वि.संं १८८६ सालको माघे संक्रान्तीको पर्व पारेर काली कमलामाईलाई मुकुट चढाउनको लागि तत्कालिन नेपालका मुख्तियार भिमसेन थापाकी अर्धाङ्गिनी भक्तकुमारी देवी पौष महिनाको अन्तिम तिर सिन्धुलीगढी आइपुगेकी थिइन ।देशकै शक्तिशाली मुख्तियारको पत्नीको सवारी चलाउने र चाकरी पु¥याउने कार्य युवा बीरनरसिंह कुँवर अर्थात जंगवहादुरको जिम्मेवारी थियो । काठमाण्डौबाट हिँडेको ४ वासपछि पाल्की र पिठिउँ गर्दै कजिनीको वास सिन्धुलीगढीसम्म ल्याई पु¥याएका थिए जंगबहादुरले । सिन्धुलीगढीमा उसवेला कप्तान दलजित विष्ट हाकिम थिए जो सँग जंगबहादुरको चिनजान पहिल्यैदेखि थियो ।
दलजित विष्टले विशिष्ट अतिथीहरुको स्वागत सत्कारमा कुनै कसर पनि वाँकी राखेका थिएनन् । एक दिन जती सिन्धुलीगढीमा आराम गरेर पौष महिनाको अन्तिम रात अतिथिहरुको सवारी काली कमलामाई स्थलसम्म ( हाल सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाको वडा नं. ४ कमला नदी र गौमती खोलाको संगम स्थलमा अवस्थित ) भयो जहाँ देवीलाई मुकुट अर्पण गर्ने कार्यक्रम तय भएको थियो । कार्यक्रम मुताविक नै वडो तामझामका साथ कमलामाईको मन्दिरमा मुकुट अर्पण गर्ने साइतमा मन्दिरका पुजारी अकस्मात थरथरी काप्न थाले ।
मुकुट स्विकार्य भएन । कुनै हालतमा पनि माईलाई भक्तकुमारी देवीले ल्याएको मुकुट स्विकार्य नहुने कुरा पुजारीले काम्दै वक्न थाले । एकाएक समय अत्यन्त संगिन वन्यो । कसैमा पनि यस्तो अकल्पनीय घडिमा के गर्ने भन्ने कुराको सुझवुझ पलाउन सकेन । कजिनी मुर्तिवत खडा रहिन् । के कारणले यो मुकुट कालीमाईमा नचढने भयो भन्ने कुरा वक्ने क्रमसँगै पुजारी कहन लागे । काली कमलामाईको स्थापना सेन राजाहरुको पालामा भएको र उस वखतका पाँडेहरुले काली कमलामाई लाई इष्टदेवीको रुपमा पुज्दै आइरहेका रहेछन् ।
भिमसेन थापाले यी दुवैको अमानुषिक हत्या गराएका थिए । भिमसेनले सत्ताको चक्करमा परेर धेरै पाँडेहरुको निर्मम हत्या गराएको सन्दर्भ त इतिहासले पनि भन्छ अनी सेनहरुको प्रसंगमा पनि वि.संं १८६२ तिर रणबहादुरको हत्या हुँदा काठमाण्डौमै बन्दी अवस्थामा रहेका निर्दाेष पाल्पाका राजा पृथ्वीपाल सेन र रणबहादुर सेनलाई पनिअनायासै हत्या गराई दिएका थिए । आज यो मुकुट चढाउने दिन यीनै हत्याको सन्दर्भलाई पुजारीले उठाइदिए र मुकुट देवीस्थलमा चढाउँदा अनिष्ठ हुने कुरा पनि वकितम गरिदिए । यस्तो घडिले सवैलाई किंकर्तब्यविमुढ बनाइदियो ।
