो प्रभाबित क्षेत्र पुग्यो ।

बिपत्त ब्यबस्थापन समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले उक्त राहत स्वरुप सहयोग रकम सम्बन्धीत आगलागी प्रभाबित ब्यक्तीलाई बुझाउनु भएको हो । प्रजीअ नेपालले ७४ बर्षिया मनमायाको दम्पतीलाई तत्काल राहत स्वरुप ३० हजार र गोलन्जोर गाउँपालिका – १ का बोझबहादुर थापालाई २५ हजार नगद प्रदान गर्नुभयो ।

तत्काल राहत पाएसंगै बोझबहादुर आफुलाइ सम्हाल्न नसकेर भक्कानिए । उनले सम्हालिदै भने, ‘आफ्ट्यारो पर्दा तपाइहरु हुनुहुदो रहेछ भन्ने महसुस आज मलाई भयो ।’ उता यतिका बर्षसम्म छोरो बुहारीको घर नटेकेका मनमायाको दम्पती अहिले उनकै छोराबुहारिको घरमा छन ।

राहत स्वरुप ३० हजार पाएपछी खुशी हुँदै मनमायाले सारिको सप्कोमा गाठो पारेर पैसा कम्मरमा बाधिन । बृद्ध आफ्ना बा-आमा गाउँको फारममा बसेको भन्ने सुनेर दुई दिन पछि लिन पुगेका उनका छोराले बा-आमालाइ अब आफै सङ्ग राख्ने कसम खाए । मनमायाको दम्पती र उनका छोरा राहत बुझेर अंकमाल गर्दै घर लागे ।

यता वडा-अध्यक्ष शंकरबहादुर भण्डारीका अनुसार, मृतक बलबहादुर मगरको छोरा केही दिन अघि मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएको छ । हाल उहाँको धुलिखेल आस्पतालमा सघन कक्षमा राखेर उपचार भइरहेको छ ।

अध्यक्ष भण्डारीका अनुसार उहाँलाई आफ्नो बुबा बन-डढेलोमा परेर मृत्यु भएको समेत थाहा छैन । उहाँ ठिक भएपछी मृतकको परिवारलाई राहत तथा क्षतिपुर्तीको लागी प्रक्रिया अघि बढाइने अध्यक्षको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार डढेलो मानिसले जानजान लगाउने गरेको हुनसक्ने बताउनुभयो । ‘नयाँ पालुवा पलाउँछ भनेर जंगलमा मानिसले जानजान आगो लगाउने गरेको देखिन्छ । कतिपय लापर्वाहीका कारण पनि डढेलो लाग्ने गरेको छ ।

उहाँका अनुसार चुरोटको ठुटा र वनभोज जाँदा आगो ननिभाएका कारण पनि डढेलो लाग्ने गरेको छ । यस्ता गलत ब्यक्तीलाई समाउन सकिएर कारबाहिको दायरामा ल्याउन सकियो भने यस्ता गलत कार्यहरु न्यूनीकरण हुँदै जान्छन उहाँको भनाइ छ ।

वनमा आगो लगाए तीन वर्ष कैद, ६० हजार जरिवाना

वन ऐन २०७६ मा वनमा आगो लगाउन नपाइने व्यवस्था छ । ऐनको दफा ४९ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुने कुनै कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । उक्त ऐनको दफा ५० को ४ मा तीन वर्षसम्मको कैद र ६० हजार जरिवानाको व्यवस्था गरिएको छ  । तर, हालसम्म वनमा आगो लगाउने कतिलाई कारबाही गरियो भन्ने तथ्यांक कुनै सम्बन्धित निकाय सँग छैन । 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार ०२:५४

प्रतिक्रिया दिनुहोस्