कविता- नदेखाउनु

कृपया
यो फेसबुकको भाईरल भिडियो
कोहि कसैले पनि
मेरी आमालाई नदेखाउनु !
मैले आमालाई फोनमा ढाँटेको छु
पल्टनमा धेरै सुख छ
दिनहु मासु भात हुन्छ
यो बन्दुक
यो बर्दी
सान छ आमा!

बलेसीको पानीले
पिढिबाट आगनमा झर्दा
यदि चिप्लिए भने
“मेरो बाबा”लाई के भो भन्दै
जुठै हात लिएर हत्तपत्त आउनुहुन्थ्यो आमा
कतै ठेस लागेर लडे भने
म भन्दा पहिला आफू आँसु झार्दै
छातिमा टास्नुहुन्थ्यो आमा
अरुको मेलामा दिएको खाजा
पोल्टामा राखेर
साझपख आफ्नो पोल्टा छाम्न लगाउनु हुन्थ्यो
र मेरो मुस्कान हेर्नुहुन्थ्यो।
आफै चकचक गरेर
हात काटे भने पनि
हत्तपत्त आफ्नै नयाँ पटुकी च्यातेर बाधिदिनुहुन्थ्यो।
आफू घोटिएर
हाड छाला मात्रै भएर
मलाई केही काम नलगाएर
हुर्काएर बढाएर पढाएर
जवान बनाएर
पल्टनमा जागीर खान सक्ने बनाएकी
मेरी आमाले नै हो ।

जागीरमा नाम निस्केको
खबर सुन्नासाथ
छमछम नाच्नुभएथ्यो आमा
गाँउभरी खिर पकाएर बाढ्नु भएथ्यो
छोराले अब धेरै सुख पायो भन्ठान्नुभएथ्यो ।
बिचरी मेरी आमालाई के थाहा?
पल्टनको ब्यथा
चौबिसै घण्टा डिउटीको ब्यथा
कयौ रात भोकै बस्नु पर्ने ब्यथा
झरी बादल भन्न नपाईने ब्यथा
यहाँ गाह्रो भो भनेर कस्ले सुन्छ?
कसले बुझ्छ मन भित्रको बेदना???
जसको रक्षाको लागि खटियो
उनिहरु नै बारुलाको गोलो
खनिए जस्तै खनिन्छन्
र बर्साउछन
ढुङ्गाको टुक्रा मुक्का र लातहरु

म छु भनेर बाँचेकी मेरी आमालाई
कसैले यो भिडियो देखाईदियो भने
कसरी सम्हालिनुहुन्छ मेरी आमा!
दुनिया भरका मान्छेले
आफ्नो प्राण भन्दा प्यारो छोरालाई
ढुटो हुने गरि बङबङ हानेको
कसरी हेर्न सक्नुहुन्छ मेरी आमाले?
मेरी आमाको छाती चिरीन्छ
मेरी आमाको मुटु चुडिन्छ
त्यसैले कृपया
यो फेसबुकको भाईरल भिडियो
कोहि कसैले पनि
मेरी आमालाई नदेखाउनु !

कविन्द्र घिमिरे
ककनी २- नुवाकोट

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार १७:५७

प्रतिक्रिया दिनुहोस्