आखिरमा मुकुटको स्वस्ती शान्ति गरेर रातको १२ वजेभन्दा पछि मुकुट अर्पण गर्ने योजना वन्यो र सवै हतास मानसिकतामा कमलाको वगरतर्फ मुकुटको स्वस्ती शान्ति गर्न झरे । यसै विचमा एकजना अधिकारी थरका पुजारी वगरमा सामेल गराई स्वस्ती शान्तीको काम सफलतापूर्वक सम्पन्न भई अधिकारी पुजारी कै सहयोगमा त्यो मुकुट पुन कालीकमलामाईमा अर्पण भयो । स्थिती पुन सुखद वन्यो । माघे संक्रान्तीको कार्य सम्पन्न गरी सवारी पुन काठमाण्डौको लागि सिन्धुलीगढी तर्फ वढ्यो ।
त्यो रात सिन्धुलीगढी दरवारमा ( राणाकालमा वनेको दरवार भन्दा पहिले पनि सिन्धुलीगढीमा एउटा दरवार थियो ) भक्तकुमारी देवीले नराम्रो सपना देखिन् । सपनामा सिंदुरमा लतपतिएकी एउटीकेटी आएर “ममाथी अछुतो मुकुट जवरजस्ती अर्पण गर्ने तिम्रो यस्तो अहंकारको भागी तिमी र तिम्रो परिवार अवश्य हुनेछ र यसकालागी म स्त्रीको कारणमा तिमीहरु सँगै रहन्छु र एक एक हेर्नेछु तिमीहरु उपरआइलागेको दशा”। भक्तकुमारीको निद्रा एक्कासी खुल्यो उनी पसिनाले निथ्रुक्कै भएकी थिइन् । “अहो ! कस्तो भयावह सपना” । रातको १२ जती वजेको थियो होला ।
उनको मन एकदम कमजोर, असहाय र आतसपूर्ण बन्यो । ओछ्यानबाट उठेर यसो वाहिर तिर हेरिन । काफल र चुत्रोका रुखहरु मधेशतिरबाट हुर्रिएर आएको हावाको स्पर्सले सरसर्ती हल्लिरहेका थिए । यस्तो लाग्थ्यो उनले देखेको सपना थाहा पाई यीनीहरु थरथरी काँपी रहेछन् जस्तो । भोलीपल्ट विहानै भक्तकुमारी देवीकोकाठमाण्डौ सवारी चलाउन तयारी चल्दै थियो । यसै विचमा भक्तकुमारीले जंगबहादुरलाई सपनाको सवै कुरा वताइन ।
सपनाको कुरा सुनेर जंगबहादुर पनि अवाक् वने । गढी दरवारका तत्कालिन हाकिम दलजित विष्टको सल्लाहमा मुख्यानीको सवारी काठमाण्डौ तिर वढाउनेजिम्मा गढी मै तैनाथ रहेका सिंहदल गुरुङ्गको जिम्मा लगाई जंगबहादुर र भिमल आले ( वितिजोरका भिम आले )लाई कालीमाईमा चढाएको मुकुट फिर्ता लिई आउन अह्राए । जंगबहादुरहरु काली कमलामाईको मन्दीर पुग्दा त्यहाँ त्यो मुकुट थिएन ।
पछि धामीहरुले त्यो मुकुट केही पर दहको किनारामा सिँदुरमा लतपतिएको अवस्थामा रहेको जानकारी दिएपछि वहाँ पुगी लिएर फर्किए । कमलानदीको वहावक्षेत्रमा वनेको त्यो स्थानलाई अध्यावधिक सिन्दुरे दह भनिन्छ । धेरै पछीसम्म पनि मधेसी भक्तजनहरु काली कमलामाईको दर्शन गर्न आउदा त्यो दहमा पसेर आफुसँगै ल्याएको सिन्दुरलाई दहको पानीमा घोलेर रातै वनाउने चलन थियो । काठमाण्डौ पुगेपछि भक्तकुमारीले भिमसेन थापालाई काली कमलामाई मन्दिरमा अस्विकार्य वनेको त्यो मुकुट र भयानक सपनाको बारेमा सवै कुरा भनिन् ।
