सिन्धुलीमा बाढिपहिरो: चार घन्टामै चारगाउँका किसानको उठीबास

कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका अधिकांश स्थानीयको घरखेतमा क्षति पुगेको छ । रोपाइँ सुरु हुनै लाग्दा धानका ब्याडहरू नै बगाइदिएपछि किसानहरू चिन्तित छन् । कतिपय घरमा क्षति पुगेपछि उनीहरू विस्थापित बनेका छन् ।

सिन्धुली — गोलन्जोर गाउँपालिका २ कखुरेटारका लालबहादुर माझीले अर्को साताका लागि रोपाइँ तय गरी पर्ममा हलगोरु र रोपाहार भन्न थालेका थिए । ८ रोपनी खेतका लागि सावित्री धानको ब्याड हलहली बढेको थियो । रोपाइँका लागि तीन हल गोरु र खाजासामलका लागि छोराबुहारीलाई खटाउन पनि भ्याएका थिए ।

माछा, चिउरा लगायतका परिकार हली, बाउसे र रोपाहारका लागि तयार हुँदै थियो । तर खण्डवृष्टि भएर बितिजोर क्षेत्रमा मात्र शनिबार मुसलधारे पानी पर्दा नजिकैको खोल्सामा आएको लेदोसहितको बाढीले लालबहादुरको धानको ब्याड हरियो समेत नदेखिने गरी पुरिदियो ।

यति ठूलो पानी तीन दशकपछि परेको ७० वर्षीय लालबहादुर सम्झन्छन् । ‘०५० सालमा आएको बाढी पहिरोले केही बाँकी राखेको थिएन,’ उनले भने, ‘अहिलेको वर्षा त आकाश नै घोप्ट्याए जस्तो गरी परेको थियो । पानी परेको ४ घण्टामै सबै खेत पुरिदियो ।’

लालबहादुरका चार छोराबुहारी र तीन नातीनातिनासहित ८ जनाको परिवार छ । उनकी श्रीमति भने गत वर्ष बितेकी हुन् । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा पाएको धानको बीउबाट ब्याड राखेर रोपाइँ गरी मुरी फलाउने लालबहादुरको आशा खोल्साको बाढीले निरर्थक बनाइदिएको छ । यस्तो विपदमा सरकारले राहतको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

लालबहादुरको मात्र हैन, लेदोसहितको बाढीले वडा नं २ का चारगाउँका ३१ घरमा क्षति पुर्‍याउनुका साथै चौपाया र कखुरा बगाएको छ । वडाध्यक्ष दौलत कार्कीका अनुसार लगातारको वर्षापछि खसेको पहिरो र खोल्साहरुमा लेदोसहित आएको बाढीले ३१ घरमा क्षति पुर्‍याएको हो ।

बितिजोर कुखुरेटारका चित्रबहादुर माझीको पहिरोले गोठ बगाउँदा पाँचवटा सुँगुर र ६० वटा स्थानीय जातका कुखुरा पुरिएर हराएका छन् । दुई परिवार कार्की बाहेक २९ परिवार माझी रहेको ती गाउँमा पर्म चलाएर पालैपालो सबैजसोले रोपाइँको मिति तय गरिसकेका थिए ।

खोर नै बगाउँदा चित्रबहादुरको सबैभन्दा बढी क्षति भएको आकलन गरिएको छ । ‘मेरो त केही रहेन,’ उनले भने, ‘कुखुरा र सुँगुर बिक्री गरेर लाखजति हात पार्ने योजना थियो । चार घण्टामै जम्मै स्वाहा भयो । खेत पनि पुरिदियो । अब के गरेर खाने होला !’

बितिजोरका कखुरेटार, तीनमाने, कटहरे, भालुखोलाका स्थानीय सबैको घरमा क्षति पुगेको र कसको कति क्षति भयो भन्ने विवरण संकलन भए पनि रकममा हिसाब निकाल्न भने कठिन भएको वडाध्यक्ष कार्कीले बताए ।

‘सबैको धानको ब्याड र खेत पुरिदिएको छ,’ उनले भने, ‘यो वर्षाले यहीँका माझी समुदायलाई बज्रपात परेको छ ।’ घरगोठमा लेदो पसेर बस्नै नमिल्ने गरी पुरेको छ भने रोपाइँको लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिदिँदा स्थानीय किसान ठूलो मार्कामा परेको एक पीडित लोकबहादुर कार्कीले दुखेसो पोखे ।

उनको पनि घरखेतमा पहिरोले क्षति गरेको छ । तरकारीको टनेल समेत लेदोसहितको पहिरोले पुरिदिएको छ । पाकेको मकैबाली भित्र्याएर रोपाइँ गर्ने सबैको तयारी थियो, मुसलधारे वर्षाले केही बाँकी राखेन उनले गुनासो गरे । मकै पुरेर र लडाएर सोत्तर भएको छ ।

दुई दशकदेखि संरक्षण हुँदै आएको दोभानडाँडा सामुदायिक वनमा यसै वर्ष सुख्खा मौसममा जंगलमा डढेलो लगाइदिँदा पहिरो र लेदोसहितको बाढीले क्षति पुर्‍याएको वडाध्यक्ष कार्कीको भनाइ छ । क्षति भएको घरगोठ, पशुपंक्षी, बाली, पुरिएको खेतको विवरण संकलन गरी राहतको लागि पहल गरिने उनले जनाए ।

खोल्साहरुमा लेदो बाढी आएकाले मध्यपहाडी राजमार्ग अन्तर्गत करिब ८ सय मिटर सडक पुरेकाले यातायात एकतर्फी संचालनमा आएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार १०:४७

प्रतिक्रिया दिनुहोस्