तिनपाटनले ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम लागु गर्ने

सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिकाले दलित समुदायभित्रका बुहारीहरूलाई नि:शुल्क पढाउने कार्यक्रम सुरु गर्ने भएको छ । उक्त समुदायका महिलाहरूको पनि उच्च शिक्षामा पहुँच होस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।

आइतबार सूचना जारी गर्दै गाउँपालिकाले तीनपाटन गाउँपालिका क्षेत्रभित्रका सरकारी/सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका र
गर्न चाहने बुहारीहरूलाई क्याम्पसमा लाग्ने भर्ना शुल्क गाउँपालिकाले नै बेहोर्ने जानकारी दिएको छ ।

‘बुहारीहरूलाई स्नातक वा सोभन्दा माथिल्लो तह अध्ययनका लागि क्याम्पसमा लाग्ने भर्ना शुल्कलगायत खर्च गाउँपालिकाबाट बेहोर्ने गरी ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ नामक कार्यक्रम सञ्चालनमा ल्याइएको छ’ सूचनामा उल्लेख छ ।

कार्यक्रमबाट लाभ लिनका लागि बुहारी भए सासू वा छोरी भए आमाले आफ्नी बुहारी/छोरीलाई स्नातक/स्नातकोत्तर तहको कुनै पनि वर्ष वा सेमेष्टरमा भर्ना गर्न स्वयंले क्याम्पसमा लैजानुपर्ने व्यवस्था गरिएको छ ।

साथै महिला अभिभावक परिवारमा नभएमा नजिकको परिवारभित्रका अन्य महिला नातेदारले पनि छोरी वा बुहारीलाई क्याम्पस भर्ना गर्न लैजान सक्ने व्यवस्था गरिएको छ ।

लाभ लिनको लागि पुर्‍याउनुपर्ने विधिबारे थप उल्लेख गर्दै सूचनामा भनिएको छ, ‘अभिभावकसमेत नभएमा सम्बन्धित वडाको महिला वडा सदस्यले माथि उल्लेख भएको कार्यक्रमबाट लाभ पाउने छोरी वा बुहारीलाई स्नातक/स्नातोत्तर तह अध्ययनका लागि क्याम्पसमा भर्ना गर्न लैजानुपर्नेछ ।’

त्यस्तै क्याम्पसले पनि माथि उल्लेख भए बमोजिमको प्रकृया पुरा गरी भर्ना हुन आउने दलित समुदायभित्रका छोरी/बुहारीलाई भर्ना गर्ने व्यवस्था मिलाउने र अभिलेख प्रयोजनका लागि भर्ना हुँदाको समयको फोटो अनिवार्य खिच्न गाउँपालिकाले निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आईतवार १२:२६

प्रतिक्रिया दिनुहोस्