भिमसेन थापाको मनमा कतै चस्स त विझायो होला तर उनले त्यो भाव तत्कालै भने देखाएनन् । जंगबहादुर र भिम आलेले मुकुट वागदरवारमा ल्याई पुर्याएपछित्यसलाई सम्पूर्ण परिजन र पुजनको ब्यवस्था गरी दरवारको एउटा कोठामा स्थापित गरेर राखियो । करिव दुई वर्षजतिसम्म माइथान र मुकुटको सम्बन्धका सवै घटनाहरु विस्मृतिमा पुगे । भिमसेन थापाले वेलगाम शासन गरे । उनलाई आफ्नो शक्ति अगाडि टिक्न सक्ने कुनै पनि शक्तिआउँछ भन्ने सोच नै थिएन ।
जव वि.सं. १८८८ मा रणबहादुर शाहकी पत्नी ललित त्रिपुरा सुन्दरीको हैजाको कारणले अनायासै मृत्यू भयो तव मात्र उनलाई लाग्यो कि अव उनको राजकीय साहारा विस्तारै विस्तारै धरासयी वन्दैछ । उनलाई २ वर्ष जती अगाडी आफनी धर्मपत्नी भक्तकुमारीले भनेकी थिइन होली की उसवेला देवीले सपनामा दशा निम्त्याउन स्त्रीको कारणमा दरवार मै रहन्छु भनेको । तर सत्ता र शासनको अगाडि यस्ता कुराहरु गौण भएर वस्दछन शक्तिशालीहरुका अगाडि ।
वागदरबारमा (भिमसेन थापाको दरवारमा) काम गर्ने केटीहरु रजश्वला हुँदा घर जान विदा पाउँथे र यस्तो विदामा यी केटीहरुले ‘भिमसेनले राजालाई नाममात्रको राजा वनाई साँच्चैको राजा चै आफै नै वनेका छन ’ भन्ने जस्ता कुराहरु गाउँ वस्तिहरुमा पुर्याई काठमाण्डौका सर्वसाधारणहरुलाई भिमसेन थापादेखि रुष्ट बनाई रहेका थिए । यीनै समयमा माथवरसिंह थापाले आफ्नै भाउजुलाई गर्भवती वनाई दरवारमा छोरो जन्मिएपछि माथवरसिंह दरवारबाट भागी गोरखा पुगी लुकेर वसेका थिए ।
माथवरसिहको यस्तो हरकतले एकातिर भिमसेनलाई लोकाचार जोगाउन अत्यन्त मुस्किल भयो भने अर्काेतिर आफ्ना पाँडे शत्रुहरुलाई रानी सामा्रज्यलक्ष्मीले आफु विरुद्घ उचाली रहेको अवस्थामा आफ्नो पक्षका मात्र नभई परिवार भित्रकै माथवरसिंह थापा जस्तो उच्चपदस्थ प्रशासक गोरखामा लुक्नु परेको थियो । नियतीलाई कसैले टार्न सक्तैन । रानी साम्राज्यलक्ष्मीले रणजंग पाण्डेलाई काजी वनाई राजा राजेन्द्रको हजुरिया समेत वनाइन ।
यसै विचमा रणजंग पाण्डेलाई उनको इष्टदेवीको मुकुट ( पाण्डेहरुको इस्टदेवीको रुपमा कमलामाई रहेको प्रमाण त्यहाँ रहेको गहनाहरुमा कुँदिएको प्रशस्तीहरुबाट जानकारी हुन्छ ) वागदरवारको कुनै कुनामा रहेको जानकारी जंगबहादुरले दिएपछि रणजंगलेभिमलआलेलाई भनेर राजाको आज्ञा छ भनी त्यो मुकुट आफुले हात पारे । रणजंगको हातमा पर्ने वित्तीकै उनले गढीगौडा मर्मत सम्भार गर्न जाने निहुमा त्यो मुकुट साथै लिई सिन्धुलीसम्म आईलाई पुन काली कमलामाईलाई पहिर्याई दिएका थिए । यीनले यो विधीलाई निकै भब्यतासँग सम्पन्न गरे ।
मुकुट पहिर्याउने समारोहमा उनले दरभंगादेखिका कालीका उपासकहरु, सिताव राय जस्ता गन्यमान्य अंग्रेज भारदारका सन्तानहरुलाई समेत बोलाई माघ महिना भरी नै कालीको अनुष्ठान चलाएका थिए । देवीको यो उपसनाबाट रणजंग पाण्डेको मनोवल पनि वढन थालेको थियो ।भिमसेन थापा भने समयको बलवान खेलको फेरोहरुलाई नतमस्तक वन्दै रणजंग पाण्डेको हर्कत हेरिरहेका थिए ।
अन्तिममा विष मुद्घा उल्टयाएर रानी साम्राज्यलक्ष्मी नै भिमसेन थापाको लागि साक्षात रणचण्डी वनिन् । भिमसेन थापा कैद गरिए र आत्महत्या गर्ने प्रयास गरे र वडो सकसपूर्ण आफ्नो जीवनलिलालाई पार गरे । यता करिव १० वर्षजती अगाडि भक्तकुमारी देवीले मध्यरातमा गढीदरवारको विछ््यौनामा देखेको सपना ठिक सावित भयो । भिमसेन थापाको अन्तको लागि महिला नै कारण वनेर आएका थिए । समय आफ्नै रफ्तारमा चल्दै गयो । दिनहरु र वर्षहरु विते । काल त सवैका लागि अनिवार्य छ ।
इतिहासमा थुप्रै थुप्रै विषाद अनुभुती पाएकाहरु अनी उन्मादी अनुभूती पाएकाहरु पनि आउने जाने भइरह्यो । घटनाहरुको माला लम्बिदै गयो । काठमाण्डौमा जंगबहादुर अव एकजना थिए जसलाई त्यो मुकुटको प्रताप राम्रोसँग जानकारी थियो अनी सिन्धुलीगढी दरवारमा ४ जना, गडीदरवार गौडाका हाकिम दलजित विष्ट, भिमल आले, रामु आले र सिहदल गुरुङ्ग । उनी प्रत्येक वर्षको माघे संक्रान्तीका दिन त्यो मुकुटको पुजा गर्न काली कमलामाई आउने गर्दथे । यसका लागि उनले गढी दरवारका आफ्ना हितैसीहरु सँग राम्रो साँठगाँठ वनाएका थिए ।
भिमसेनको अन्त भएपछी काठमाण्डौ दरवारमा हत्या र सर्वस्वहरण हुने घटनाहरु बाक्लिदै गएको थियो । राजनीतिक अस्थिरता र अनिश्चितताको कारण काठमाण्डौको शासकहरुको कोप भाजनमा परेकाहरु र परिसकेकाहरु हरेक महिना जसो सिन्धुलीगढी गौँडा हुँदै भागीजान थालेका थिए । त्यसैले काठमाण्डौ दरवारले राजधानीबाट भागिजानेहरुको हुलियाको बारेमासिन्धुलीगढीमा आदेश हुन्थ्यो । काठमाण्डौमा घटेका घटनाहरु केहीदिन पछि मात्र सिन्धुलीगढी दरवारमा आइपुग्थो ।नेपालको राजनीति अस्तब्यस्थ नै थियो ।
यस्तै अस्तब्यस्तताको समयमा नेपालमा अर्काे अकल्पित घटना घटेको खवर आयो सिन्धुलीगढी प्रशासनमा । मुख्तियार माथवरसिँह थापा मारिए भन्ने र यसमा अर्काे आश्चर्य पनि थपिदै गयो आफ्नै मामाको हत्या गर्नेमा जंगबहादुर नै मुछिएर पनि दरवारमै वस्न पाएका । न सँजाय पाएका न सर्वश्व नै हुनु परेका । यस्तो समाचार सुनेर सिन्धुलीगढी दरवारका उनका मित्रहरु आश्चर्यमा पर्दथे । १९०२ सालको जेठ महिनामा प्रधानमन्त्री माथवरसिंथापा मारिए र सोही सालको माघे संक्रान्तिमा जंगवहादुर आफ्ना भाई धिरशमसेरसँग काली कमलामाई आई भब्य पुजा अनुष्ठान गरे ।
यसै बर्ष उनले भधेसतीरबाट हात्ति चढी आउने भक्तजनहरुको लागि कमला र गौमतीको खोलाको दोभानमा हात्तिसार निर्माण गर्न लगाए । जुन ठाउँ हात्तिसार नामले अध्यावधिक पुकारिन्छ । यसपाली जंगबहादुरको मनोवल अत्यन्त उच्च थियो, उनीसँग कुनै ठुलो सपना भएको जस्तो महसुस गरेका थिए गढी दरवारका उनका मित्रहरुले । जंगले गढीदरवारका आफ्ना हितैसीहरुलाई समेत काठमाण्डौ दरवार मै लगे ।
दरवारमा जंगवहादुरको भाइहरुको आफ्नै शसक्त गुट वनिसकेको थियो । यही गुटको सदस्य वने भिम आले, राम आले र सिंहदल गुरुङ्गहरु । जंगबहादुरको योजनाका खाकाहरु अत्यन्त जोखिमपूर्ण र क्रुर जस्ता हुन्थे । यसै विचमा गगनसिंह भण्डारीको पनि हत्या भयो । नेपालको इतिहासलाई १०४ वर्षसम्म एउटा परिवारको पञ्जाभित्र कैद गर्ने खेलको सुरुवाती हुँदै थियो । गगनसिंहको हत्याले महारानी अत्यन्त क्रुद्घ बनिन । कोतको पटाङ्गिनीमा हत्यारा पत्ता लगाउन बसेको भारदारी कचहरीमा मारकाट मच्चियो ।
कोतमा प्रभावशाली मात्र होइन निर्दाेस भाईभारदारहरुको पनि नृशंस संहार भयो । भिमल आलेले आफ्नै हातको संगीन धसेर अभिमान सिं रानाको अमानुषिक हत्या गरे भने सिंहदल गुरुङ्ग भने कोतको कहालीलाग्दो घटना हेर्न नसकी सुईकुच्चा ठोके । यसपछि भण्डारखालमा अर्काे हत्याकाण्ड चल्यो । हत्या हिंसाको भरमा जंगबहादुर एकपछि अर्काे गर्दै शक्तिमा पुगे र केही समयमा नै देशको बागडोर नै सम्हाल्ने बास्तविक कार्यकारी प्रमुख वन्न पुगे ।
जंगबहादुर शक्तिमा पुग्दा पनि उनका पुराना मित्रहरुसँग भेटघाट र सल्लाह लिने दिने काम चाही कायमै राखेका थिए । यस विचमा सिंहदल गुरुङ्गको निकै खोजी भयो तर उनी भेटिएनन् । कोतको पटाङ्गिनीबाट भागेका उनी सायद मुगलान भासिए भन्ने आसङ्का गरियो । भिमल आले र राम आलेलाई दरवारीया भारदार भन्दा कम मान र सम्मान दिइएको थिइएन । तर कोतको विभत्स हत्या पछाडि भिमल आलेमा पहिलेको जस्तो कुनै खालको उत्साह, जुझारुपन र स्फुर्ती थिएन । उनैको संगिनले कोतको पटाङ्गिनीमा अभिमानसिं रानाको छाती चिरीएको थियो ।
वन्धु हत्या उनको इच्छा थिएन तर जंगबहादुरका भाई रणोद्विपले उनलाई यो कठोर कदम चाल्न वाध्य वनाईदिएका थिए । कोतमा मृत्यूवरण गर्ने अभिमानसिं राना र दलभञ्जन पाण्डेले भिमल आलेलाई सपनामा पनि सताउन छोडेनन् । यीनै मानशिक कारणले उनमा गहिरो नैराश्यता र वैराग्यता झाँगीदै गइरहेको थियो । प्राइमिनिस्टर जंगबहादुरले भिमल आलेमा वढदै गइरहेको मानसिक विक्षिप्ततालाई निकै चासो लिएर उनलाई विभिन्न ढाडसहरु दिदै आइरहेका थिए ।
तर कुनै पनि ढाडसले भिमल आलेलाई पुनरस्फुर्ती प्रदान गर्ने र कोतका घटनाहरु विस्मृतीमा लान सक्ने वनाउन सकेन र यस्तै समयमा एकदिन प्राइमिनिस्टर जंगबहादुरसँग भिमल आलेले सेवाबाट निबृत्त हुने अनुरोध गरे । उनको अनुरोधलाई जंगले सहर्ष स्विकार गरी हाल सिन्धुली जिल्लाको वितिजोर क्षेत्रमा भिमल आलेका सन्तान दरसन्तानहरुले खान्कीको रुपमा भोग चलन गर्न पाउने गरी वितिजोर मौजा र वार्षिक तलवको समेत ब्यवस्था गरिदिए ।
आवश्यक पर्दा जंगवहादुरको सेवामा हाजिर हुन आउने वाचा गरेर भिमल आले सिन्धुली जिल्लाको वितिजोर क्षेत्रमा वसोवास गर्न आइपुगे । वितिजोर आइसकेपछि आलेले वितिजोर खोला किनार नजिकै महादेवको मन्दिर स्थापना गरेर कोतको सम्पूर्ण हत्या हिंसाको अपराध मुक्तिको लागि अनुष्ठान गरे । यो मन्दिर हाल मध्यपाहाडी लोकमार्गमा वितिजोर खोला पुल नजिकै अध्यावधिक छ ।
१९३३ सालको माघे संग्रातीमा भिमल आले मुकुट पुजाको लागि काली कमलामाई आएको वेला एकाएक शिहदल गुरुङ्गसँग भेट भयो । सिंहदलको रुप र मिजास दरवारिया जस्तै देखेर भिमल आले एकैछिन त सन्देहमा परे तर पछि सवै कुरा जानकारी भएपछि भिमल आलेको सन्देह निवारण भयो ।कोतको पटाङ्गिनीबाट भागेका सिंहदल गुरुङ्गलाई कसैगरी खोजी गरी जंगबहादुरका भाई रणोद्विपले आफ्नो अंग रक्षकको रुपमा राखेछन् ।
अहिलेसम्म पनि सिंहदल रणोद्विप कै अंग रक्षकको रुपमा रहेको र आफु प्रत्येक वर्ष काली कमलामाईको दर्शनमा आउन नछोडेको पनि सुनाए । यसवर्षको माघे संक्रान्तीमा श्री ३ महाराज पनि काली कमलामाईको दर्शनमा आउन खोज्नु भएको तर आफ्ना अत्यन्त प्यारा पुत्र ववरजंग परलोक भएका कारण विरक्तिएर सिकारको लागि तराईतिर लाग्नु भएको कुरा पनि सिंहदलले सुनाए । ‘काली कमलामाई देवीको लागि भाकल गरी सकेपछि आउनु पथ्र्याे । वरु शिकारको लागि यतैवाट यात्रा गर्दा पनि के फरक पथ्र्याे रु’हतास जस्तो भएर भिमल आलेले भने ।
केही समयसम्म दुई मित्रहरुले विगतका अपत्यारिला घटनाहरुको पनि सस्मरण गरे । सिंहदल गुरुङ्गले नैराश्य भावमा सानो स्वरमा फुसफुसाए “कोतमा मारिएका दलभञ्जन पाण्डे त कति पटक मेरो सपनामा आएर श्री ३ महाराजका छोराहरुलाई शासनको स्वाद पारख गर्न नदिने कुरा भन्छन् । यस्तो सपनीबाट विउँझिएपछि मलाई ठुलो पिडाबोध हुन्छ । कसलाई भन्नु र रु यस्ता कुराहरु मनमा नै राख्ने गर्दछु ।”गुरुङ्गको कुराहरु सुनेर भिमल आले पनि छक्क परे ।
संजोग नै होला यसै सालको फालगुन २४ मा शिकार गर्न गएको बखत जंगबहादुरको अगाडी एउटा विशाल बाघ एकाएक आएछ । अजङ्गको वाघ देखेर जंगको मुखबाट अनायासै “जयकाली” भन्ने शब्द निस्किएछ । जंगवहादुरले यस पटक त्यो बाघलाई मार्न चाहेनन् । माहुत अचम्म परिरहे । तर बाघले वाटो छोडेन । जंगबहादुर हात्तीबाट तल झर्न खोजे तर हात्तीमा सवार अंगरक्षकहरुले उनलाई त्यो धृष्टता गर्न दिएन । यस्तै अवस्थामा जंगाबहादुर पछाडि रहेका एकाजना शिकारीले त्यो वाघ मारिदियो ।
एकाएकको यो घटनाले जगवहादुर आफ्नो छाती छामेर एकैछिन अचेत रहे । चेत खुल्ने वित्तीकै उनले सवारीलाई क्याम्पमा लैजान भने । क्याम्पमा पुग्दा जंगबहादुर पहेँला, बोल्न उभिन नसक्ने र दाँत कटकटी वजाउने भइसकेका थिए । यस्तैमा भोली पल्ट श्री ३ जंगवहादुरको मृत्यू सर्लाहीको जंगलमा भयो । जंगबहादुरको मृत्यू पश्चात रणोद्विप नेपालको प्रधानमन्त्री र श्री ३ महाराज वने । तर यीनको नृशंस हत्या गराएर धीरसम्सेरका छोरा वीरसम्सेरले राज्य विप्लवको सहारामा जंगबहादुरका मास्न सकिने जति सन्तान मासी राज्य सञ्चालनाधिकार अकंण्टक आफ्ना दाजुभाई र सन्तानमा सारे ।
सिंहदल गुरुङ्गको सपनामा आई दलभञ्जन पाण्डेले बोलेको वोली पनि कालान्तरमा पुरा भयो । जंगबहादुरका छोराहरुले आफ्नो बाबुले आर्जन गरेको शासकीय स्वाद चाख्न पाएनन् । कुनी किन हो वीर समसेरले जती काली कमलामाईको लागि कसैले गरेनन् । यीनकै पालामा सिन्धुलीगढीमा भब्य गढीदरवार वनाई गोश्वार मिलिसियाको अधिकार समेत दिएर काली कमलामाईलाई सलामी दिने चलन चलाएका थिए । बीर समसेरका हजुरीया फौदसिह खत्री क्षेत्रीले काली कमलामाईको मन्दिर स्थापना गरी दुई ठुला घण्टहरु र सिंहास्तम्भ समेत जडेका थिए ।
जुन अध्यावधिक काली कमलामाई मन्दिरमा देखिन्छन् । फौदसिंह पछी यीनका छोरा किर्तीमानसिंह ले काली कमलामाईको नाममा जग्गा गुठी छुट्याई दिएका थिए । कमलामाई मन्दिरमा चौतारा र खानेपानीको ब्यवस्था पनि किर्तीमानसिह कर्णेलको पालामा भएको थियो । काली कमलामाई एउटा पुज्य शक्ति पिठ हो । इतिहासमा शासकहरुले शक्तिको उपासना गर्ने स्थानको रुपमा काली कमलामाई रह्यो । राणाकालमा यो मन्दिर अत्यन्त सम्मानित र आस्थावान रह्यो भने पंचायतकालमा यहाँका धेरै ऐतिहासिक र पुरातात्विक वस्तुहरु चोरी भयो ।
सुखद कुरा के रह्यो भने भिमसेन थापाकी पत्नीले चढाउन ल्याएकी त्यो चाँदीको मुकुट कुनै पनि पेशेवर चोरहरुले लाने आँट गरेनन् । त्यो ऐतिहासिक तथा धार्मिक सम्पदा अध्यावधिक काली कमलामाईको सम्पत्तिको रुपमा सिन्धुलीमाढीमा छ । यो अद्भूत शक्तियुक्त मुकुटलाई आस्थावानहरुले सँधै दर्शन गर्न मिल्ने गरी सार्वजनिक स्थलमा राख्ने ब्यवस्था गर्ने कुरामा हालसम्म कसैको चासो र प्राथमिकतामा रहेको छैन ।
केही समयसम्म सिन्धुलीगढी स्थित शिद्धबाबा मन्दिरमो सिंहदल गुरुङ्गले आफु कोतको विभत्स दृष्य हेर्न नसकी कोतको पटाङ्गिनीबाट भागी सिन्धुलीगढीमा लुकेर वस्दा विभिन्न भाकल गरी चढाएका थिए । त्यो घण्टमा वि.सं. १९०३ अंकित छ । अहिले त्यो घण्ट शिद्धबाबा मन्दिरबाट गायव भै सकेको छ । यो दुर्भाग्य हो र निन्दनीय छ ।